‘नगरको सूचनालाई वेवास्ता गरे डोजर चलाउने’

0
141

सुरेन्द्र भण्डारी
झापा, व्यावसायिक प्रयोजनका लागि बिर्तामोडमा बहुतले भवन निर्माण प्रक्रिया अघि बढाइएको छ । नगर विकास कोषको आर्थिक सहयोगमा बिर्तामोडस्थित बुधबारे हटियामा एक अर्बभन्दा बढीको लगानीमा वहुतले भवन निर्माण हुन लागेको हो ।
बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको एक विगाह एक कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवन न्यूनतम् सात तले हुने छ । दुई तला अण्डर ग्राउण्ड पार्किङसहित निर्माण गरिने भवन जमिन माथि मात्रै सात तला निर्माण गरिने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए ।

नगर विकास कोषको लगानीमा निर्माण गर्न लागिएको भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न ‘कन्सलट्याण्ट हायर’ गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । भवन निर्माणका लागि नगरपालिकाको १० देखि ३० प्रतिशतसम्म लागत रहने र बाँकी रकम नगर विकास कोषको रहने बताइएको छ । प्रजातन्त्र सेनानी रामबाबु प्रसाईले पिता स्व. देवीप्रसाद प्रसाईंको स्मृतिमा निःशुल्क प्रदान गरेको जमिनमा निर्माण गर्न लागिएको भवनको नाम ‘देवी भवन’ रहने बताइएको छ ।

सो भवन निर्माणका लागि अहिले जमिन खाली गराउने काम भइरहेको बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले जानकारी दिइन् । भवन निर्माणका लागि डीपीआरसँगै तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइने नगरका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । उनले भने– बिर्तामोडको मुटुमा रहेको जमिनको संरक्षण गर्दै बहुउपयोगका लागि भवन निर्माणको काम अघि बढाइने छ । जुन भवन निर्माण सम्पन्न भएसँगै बिर्तामोडलाई व्यवस्थित शहरका रुपमा विकास गरेर लान सहज हुने बताइएको छ । लिफ्ट प्रविधि राखेर निर्माण गरिने भवनमा मोटर साइकलसहित लाइट गाडी समेत पार्किङ गर्न सकिने जनाइएको छ ।

बिर्तामोडमा शहरीकरण बढेसँगै पार्किङको समस्या देखिएको अझ पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माणको काम अघि बढाएपछि बिर्तामोड झन् अस्तव्यस्त हुने भएकाले त्यो समयलाई समेत लक्षित गरेर वुधवारे हटियालाई व्यवस्थित गर्न लागिएको उपप्रमुख संग्रौलाले बताए । वुधवारे हटिया (देवी हाट) मा अहिले ७० देखि ७२ जना व्यवसायी राज्यलाई कर तिरेर व्यवसाय गरिरहेको तर, अधिकांशले व्यवसाय नै दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसलाई समेत यो भवन निर्माण सम्पन्न गरेसंगै व्यवस्थित गर्न सहज हुने अपेक्षा गरिएको छ– उपप्रमुख संग्रौलाले भने ।

देवी हाटलाई व्यवस्थित बनाउनका लागि नगरले थालेको प्रयासलाई वेवास्ता गर्दै व्यवसायीले अटेरी गरिरहेका छन्– उपप्रमुख संग्रौलाले भने– हामीले ३५ दिनेदेखि तीन दिनेसम्मको सूचना जारी गरिसकेका छौं, अब २४ घण्टे माइकिङ गर्न मात्र बाँकी छ, त्यो समयसम्ममा पनि व्यवसाय नहटाए देवी हाटमा डोजर चल्छ । वुधवारे हटियाको निश्चित क्षेत्र बाहेक अधिकांशस्थान डम्पिङ साइडको रुपमा प्रयोग भएको छ– उपप्रमुख संग्रौलाले भने– अब बुधवारे हटिया(देवी हाट) व्यवस्थित बन्छ ।

नगरले प्रक्रिया अघि बढाइसक्यो । देवी हाटलाई व्यवस्थित बनाउन नगरमा रहेका दलले समेत सहमति जनाइसकेको अवस्था छ, यहाँ एक दुई जनाले विरोध गर्दैमा यो भवन बन्दैन कि भन्ने भ्रममा नपरे हुन्छ । बिर्तामोड नगरपालिकाको कार्यपालिकाको निर्णयबाटै भवन निर्माणका लागि सर्वसम्मत निर्णय भएको र यो बजारलाई व्यवस्थित गर्न बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षसहितका पदाधिकारीले समेत सहमति जनाएको बताइएको छ ।

‘मल्टिकम्पलेक्स’ भवन निर्माणका लागि बिर्तामोड नगरपालिकाको अघिल्लो कार्यकालका जनप्रतिनिधिले नै पहल थालेको तर, कोभिड लगायतका विभिन्न समस्याले बजेटको सुनिश्चिता नहुँदा रोकिएको काम अहिले निर्वाचित जनप्रतिनिधिले बजेटको सुनिश्चितता गर्दै काम अघि बढाएको उपप्रमुख संग्रौलाले बताए । सो भवन निर्माण सम्पन्न भएसँगै बिर्तामोडमा देखिएको पार्किङको समस्या, सार्वजनिक शौचालयको समस्या हल हुँदै व्यवस्थित वजार तयार हुने अपक्षा गरिएको छ ।
बिर्तामोड–५मा रहेको देवी हाटमा २०७२ सालमा नगरले ७२ वटा सटर बनाएर भाडा उठाई रहेको छ । सटरदेखि बाहिर आफंै कटेरो बनाएर व्यवसाय गर्दै आएका १३८ वटा पसलहरू रहेका छ ।

यता व्यवसायीहरू नयाँ भवन बन्नुपर्ने पक्षमा रहेपनि नगरपालिकाले आफूहरुलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको माग छ । नगरले भवन निर्माणको प्रक्रिया अघि बढाएसँगै व्यवसायीको पक्षमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु भण्डारी, समाजवादीका श्रीप्रसाद सिटौला, संघीय लिम्बुवानका मित्र लिङ्देन उभिएका छन् ।

उनीहरुले व्यवसायीलाई विस्थापित गर्न नहुने आवाज उठाइरहेका छन् । जसका कारण देवी हाटका व्यवसायीलाई हटाउन नगरपालिकालाई सहज नभएको बताइएको छ । जसका लागि बिर्तामोडमा सर्वपक्षीय भेला समेत सम्पन्न भएको छ । सर्वपक्षीय भेलामा देवी हाट लगाउन शुरु गर्नेमध्येका हर्कलाल गिरी र कपिलमनि शिवाकोटी लगायतले देवी हाट र त्यसको विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here