सामुदायिक विद्यालय होस् त यस्तो !

0
124

विनोद सापकोटा,

पढाईको गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीहरु भर्ना गर्न अभिभावक रुचाउँदैनन् । यसैका कारण सरकारको लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीकोज्ञ वर्षेनि अभाव हुने गर्छ । तर, झापाको शिवसताक्षी नगरपालिका–८ को झिलझिले माध्यमिक विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुन थालेपछि यतिबेला अभिभावकको पहिलो रोजाइमा पर्न थालेको छ ।

निजी विद्यालयमा अध्ययन गरिरहेका धेरै विद्यार्थी यतिबेला सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । विद्यालय प्रशासनका अनुसार चालू शैक्षिक सत्रमा ६४ जना विद्यार्थी निजी विद्यालयबाट भर्ना हुन आए । विद्यार्थीको चाप यतिबेला विद्यालयले थेग्न सकिरहेको छैन । तीन सय ५० मा झरेको विद्यार्थीको संख्या यतिबेला छ सय पुगेको छ । यो संख्या अझै बढ्ने विद्यालयका प्रधानाध्यापक खेम निरौलाले बताए ।

विद्यालयमा शिक्षक दरबन्दी संख्या पनि न्यून छ । भौतिक पूर्वाधार पनि अभावै छ । तर, विद्यार्थीको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई विद्यालयले भने सुरक्षित गरिदिएको प्रधानाध्यापक निरौलाले बताए । उनले शिक्षक र पुर्वाधार अभाव छ । निजी स्रोतमा शिक्षक नियुक्ति र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठाको भवन निर्माणाधीन अवस्थामा भएकाले विद्यार्थी भर्ना रोक्न नसकेको बताए ।

झिलझिले माविमा प्राथमिक तहमा आठ आधारभूत तहमा चार र माध्यमिक तहमा चार जनाको दरबन्दी छ । यता निजी स्रोतमा भने स्वयम्सेवक एकजना माध्यमिक तहमा, प्राथमिक तहमा दुईजना र आधारभूत तहमा तीनजना शिक्षक कार्यरत छन् । विद्यालयले सवल नेतृत्व र कुशल प्रशासक पाएपछि निजी विद्यालयका अभिभावकको ध्यान सामुदायिक विद्यालयतर्फ मोडिएको छ ।

उनीहरुले नेतृत्वको भूमिका विद्यालय सुधारका लागि रचनात्मक भएपछि अभिभावक र विद्यार्थीको रोजाइ झिलझिले माध्यमिक विद्यालय हुन थालेको बताए । विद्यालय सुधारका लागि सक्षम नेतृत्व, कुशल प्रशासक र मेहनती विद्यार्थी हुन आवश्यक रहेको अभिभावक रामकृष्ण तिम्सिनाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको तालमेल मिल्दा झिलझिले माध्यमिक विद्यालयले थोरै समयमा काँचुली फेर्न थालेको तिम्सिनाले बताए ।

विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि विद्यालय व्यवस्थापन समितिले महत्वपूर्ण योजना अघि सारेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक सम्मिलित बैठकले विद्यालय सुधारका लागि यसै साता महत्वपूर्ण कार्यक्रमअघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुंगानाले बताए । नेपाली र अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीलाई अब अलग–अलग ब्लगमा राखेर अध्ययन अध्यापन गराईने अध्यक्ष ढुंगानाले बताएका छन् ।

सामुदायिक विद्यालयका लागि सरकारले तोकेको पोशाक, टाई, जुत्ता, मोजामा अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थी विद्यालय जान्छन् भने नेपाली माध्यममा अध्ययन गर्ने विद्यार्थीलाई सर्ट र पेन्ट बाहेकका मोजा, जुत्ता र टाई अनिवार्य विद्यालयले गरेको छैन । अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीले महँगो शुल्क बुझाउन पर्दैन । नर्सरी, एलकेजी र युकेजीका लागि विद्यालयले निःशुल्क अध्यापन गराउने गरेको छ । कक्षा १ देखि ५ सम्म वार्षिक दुई हजार दुई सय अभिभावकले व्यवस्थापन सहयोग बुझाउँछन् । त्यस्तै कक्षा ६ ले छ सय, ७ ले सात सय, ८ ले आठ सय र ९ र १० ले मासिक एक हजार बुझाउने गरेका छन् । यो रकम विद्यालयले निजी स्रोतमा शिक्षक नियुक्ती गरेकाले उनीहरुलाई पारिश्रमिक भुक्तानका लागि संकलन गरिएको अर्की अभिभावक रीना दाहालले बताइन् ।

निजी विद्यालयले त्रैमासिक परीक्षा लिने गरेको छ । अब झिलझिले माध्यमिक विद्यालयले मासिक परीक्षा सञ्चालन गर्नेछ । यो परीक्षाले विद्यार्थीको प्रगति र क्षमताको विकास गर्ने अध्यक्ष ढुंगानाले बताए । प्रत्येक महिनाको अन्तमा विद्यार्थीको मूल्याङ्कनका लागि आन्तरिक परीक्षा सञ्चालन गर्ने र व्यवस्थापन समितिमा विद्यार्थीको प्रगतिको बारेमा वर्ग शिक्षकले ब्रिफिङ गर्ने विद्यालयले नियम बनाएको छ ।

निजी स्रोतमा नियुक्त गरिएका शिक्षकलाई अधिकतम् छ महिना करार नियुक्ती गर्ने र कार्य प्रगतिका आधारमा म्याद थप गर्ने विद्यालयले जानकारी दिएको छ । निजी स्रोतमा कार्यरत शिक्षकलाई दुई सेट पोशाक विद्यालयले उपलब्ध गराउने छ भने हाल खाईपाई आएको तलब सुविधा वृद्धि गरिने पनि विद्यालय व्यवस्थापन समितिको बैठकमा निर्णय भएको छ । विद्यालयका प्रधानाध्यापक निरौलाका अनुसार विद्यार्थीको प्रार्थना लाइनमा वर्ग शिक्षक पनि लाइनमा बस्नुपर्ने नियम विद्यालयले बनाएको छ । विद्यार्थी हाजिरी पुस्तिका लिएर वर्ग शिक्षक विद्यार्थी सँगै लाइनमा उभिने र विद्यार्थी सँगै कक्षा कोठामा सोझै जाने नियम विद्यालयले बनाएको छ । यो नियमले शिक्षक पनि समयमै विद्यालय आउन बल पुग्नेछ ।

शिक्षक अभावमा कक्षा कोठा खाली भए अव विद्यालयले त्यसको पनि व्यवस्थापन गर्ने भएको छ । प्रधानाध्यापक निरौलाका अनुसार विद्यालयले ‘प्रोक्सी रुटिङ’ तयार गरी कक्षा कोठा खाली हुन नदिने भएको छ । कक्षा कोठामा शिक्षक गए नगएको विषयमा पनि विद्यालयले विद्यार्थीलाई जिम्मेवार बनाएको छ । प्रत्येक कक्षा कोठामा ‘लगबुक’ राखिने र यो लगबुक विद्यार्थी स्वयम्ले भर्ने अनि हप्ताको एकपटक प्रधानध्यापकलाई बुझाउने नियम बनेको छ । यसले कुन शिक्षक कहिले कुन कक्षा कोठामा पुग्नु भएन भन्ने थाह हुनेछ ।

शिक्षक विद्यार्थी र अभिभावकका गुनासाहरु पनि अब विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रसाशनले सुनवाई गर्नेछ । शिक्षक विद्यार्थीको व्यवहारका बारेमा कसैलाई गुनासो भए सुझाव पेटीका मार्फत राख्न सकिने विद्यालय प्रसाशनले जनाएको छ । विद्यालयले प्रत्येक महिना शिक्षक, विद्यालय व्यवस्थापन समिति र पिटिएको बैठक आयोजना गर्ने र मासिक कार्य प्रगतिका बारेमा छलफल गर्ने अध्यक्ष ढुंगानाले बताए । यसबाट विद्यार्थीले कति प्रगती ग¥यो भन्ने जानकारी प्रशासनले लिन सक्ने छ । विद्यालय समयभित्र विशेष काम बाहेक विद्यार्थी र शिक्षक हाता बाहिर निस्कनु परेमा प्रधानाध्यापकको स्वीकृती लिनुपर्ने विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here