महिला जनप्रतिनिधि आफ्नो जिम्मेवारीप्रति सचेत हुँदै

0
176

वालिङ,

स्याङ्जाको वालिङ–१ की दलित महिला सदस्य सीता विक निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीका बारेमा अलपत्र हुनुहुन्थ्यो । विसं २०७४ मा स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका रुपमा वडामा विजयी हुनुभए पनि उहाँलाई आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन ।

जनप्रतिनिधि भएर नेतृत्व लिइसकेपछि वडाका नागरिकका काम गर्नका लागि पर्याप्त जानकारी नहुँदा अन्योलता थियो । विक निर्वाचित भएर आईसकेपछि निर्वाचित महिला जनप्रतिनिधिको भूमिका, जिम्मेवारी तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी हुनुभयो ।

“जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका बारेमा पूर्ण ज्ञान थिएन”, उहाँले भन्नुभयो, “जब महिला जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसम्बन्धी प्रशिक्षणमा सहभागी भई ज्ञान पाएपछि निकै सहज भएको छ ।”

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पुनःविजयी हुनुभएकी विकमा अहिले आत्मबल बढेको छ । “कुन विषय कहाँ उठाउने, कसरी उठाउने, योजना कसरी माग गर्ने, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, फरफारक गर्ने प्रक्रियाका बारेमा जानकारी छ”, विकले भन्नुभयो ।

जनप्रतिनिधिलाई आफ्नो भूमिका र जिम्मेवारीका बारेमा ज्ञान दिने र सचेत गराउने उद्देश्यले ‘मेण्टरिङ’ प्रशिक्षण दिन थालिएको छ । महिला जनप्रतिनिधिलाई सक्षम बनाउने तथा उनीहरुको काम कर्तब्य र अधिकारकाबारेमा सुसूचित गराउने उद्देश्यले क्षमता विकास कार्यक्रमअन्तर्गत वालिङ नगरपालिकाको सहकार्यमा प्रशिक्षण सञ्चालन गरेपछि अहिले यहाँका महिला जनप्रतिनिधि सचेत हुँदै गएका छन् ।

द एशिया फाउण्डेशन, अष्ट्रेलियन राजदूतावासको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा दलित महिला केन्द्र नेपालमार्फत यहाँका महिला जनप्रतिनिधिलाई ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिइएको दलित महिला केन्द्र नेपालकी स्याङ्जा संयोजक राधा नेपालीले बताउनुभयो । “महिला जनप्रतिनिधिलाई उहाँहरुको जिम्मेवारी, भूमिका, काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँछौँ”, उहाँले भन्नुभयो, “काम गर्ने सिलसिलामा आइपरेका समस्याका बारेमा नियमित प्रशिक्षणमार्फत आफ्नो जिम्मेवारी र भूमिका स्पष्ट पार्छौँ । जसले गर्दा कार्यसम्पादनमा सहजता हुँदै आएको छ ।”

दुई वर्षमा तीन जना दलित महिला सदस्यलाई मेण्टरिङसम्बन्धी प्रशिक्षण दिइएको थियो । यसपटक १४ वडाका २८ जना महिला जनप्रतिनिधिलाई सामूहिक प्रशिक्षण दिइएको द एशिया फाउण्डेशनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले बताउनुभयो ।

“महिला जनप्रतिनिधिलाई आफ्नो भूमिका र जिम्मेवारी बोध नहुन सक्छ वा आफ्ना कुरा सहजै राख्न सक्नुहुन्न । उहाँहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँदै प्रभावकारी उपस्थितिका लागि ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिइँदै आएका छौँ”, उहाँले भन्नुभयो । फाउण्डेशनका संयोजक परियारका अनुसार सामूहिक वा व्यक्तिगतरुपमा पनि मेण्टरिङसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ ।

महिला जनप्रतिनिधि उपस्थितिका लागि मात्रै नभई आफ्ना कुरा निर्धक्क राख्नसक्ने बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने ‘मेण्टरिङ’ गर्दै आउनुभएका वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले दाबी गर्नुभयो ।

“सभा, समारोह तथा कुनै पनि विषयका बारेमा आफ्ना विचार र तर्क राख्नका लागि पहिला आफुले त्यसका बारेमा जान्नु बुझ्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “विशेषगरी महिला जनप्रतिनिधि आफ्नो भूमिका र जिम्मेवारीका बारेमा जानकार भएदेखि आवाजविहीनका आवाज मुखरित हुनसक्ने भएकाले प्रशिक्षण प्रभावकारी देखिएको छ ।”

महिला जनप्रतिनिधिको भूमिका, जिम्मेवारी, काम, कर्तव्य र अधिकार, कानुनी प्रावधान, कानुनी अधिकारको प्रयोग, गरिबीको रेखामुनि रहेकाको उत्थान, नीति निर्माण प्रक्रियामा महिला सहभागिता, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, मूल्याङ्कन, फछ्र्यौटका विधि र प्रक्रियाका बारेमा मेण्टरिङमा प्रशिक्षण दिने गरिएको निवर्तमान नगर प्रमुख खाँणको भनाइ थियो ।

महिला, बालबालिका, अपाङ्गता भएका, दलित, गरिबीको रेखामुनि रहेका नागरिकको हकअधिकारका बारेमा वकालत तथा पैरवी गर्नसक्ने, सभामा आफ्ना प्रस्तुति प्रभावकारी ढङ्गले राख्नसक्ने तथा नेतृत्व विकासमा समेत टेवा पुग्ने भएकाले मेण्टरिङ प्रशिक्षण प्रभावकारी भएको महिला जनप्रतिनिधिको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here