नैतिक शिक्षाको खाँचो

१४ जेष्ठ २०८०, आईतवार मा प्रकाशित

झापा जिल्लामा दश महिनाको अवधिमा भएको हत्याका घटनामा आफन्तहरु नै जिम्मेवार रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष ०७९–०८० को बैशाखसम्ममा सबैभन्दा नजिकको आफन्त अर्थात् श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । यस्ता चार वटा घटना भएको र एक जना श्रीमतीले श्रीमानको हत्या गरेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । हत्याको अनुसन्धान गरेको प्रहरीले ती घटनामा पैसा, एकअर्का माथि अविश्वास, यौन सम्बन्ध भित्री कारण रहेको जनाएको छ । यस्ता घटना प्रत्येक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाएको छ, त्यसैले प्रहरीले हत्या घटनाको अनुसन्धानको सुई परिवार केन्द्रित गर्न थालेको छ ।

प्रहरी प्रधान कार्यालयले पनि नेपालमा हत्याका घटनामध्ये करिब एक तिहाइ आफन्तबाटै हुने गरेको जनाएको छ । यस्ता घटनाहरु अनैतिक सम्बन्ध, आर्थिक लेनदेन, धरायसी विवाद आदि कारण देखिएका छन् । आधुनिक सेवा, सुविधा र त्यसको उपयोग गर्ने लालसाले मानिस एकाकी बन्दै गएको छ । त्यसमाथि एकल परिवारका कारण अभिभावकीय निगरानी नहुँदा सामाजिक अनुशासन, मर्यादा र नैतिकता हराउँदै गएको छ । सामाजिक सञ्जालको पहुँच र बढ्दो प्रयोगले अनेक विकृति र विसंगतिहरु थपिने क्रममा छन् । हाम्रो परम्परागत संयुक्त परिवारको ढाँचा अब पुस्तकहरुमा मात्र सीमित हुन थालेको सन्दर्भले पनि बालबालिकादेखि तिनका अभिभावकहरुमा नैतिकता ह्रासोन्मुख अवस्थामा छ ।

आर्थिक अभाव र उच्च महत्वकांक्षाका कारण मानिसहरु क्रुर हुँदै जान थालेका छन् । मानिसमा सामान्य आवेगलाई नियन्त्रण र व्यवस्थापन गर्ने सामथ्र्य हराएको छ । स–सानो कुरामा झर्किने, रिसाउने उत्तेजित हुने अवस्थाले विवाद उत्पन्न हुन गई मार्ने–मराउने अवस्था आउनुका पछिको कारण खोजी गर्न अब जिम्मेवार पक्ष गम्भीर बन्नु पर्छ । त्यसका लागि समाजलाई सचेत गराउन जरुरी छ । त्यो सचेतना नैतिक शिक्षाको माध्यमबाट विद्यालयले पाठ्यपुस्तककै आधारमा प्रवाह गर्नुपर्छ । त्यसले रिस र आवेगलाई व्यवस्थित गर्दै संयमीत हुन बल पु¥याउँछ । यदि त्यसो गर्न सकिएन भने मानिसमा बढ्दै गएको क्रुरता अझै भयानक हुनसक्छ, जसले मानिसलाई हिंस्रक जीव सरह बनाउने छ । त्यसकारण पनि जनचेतनासँगै नैतिक शिक्षाको माध्यमबाट नेपाली समाजको सामाजिक सद्भाव, एकता, बन्धुत्वको भाव, हार्दिकता जगाइराख्न जरुरी छ । वैदेशिक रोजगारीले समेत बढाउन थालेको विकृतिहरु अन्त्य गर्न राज्यले गम्भीर हुनैपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here