कहिले खुल्छ चिवाभन्ज्याङ नाका ?

0
114

चिवाभन्ज्याङ, पाँचथर । भारतको सिक्किमसँग सिमाना जोडिएको पाँचथरको चिवाभन्ज्याङ नाकासम्मै मोटरबाटो पुग्दा सिक्किमको उत्तरी छेउसम्म मात्रै मोटरबाटो आएको थियो । गत वर्षदेखि भारतले पनि सिमानासम्मै सडक पुर्‍यायो । सडक पूर्वाधार बने पनि चिवाभन्ज्याङ नाका नखुल्दा आवतजावत हुन सकेको छैन ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र खालिङ प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा यो विषयले प्राथमिकता पाओस् भन्ने अपेक्षामा छन् । ‘स्थानीय तहबाट सीमानाकाको विषयमा केही पनि गर्न नसकिने रहेछ,’ राईले भने, ‘केन्द्रलाई अनुरोधपत्र त पठाएका छौं, तैपनि प्रधानमन्त्रीले सुन्ने गरी खबर पुगिदिए हुन्थ्यो ।’ भारतको सिक्किमसँग नेपालका ताप्लेजुङ, पाँचथरवासीको रोटीबेटीको सम्बन्ध छ । वारि र पारि बिहेबारी भएका धेरै छन् । तर नाका नखुलेकै कारण समस्या पनि उत्तिकै झेलिरहेका छन् । प्रहरीको पास बोकेर घर र माइती आवतजावत गर्नुपर्ने बाध्यता छ । स्थानीयले यो नाका भएर नेपाल–भारत आउजाउ र मालसामान ओसारपसार गर्न सहज हुनुपर्ने माग गरिरहेका छन् । राणाकालअघिदेखि नै वारिपारि सम्बन्ध र आउजाउ भइरहेको यहाँ कानुनी रूपमै नाका सञ्चालन गरिनुपर्ने स्थानीयको माग छ ।

मानवीय बस्ती घना रहेको च्याङथापु बजारबाट १८ किलोमिटर दूरीमा रहेको भन्ज्याङमा सशस्त्र सीमा प्रहरी बल स्थापना भइसकेको छ । ३ हजार १ सय ३९ मिटर उचाइमा रहेको सिमानाको वारि सशस्त्र प्रहरी र पारि भारतीय सीमा सुरक्षा बलको क्याम्प छ । ठूला सवारी चल्ने क्षमताका सडक ट्र्याक दुवैतिर खुलेको छ । नेपालतर्फको सडक कालोपत्रका लागि टेन्डरसमेत भइसकेको छ । खासगरी पूर्वका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटादेखि संखुवासभासम्मका लागि नाका सञ्चालनमा नआउँदा समस्या भएको यङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया बताउँछन् । ‘नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष योङयाले भने, ‘यहाँको दैनिकी र पर्यटकीय विकासका लागि गतिलो आधार बन्ने भएकाले नाका खोल्नका लागि सरकारीस्तरबाट पहल गर्न माग गरेका छौं ।’ सिक्किमवासीसँग सदियौंदेखिको सम्बन्ध रहेकाले पनि यो नाकाको छुट्टै महत्त्व रहेको अध्यक्ष योङया बताउँछन् । सडक सञ्जालले दुई देश जोडिएपछि चिवा भन्ज्याङमै होटल सुरु गरेका हिमाल राई अहिले विकल्प खोजिरहेका छन् । उनले भने, ‘भारतबाट जनवरीमा धेरै नै पर्यटक आए, नेपालबाट पनि वैशाख १ मा ५० भन्दा बढी गाडी लिएर मान्छे आए तर अरू बेला सुनसान छ ।’

नाका खुले राडी, गलैंचा, ऊन, घिउ, छुर्पीलगायत वस्तु भारत निर्यात गर्न सकिने र भारतबाट पनि आवश्यक वस्तु ल्याउन पाइने हिमाल बताउँछन् । आर्थिक, सामाजिक, पर्यटकीयलगायत गतिविधिमा सिक्किमका लागि पनि छोटो र सहज मानिएको नाकाले पर्यटकीय गतिविधिमा दुवैतर्फका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने बुझाइ स्थानीयको छ । सीमाबाट सिक्किमको राजधानी ग्यान्टोक पुग्न १ सय ७० किलोमिटर मात्रै छ । यो नेपालबाट ग्यान्टोक पुग्ने सबैभन्दा छोटो दूरी हो । चिवाभन्याङदेखि उत्तरे बजार २५ किलोमिटरको दूरीमा छ । चिवाभन्ज्याङबाट ताप्लेजुङ र पाँचथर ८० किलोमिटरको दूरीमा पर्छ । तमोर करिडोरले तेह्रथुम र धनकुटालाई जोडेको छ भने यो नाकाको उपभोग संखुवासभा, भोजपुरका लागि पनि सहज छ । नाका खोल्ने विषयमा सरकार गम्भीर हुनुपर्ने मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बूको माग छ । भारतबाट पाथीभरा आउने र सिक्किम जानेलाई सहज हुनुपर्ने माग व्यवसायीको छ ।

पहाडलाई चीन–भारत दुवै नाका उस्तै

नेपालका ताप्लेजुङ र दार्चुला भारत र चीन दुवै देशसँग सिमाना जोडिएका जिल्ला हुन् । तर पनि यी जिल्लाले यसको यथेष्ट लाभ लिन पाएका भने छैनन् । कोरोना महामारीसँगै चार वर्षअघि बन्द टिप्ताला नाका पनि अहिलेसम्म नखुल्दा गलैंचा बिक्री, खाद्यान्न आयातनिर्यातमा समस्या भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ बताउँछन् ।ओलाङचुङगोलामा चार वर्षदेखि बुनेका गलैंचा बिक्री नभएको उनले बताए । ‘तिब्बत प्रशासनलाई जुम मिटिङ पनि भन्यौं, नेपाल सरकारलाई पनि अनुरोध गर्‍यौं, नाका खुल्दैन, के गर्ने ?,’ छेतेनले भने । व्यापारका लागि एक महिने शिविर मात्रै चलाइदिए पनि हुने उनी बताउँछन् ।

जैविक विविधताले भरिएको यो क्षेत्रमा प्रशस्तै पर्यटकीय स्थल छन् । लोकमार्ग खुलेसँगै च्याङथापु, फलैचा, थर्पुलगायत क्षेत्रमा ठूला होटल खुल्न थालेका हुन् । चिवाभन्ज्याङ क्षेत्र जैविक विविधताले पनि धनी छ । विभिन्न प्रकारका गुराँस, जडिबुटी, जंगली जनावर लगायत पर्यटकको ध्यान तान्ने स्थान रहेकाले स्थानीयले यहाँको व्यवस्थित पर्यटकीय गतिविधि बढाउन पनि सरोकारवालाको साथ खोजिरहेका छन् । चिवाभन्ज्याङबाट मेजर, डुँड, पहाडेमेघु हुँदै तिम्बुङ पोखरी र कञ्चनजंघासम्मको यात्रा गर्न सकिन्छ । ‘अथाह सम्भावना भएकाले पनि यो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन आवश्यक छ,’ केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने ।

किरात लिम्बू जातिसँग जोडिएका भिन्न इतिहास यहाँ पाइन्छ । लेकाली जीवनशैली, चौंरी गोठको अनुभव यहाँको भिन्न आनन्दको पाटो हो । गुराँसे वनले छोपेको तिम्बुङ पोखरी—लामापोखरी–फलोट क्षेत्र यहीं पर्छ । तिम्बुपोखरी जान भने गाडी छाडेर दुई दिन हिँड्न पर्छ । यहाँ जडिबुटी, चौंरीलगायत अन्य पशुका परिकार, तीतेमाछाको स्वाद चाख्न पाइन्छ । चिवाभन्ज्याङबाट पाँचथरकै फालेलुङ र इलामको सन्दकपुर क्षेत्रको भ्रमणका लागि पनि सिक्किमबाट आउनेहरूका लागि नजिक पर्छ । ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here