प्रकृतिलाई माया गरौं

0
75

वातावरण संरक्षणका लागि विश्वभर चेतना जगाउने उद्देश्यले स्वीडेनको राजधानी स्टकहोममा बाह्र दिनसम्म सञ्चालन भएको सम्मेलनको सार थियो– विश्व वातावरण दिवस । सन् १९७२ मा भएको उक्त विश्व सम्मेलनको उद्घोष अनुरुप १९७३ देखि प्रत्येक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रुपमा मनाउन थालिएको हो । प्रकृतिलाई सुरक्षित राख्न सकिएन भने जैविक विविधता नष्ट हुन्छ र त्यसले सम्पूर्ण प्राणी र वनस्पतिको अस्तित्व संकटमा पर्छ । प्रकृति पृथ्वी हो जहाँ करिब अस्सी लाख बोटबिरुवा र पशु प्रजातिको उपस्थिति छ । त्यसैले पृथ्वीलाई यी सबैको साझा घर भनिएको हो । यस्तो महत्वको साझा घर बढ्दो जनसंख्या, मानवीय गतिवधि र प्रकृतिमाथिको ज्यादतीका कारणले नष्ट भइरहेको छ ।

बढ्दो जनसंख्या, वनमाथिको अतिक्रमण, वन्यजन्तुको आवासमाथि आक्रमण, तीब्र कृषि कार्य र जलवायु परिवर्तनले पृथ्वीको स्वरुप बिग्रिएको छ । त्यसमाथि मानवीय कार्य र प्रकृतिमाथिको ज्यादतीले जैविक विविधता प्रभावित भएको छ । यसले मानव जातिको समेत अस्तित्व संकटमा पर्ने भएकाले प्रकृतिलाई सुरक्षित गर्न आवश्यक छ । त्यसका लागि आममानिसमा जागरुकता बढाउन, वातावरणीय मुद्दाहरुको सम्बोधन गर्न, स्वस्थ र सुरक्षित वातावरण निर्माण गर्न प्रोत्साहन गर्ने उद्देश्यले मनाउन थालिएको यो दिवसको सान्दर्भिकता र आवश्यकता प्रत्येक वर्ष बढेर गएको छ । जुन महिनाको ५ तारिखमा मनाइने यो दिवसको महत्व झनै बढेर जानुका पछि मानवीय गतिविधि मुख्य जिम्मेवार छ । किनकि प्लास्टिकजन्य प्रदूषणले विश्वलाई आक्रान्त बनाएको छ ।

हरेक वर्ष चार सय बिलियन टन प्लास्टिक उत्पादन हुन्छ त्यसको आधा पुनः प्रयोग गरिँदैन । त्यस्तो प्लास्टिकले माटोमा सुख्खापन ल्याउने भएकाले त्यसको प्रत्यक्ष असर कृषि प्रणाली र मानव स्वास्थ्यमा पर्छ । त्यसैले वातावरण र जनस्वास्थ्यमा प्रतिकूलता ल्याउने विषयलाई न्यूनीकरण गर्दै फोहोरमैलाको व्यवस्थापन आजको चुनौती हो । त्यसले त्यस सम्बन्धी कानूनी निर्माण गरी फोहोर व्यवस्थापन गरी संविधान प्रदत्त वातावरण सम्बन्धी मौलिक हकको प्रत्याभूत गर्न सम्बद्ध निकाय गम्भीर हुनुपर्छ । प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले कडाइका साथ कार्यान्वयन र सुरक्षित गर्नुपर्छ । वातावरण सम्बन्धी सचेतना विस्तारका लागि नयाँ पुस्तालाई दीक्षित गर्नुपर्छ । वातावरणको अभिन्न अङ्गका रुपमा रहेको वनजंगलको संरक्षण गर्न, पानीको स्रोत सुरक्षित राख्न, जैविक विविधताको संरक्षणसहित पारिस्थितिक प्रणाली जोगाउन अभिप्रेरीत गर्नुपर्छ । सम्पूर्ण प्राणी र वनस्पति, जीवन र प्रकृतिबीचको अन्तरसम्बन्ध र सहअस्तित्वको बोध गराउँदै वातावरण संरक्षणमा सजग गराउनुपर्छ । यो वर्षको प्रचण्ड गर्मीले पनि हामीलाई पृथ्वी र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई बलियो बनाउन प्रेरित गरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here