आज भानुजयन्ती

0
99

आज नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती । वि.सं. १८७२ साल असार २९ गते तनहुँको रम्घामा उनको जन्म भएको थियो । सम्पन्न ब्राह्मण परिवारमा जन्मिएका भानुभक्तको लालन–पालन तथा शिक्षा–दीक्षा पनि त्यही अनुकूल नै भएको थियो । भनिन्छ, भानुभक्त आचार्यलाई जीवन्त बनाउन एकजना सामान्य किसानको योगदान रहेको छ । घाँस काटेर जीवन निर्वाह गर्ने घाँसीसँगको जम्काभेटमा भानुभक्त घाँसीको भनाइबाट प्रभावित हुन्छन् । घाँसीले जीवन अमूल्य छ त्यसैले मानिसले ‘यश’ राख्ने काम गर्नुपर्छ भनेपछि उत्पन्न अन्तरद्वन्द्व कविताका रुपमा प्रष्फुटन हुन्छ । त्यही भावना उनको पहिलो र जीवन्त सृजना हो भन्ने गरिन्छ । मरेर गएपछि बाँचिरहने भनेको कीर्ति नै हो भन्ने निष्कर्षमा पुगेका भानुभक्तले सर्वप्रथम संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरे ।

कविता भोगाइ, अनुभूति र यथार्थको अभिव्यक्ति हो । त्यसले एकातिर स्रष्टालाई आनन्दको अनुभूति दिन्छ भन्ने अर्कातिर पाठकहरुलाई पनि रसानन्दसँगै मार्गनिर्देश गर्छ । त्यही कारण उनका भावना, भोगाइ, देखाइ र अनुभूतिहरु कहिले शिक्षा प्रदान गर्ने वधुशिक्षामा, कहिले व्यावहारिक बनाउन प्रेरित गर्ने प्रश्नोत्तर त कहिले आध्यात्मिक शान्ति प्रदान गर्ने रामगीता, भक्तमाला लगायतका कृतिहरुमा मुखरित भएका छन् । वडामहाराजाधिराज पृथ्वीनारायण शाहले भूगोलको विस्तार गर्दै नेपाल बनाए जस्तै रामायणको माध्यमबाट नेपालीलाई भावनात्मक एकताको सूत्रमा गाँसेर नेपाली हुनमा गर्व गर्न भानुभक्तले नै सिकाएका हुन् ।

आज भारतको सिक्किम, दार्जीलिङ, आसाम लगायतका ठाउँमा बस्ने नेपाली भाषी भानुभक्त आचार्यलाई आफ्नै पितृसरह स्मरण तथा सम्मान गर्दछन् । हुन पनि नेपाली जातिलाई भाषाको माध्यमबाट एक सूत्रमा बाँधेर राष्ट्रिय पहिचान, नेपाली संस्कृतिको गायन तथा सुदृढीकरण गर्ने उनको कार्य अभूतपूर्व नै हो । त्यहीकारण नेपाली जातिले आदिकविको सम्मान दिएर उनीप्रति कृतज्ञता जाहेर गरेका छन् । र, जहाँ–जहाँ नेपाली पुगेका छन् त्यहाँ–त्यहाँ नेपालमा भन्दा विशिष्ट ढंगले भानुजयन्ती मनाउने परम्परा रहेको छ । तर, हामीकहाँ भने भानुजयन्ती केवल औपचारिकतामा सीमित बन्दै गएको छ । युवा पुस्ताले त न भानुभक्त चिन्ने प्रयास गरेका छन् न त उनका कृतिहरुलाई । अंग्रेजी भाषालाई मुख्य भाषा ठान्ने पुस्ताले मौलिक पहिचान, संस्कृति, परम्परा र मौलिकतालाई आत्मसात गर्न सकेन भने भोलि स्वयम् अनाथ हुइन्छ भन्ने हेक्का राख्नु पर्दछ । त्यसैले पनि उनका रचनाहरुसँगै भाषिक एकताका प्रतीक भानुभक्त आचार्यको जन्मदिन नेपालीको पर्याय बनिनुपर्छ । अनि मात्र उनको योगदानले सार्थकता पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here