कक्षा ११ मा के पढ्ने ?

२९ असार २०८०, शुक्रबार मा प्रकाशित

आदरणीय अभिभावक !

म तपाइँकै गाउँले, शुभेच्छुक र सामाजिक दायित्व बोकेको मान्छे ! मैले २५ वर्ष शिक्षण पेसामा बिताएको छु । शिक्षा, बालमनोविज्ञान र बालबालिका सम्बन्धी तालिम, कार्याशाला गोष्ठी तथा परामर्श कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छु । त्यस्तै उपर्युक्त विषय सम्बद्ध लेख, रचना पनि प्रकाशित गर्दै आएको छु ।

तपाई–हामी एउटै गाउँका बासिन्दा । एक–अर्काको दुःख–सुख, ऐँचोपैँचो, भारापर्ममा जोडिएका छौं । कहिलेकाहीँ तपाईको घरमा म आएर बसेको पनि हुँला । कहिले तपाईको व्यवहारमा भरथेग पनि गरेँ होला । कहिले तपाईले मलाई गारोसारोमा सघाउनु भो होला । यसरी तपाई–हामीबीच एक किसिमको भावनात्मक सम्बन्ध गाँसिएको छ । यही सम्बन्धलाई आधार बनाएर म तपाईसँग तपाईको नानीको विषयमा केही कुरा गर्दैछु ।

तपाईको नानीले भर्खरै कक्षा १० को परीक्षा (एसईई) उत्तीर्ण गरेको छ । कक्षा ११ मा धमाधम भर्ना खुलिरहेको छ । तपाईकहाँ विभिन्न विद्यालय/कलेजबाट संस्थापक/शिक्षकहरू आउनुभएको होला । विभिन्न विज्ञापनका सामग्री घरभरि होलान् । नानीका साथीहरूले विभिन्न कुरा गरिरहेका होलान् । तपाईको आफ्नो इच्छा एउटा होला । नानीको अर्कै होला । अवश्य पनि यतिखेर तपाई के गरुँ र कसो गरूँको दोधारमा हुनुहुन्छ । नानीलाई जबर्जस्ती आफ्नो कुरा लाद्न पनि सक्नुभएको छैन । उसको कुरा पनि सही हो–होइन, छुट्याउन सकिएको छैन । यस्तो बेला कसैले उचित सल्लाह दिए पनि हुन्थ्यो भन्ने लागीरहेको होला । यही विषयमा म सम्बन्धित विषयको अनुभवी भएकोले हजुरलाई केही सुझाव र परामर्श दिँदैछु :

नानीको क्षमता पहिचान गर्नुहोस्

हरेक व्यक्तिको आफ्नो अलग्गै पहिचान हुन्छ । आफ्नो रुचीको विषयमा व्यक्तिले विशेष क्षमता प्रदर्शन गर्न सक्छ । तर, यतिखेर आफ्नो क्षमता पहिचान गर्नभन्दा अरुको पछि लाग्ने प्रवृत्ति बढेको छ । तपाईको नानीले पनि साथीभाइको लहै–लहैमा लागेर उसको क्षमता नभएको विषय अध्ययन गर्ने सोच बनाएको हुन सक्छ । क्षमता बाहिरको विषय पढ्नेले पढाइमा राम्रो गर्न सक्दैन । सही निर्णय गर्न सकिएन भने पछि पछुताउनुपर्ने हुन सक्छ ।

विद्यालय अवलोकन गर्नुहोस्

आफ्नो नानीको भविष्य निर्माण गर्ने थलो कस्तो छ ? सबैभन्दा पहिले भ्रमण–अवलोकन गर्नुहोस् । भवन कस्तो छ ? कक्षा कोठा मापदण्ड अनुसार छन्/छैनन् ? संस्थापक/प्रिन्सिपलको योग्यता र शैक्षिक विचार कस्तो छ ? विद्यालयको शैक्षिक इतिहास कस्तो छ ? विषय शिक्षक, पठनपाठन प्रक्रिया तथा प्रविधिको प्रयोग कसरी भइरहेको छ ? यी विषयमा सम्बन्धित ठाउँमै गएर यकिन गर्नुहोस् । तुलनात्मकरूपमा खर्च कति लाग्छ ? यो पनि बुझ्नुहोस् ।

टाढा नपठाउनुहोस्

भनिन्छ नि – नजिकको तीर्थ हेला । कस्तूरीले आफ्नो सुगन्ध नचिनेर भौँतारिए जस्तै हामी स्थानीय स्तरको शैक्षिक गुणस्तर नचिनेर यत्रतत्र भौँतारिन्छौं । एक डेढ घन्टा गाडीमा यात्रा गरेर पढ्न पठाउनु भनेको बच्चाको भविष्य निर्माणका नाउँमा उसमाथि अन्याय गर्नु हो ।

हामी आफैं विचार गरौं त, एक डेढ घन्टा सार्वजनिक सवारीमा यात्रा गरेपछि कतिबेला आराम गरौं भन्ने ध्यान हुन्छ । अनि नानीहरूले गाडीमा गएर पढ्दा पढाइमा कति ध्यान देलान् ? वास्तवमा नानीहरूलाई सकेसम्म नजिकैको विद्यालयमा पढाउनु राम्रो हुन्छ । स्थानीय स्तरका विद्यालयमा बेला–बेलामा आफू पुग्न सकिन्छ । शिक्षक/प्रिन्सिपलसँग भेट गर्न सकिन्छ । घरको कुरा राख्न सकिन्छ ।

एक पटक सोच्नुहोस् त !

चिनेजानेको, नजिकको व्यक्तिसँग आफ्नो कुरा खुलेर गर्न सकिन्छ । टाढा जाने फुर्सद नहोला । गएको बेला सम्बन्धित व्यक्ति नभेटिएला । सरसङ्गत, साथीहरू कस्ता छन् केही थाह हुँदैन ।

अन्त्यमा, शिक्षा र स्वास्थ्य जस्ता विषयमा आफूले निर्णय गर्न पाउनु हाम्रो अधिकार हो । तर, अधिकारको प्रयोग गर्दा त्यसको परिणाम के हुन्छ भन्ने विचार गर्नु जरुरी छ । जुनसुकै ठाउँ र विद्यालयमा पनि पढाउने शिक्षकको योग्यता एउटै हो । पठनपाठन शैली एउटै हो । यसैले विचार गर्नुहोस् । नानीको भविष्य निर्माणको लागि सही निर्णय गर्ने बेला आएको छ । उचित लाग्छ भने हामी सदैव परामर्श दिन तत्पर छौं । एउटा गलत निर्णयले भविष्यमा पछुतो नहोस्– मेरो सल्लाह हजुरको लागि ।

(कर्णाली एजुकेशन फाउन्डेशनका शिक्षक हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here