पीसीआर ल्याव प्रादेशिक अस्पताललाई हस्तान्तरण

0
46

झापा ।

झापाको कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।

झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीनवर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’ को पहलमा पीसीआर ल्याव सञ्चालनमा आएको थियो ।

हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याव प्रयोगबिहीन हुन थालेपछि त्यहाँ रहेका बहुमूल्य सामग्री प्रादेशिक अस्पतालाई हस्तान्तरण गरिएको ‘एककालागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । ‘एकका लागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालकाबीच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो ।

हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमूल्य उपकरण अस्पताललाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इञ्चार्ज जीतेन्द्र झासहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामग्रीको विवरण (लिष्ट) सहित अस्पताललाई हस्तान्तण गरिएको हो ।

ल्याव सञ्चालनको आर्थिक व्यवस्थापन कनकाई नगरपालिकाको तर्फबाट भएको थियो । संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निशुल्क नमूना परीक्षण भएको थियो ।

त्यस्तै ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी जम्मा ४८ हजार ८ सय ६६ नमूना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईले जानकारी दिए । कोटीहोमस्थित पीसीआर ल्यावमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमूना परीक्षण भएको भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here