सशस्त्रद्वारा ७०० क्यूवि सखुवा काठ बरामद

0
50

पार्थ मण्डल,
झापा।

सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको छ ।

तस्कर समूहले वन फडानी गरी ट्याक्टरमा लोड गरी साल जातको काठ लगिरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले शुक्रबार मध्यराति १२ बजे अन्दाजी ७०० सय क्युफिट गोलिया काठ बरामद गरेको हो ।

एसपी अर्याल नेतृत्वको टोलीले मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिर नजिकैबाट सो परिमाणको काठ बरामद गरेको हो । ‘कृष्णथुम्की नजिकैबाट गाडीका गाडी साल जातको काठ चोरी तस्करी भइरहेको सूचना पाए लगत्तै मेरै नेतृत्वमा गएराति टोली त्यहाँ पुगेको थियो’– एसपी अर्यालले भने– ‘घटनास्थल पुग्दा एउटा जंगल पूरै फडानी गरी काठ लगिरहेको अवस्थामा फेला प¥यो ।’ तस्कर समूह ट्याक्टरमा लोड गरी लैजाँदै गरेको साल जातको गोलिया काठ सशस्त्र प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर भागेका थिए ।

सशस्त्रले तत्काल सो ट्याक्टरलाई नियन्त्रणमा लिएर तस्कर समूहको खोजी गर्दा थप एउटा ट्याक्टरसहित काठ फेला परेको एसपी अर्यालले बताए । ‘त्यसपछि कृष्णथुम्की मन्दिर आसपास थप खोजतलास गर्दा अन्य जातको २०० क्यूफिट काठ र करिब एक ट्रक साल र अन्य जातको लाथ्रा फेला परेको थियो’– उनले भने ।

सशस्त्र नपुगेको भए तस्कर समूहले सबै काठ लगिसक्थ्यो । ‘अहिलेसम्म यस्तो काठ तस्करी देखेकै थिइनँ’– एसपी अर्यालले भने– ‘कृष्णथुम्की मन्दिर पछाडिबाट काठ काटेको देखिन्छ, तस्कर समूहले साना–ठूला सबै रुख काटिसकेको रहेछ ।’ एकै रातमा त्यहाँ घाटगद्दी गरी राखिएको गोलिया काठ गन्तव्यतर्फ पु¥याउने तस्कर समूहको योजना थियो । ‘उनीहरूको त्यो योजना सफल हुन पाएन’– उनले भने । घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरे पनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।

यता मेची सब डिभिजन वन कार्यालय मेचीनगरका रेन्जर कूलप्रसाद भट्टराईका अनुसार सशस्त्रले बरामद गरेको काठको विषयमा अनुसन्धान भइरहेको छ । व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वनको अनुमति बेगर काट्न पाइँदैन । ‘बरामद गरिएको काठ कृष्णथुम्की मन्दिर पछाडिको जमिनबाट काटेको देखिन्छ’– उनले भने– ‘सो जमिन कसको हो भन्ने बारेमा हामी अनुसन्धानमै छौँ ।’ अनुसन्धान सकिएपछि घटनाको यथार्थ बाहिर ल्याउने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here