ज्ञान र ऊर्जाको प्रतीक जनै पूर्णिमा

0
24

श्रावण शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष वैदिक सनातनी परम्परा अनुसार नयाँ जनै फेर्ने र रक्षा बन्धन बाँधेर मनाउने गरिन्छ । त्यही दिन हो आज र सबै तागाधारीहरुले सम्भव भएसम्म पवित्र नदी, जलाशय वा पोखरीमा गएर स्नानादि कर्म गरी ब्राह्मण पुरोहितका हातबाट रक्षासूत्र बाँध्छन् । रक्षासूत्र ब्राह्मण पुरोहितद्वारा विधिपूर्वक मन्त्रिएको डोरी हो, जसले नकारात्मक तत्वबाट सुरक्षित गर्छ भन्ने धार्मिक विश्वास छ । रक्षासूत्र ब्राह्मणहरुद्वारा जप, तप र पूजा गरी मन्त्रद्वारा संस्कार गरेर आफ्ना यजमानको नाडीमा बाँध्ने परम्परा छ । यही दिन तागाधारी सबै ब्राह्मण, क्षत्री र वैश्य आदि वर्णका पुरुषहरुले विधिपूर्वक नयाँ जनै धारण गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन अरुन्धती, कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य लगायतका ऋषिलाई पूजा एवम् तर्पण दिइन्छ । यसका लागि नदी, ताल, पोखरी वा कुण्डमा गई विधिपूर्वक स्नान गर्नु पर्दछ । स्नानादि कर्म सकेर श्रद्धेय ऋषिहरुलाई जौ, तिल र कुशद्वारा तर्पण दिएर रुद्राभिषेक पद्धतिबाट मन्त्रिएका नयाँ जनै धारण गर्नु पर्दछ । यज्ञोपवीत भनिने जनैलाई ब्रह्मसूत्र पनि भनिन्छ । जनैका दुई शिखामध्ये एक शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै र टुप्पी वैदिक पहिचानको माध्यम पनि हो । टुप्पी हरेक प्राणीका लागि महत्वपूर्ण हुन्छ, किनकि यो सँग ज्ञान, चेतना र सौर्य ऊर्जाको सम्बन्ध हुन्छ । यसले शरीरलाई सौर्य ऊर्जासँग जोड्ने काम गर्छ ।

यही दिनमा धारण गरिने रक्षा बन्धन पनि आफ्नो रक्षाका लागि बाँधिने अभिमन्त्रित डोरो हो । जसले यो डोरो बाँध्छ, ऊ यमराजको दूतको सजायबाट मुक्त हुनसक्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराईमा यो दिन दिदी–बहिनीको हातबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । जसको सम्बन्ध यमराज र यमुना दाजुबहिनीको पवित्र सम्बन्धसँग छ । दिदी–बहिनीले दाजुभाइको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै मीठो परिकार खुवाएर र दाजुभाइले दिदीबहिनीको संरक्षणको जिम्मेवारी लिएर मनाइने यो पर्वले हाम्रा नकारात्मकता हटाउन सकोस् । हाम्रो प्रत्येक पर्वहरुले प्रचलित मूल्य, मान्यता र विश्वासलाई अझ बलियो र निर्झर बनाओस् । विज्ञानद्वारा पनि सुप्रमाणित हाम्रा परम्परागत चाडपर्वहरु अन्तर मनबाटै मनाउने दृढता प्राप्त होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here