कृष्णाष्टमीको सान्दर्भिकता

0
12

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको प्राकट्य दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । भाद्र कृष्णपक्षको अष्टमी तिथिमा मनाइने यो पर्वको महत्व आजको नेपाली समाजका लागि झनै बढेको छ । द्वापर युगको अन्त्यतिर आजकै दिन मध्यरातमा देवकी र वासुदेवका आठौं सन्तानका रुपमा जन्मभएको धार्मिक कथन छ । कंश नामको दूराचारी शासकको अन्त्य गर्न बन्दी अवस्थामै रहेका देवकी र वासुदेवको सन्तानका रुपमा जन्मिएका उनले अत्याचारी शासक कौरवको समूल नष्ट गरी धर्मको रक्षा गरेको मान्यता छ । भनिन्छ उनी पृथ्वीमा रहेको अधर्म र अन्यायको अन्त्य गर्नकै लागि प्रकट भएका थिए । वर्तमानको भारतको मथुरामा जन्मिएका श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतार मानिएको छ ।

भगवान श्रीकृष्णले आजीवन सत्य, न्याय र धर्मको पक्षमा रहेर मानव समुदायलाई त्यसमै रहन र असत्य, अन्याय र अधर्म प्रतिकार गर्न प्रेरित गरे । कौरव र पाण्डव पक्षका बीच भएको युद्धमा जनशक्ति कम भएर पनि पराजीत नहुनु उनकै प्रेरणा प्रमुख थियो । युद्धको मैदानमा स्वजनसँग लड्न अस्वीकार गरेका अर्जुनलाई कर्म गर्न प्रेरित गर्दै परिणामको आशा नगर्न सल्लाह दिए । महाभारतको युद्ध भनिने त्यस युद्धमा श्रीकृष्णले दिएको उपदेश नै श्रीमद्भागवत गीताका रुपमा वैदिक सनातनी परम्परा र धर्ममा प्रतिष्ठित छ । प्रकट भएदेखि अनेक बाललीला गरेका श्रीकृष्णले पुतना, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेको हाम्रा प्रौराणिक ग्रन्थमा उल्लेख छ । जब–जब यो धर्तीमा दुष्ट र पापी बढ्छन् तब–तब तिनीहरुको नष्ट गर्दै सत्य, धर्म र सज्जनहरुको रक्षा गर्न श्रीकृष्ण प्रकट हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजीवन सत्यको पक्षमा रहेर मानव समुदायलाई सत्कर्ममा लाग्न प्रेरणा दिने भगवान श्रीकृष्णको खाँचो यतिबेला हाम्रै देशमा रहेको छ । वैदिक संस्कृति र परम्पराद्वारा अतिपुज्य मानिएको र देशकै संविधानले पनि राष्ट्रिय जनावरका रुपमा स्वीकार गरिएको गोवंशको हत्या गर्नेसम्मको दुष्कर्म हुन थालेको छ । धार्मिक स्वतन्त्रताको नाममा हुन थालेको यस्तो दानवी प्रवृत्तिले वैदिक सनातनी समाज अत्यन्त पीडामा छ । एउटा गोठालाका रुपमा समेत चर्चित श्रीकृष्णको यो धर्ती अवतरणको पावन दिनमा संयमित भएर सत्यको पथमा अविचलित हुन र स्वधर्म मै रहने सद्बुद्धि सबैलाई प्राप्त होस् । हिंसामुक्त सद्भावपूर्ण, समभाव र सत्कर्ममा रहन श्रीकृष्णका उपदेशले सम्पूर्णलाई उत्प्रेरित गरोस् । शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here