शिक्षक सरुवा गर्न उच्च अदालतको परमादेश

0
13

भगीरथ भण्डारी,
इलाम ।

सरुवा भई जाने र सरुवा दिने विद्यालय दुवै व्यवस्थापन समितिको स्वीकृति, सम्बन्धित स्थानीय तहहरुको स्वीकृति र शिक्षा विकास समन्वय इकाईहरूको सहमतिमा शिक्षक सरुवा हुने गर्दछ । तर, इलाममा भने सबै प्रक्रिया पु¥याउँदा समेत सरुवाका लागि अदालत नै पुग्नु परेको छ ।

सबैको सहमतिमा सरुवाको कागजात पूरा गरी पेस गरेर पनि पटक–पटक जानकारी गराउँदा समेत शिक्षा विकास तथा समन्वय इकाईले काम नगरी दिएर अदालतको आदेशसम्म पुग्नु परेको हो । शिक्षकहरूको कार्यसम्पादन बढुवा र सरुवामा आर्थिक चलखेल भईरहेको आरोप आइरहँदा इलाममा भने अदालतले परमादेश दिए पनि सरुवा गर्न बाध्य भएको हो ।

सरुवाका सबै प्रक्रिया पूरा गरेर पनि शिक्षक सरुवा नभएपछि इलाममा उच्च अदालत इलाम इजलासले परमादेश दिएपछि शिक्षकको सरुवा भएको छ । पाँचथरको सिद्ध काली मावि फालेलुङमा कार्यरत शिक्षकले इलामको सन्दकपुर गाउँपालिका–३ स्थित माई पोखरी संस्कृत मावि सरुवा गर्न दुवैतिरको सहमति हुँदा पनि सरुवा नभएपछि अदालतबाट सरुवा भएको हो ।

पाँचथरबाट इलाम आउन दुबै पालिकाबीच सहमति भएपछि शिक्षा विकास तथा समन्वय इकाई पाँचथरको सहमति लिई गत चैत्र २७ गते शिक्षा विकास तथा समन्वय इकाई इलाममा कागजात पेस गरे पनि इलामले निर्णय गरेको थिएन । कागजात पेस गरेको लामो समय सम्म पनि शिक्षा विकास तथा समन्वय इकाईले सरुवाको निर्णय नगरेपछि उच्च अदालत इलाम इजलासले परमादेश दिएको थियो । अदालतको परमादेश आएपछि शिक्षक बन्दना ढकालको सरुवा भएको छ ।

शिक्षक ढकाल गर्भवती भएको कारण घर पायक सरुवाका लागि गत चैत्रमा निवेदन दिएको थिइन् । तर, बच्चा जन्मेको दुई–तीन महिनासम्म पनि शिक्षा विकास समन्वय इकाईले उनको सरुवाको कुनै निर्णय गरेको थिएन ।

लामो समयसम्म आफ्नो निवेदनको सुनुवाई नभएपछि अन्य शिक्षकहरूको सरुवा भइरहँदा मेरो किन सरुवा भएन भनी इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई गुनासो राख्दा कार्यालय प्रमुखले गरेको निर्णय जायज हुन्छ भन्ने जवाफ दिएको शिक्षक ढकालको भनाइ छ ।

उनले बच्चा हुने भएको कारण घर पायकमा सहज हुने भन्दै सरुवाको लागि पहल गर्दा पनि मेरो समस्या कसैले नबुझेपछि अदालतमा जानुपरेको बताइन् ।

इलामको प्रमुख जिल्ला अधिकारीले समस्या समाधानको पहल गर्ने गरेको सामाजिक सञ्जालमा आइरहेपछि आफ्नो पनि समस्या देखाउन जाँदा समन्वय गरिदिनु कता हो कता उल्टै हाकिमको निर्णय जायज हुन्छ भन्दै जवाफ दिएपछि सस्तो प्रचार बाजीका लागि मात्र काम गर्दा रहेछन् भन्दै अन्तिम विकल्प अदालतमा पुग्नु परेको बताइन् ।

कहीँ कतैबाट उपाय नलागे पछि अदालतमा गत १९ गते उच्च अदालत इलाम इजलासमा निवेदन दिएकी थिइन् । निवेदन पश्चात् अदालतले आदेश दिएपछि उनको सरुवा भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here