सडक दुर्घटना न्यूनीकरण गरौं

0
11

पछिल्ला केही हप्तामा सुरुङ्गा–बिर्तामोड सडकखण्डमा भएका अलगअलग सडक दुर्घटनामा चार जनाको निधन भएको छ भने एक दर्जनभन्दा बढी घाइतेहरू विभिन्न अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका छन् । नेपालमा दिनहुँ सडक दुर्घटनाबाट आधा दर्जनभन्दा बढीको निधन हुने गरेको पछिल्लो तथ्याङ्क छ । अन्य क्षतिको मापन गर्न पनि अप्ठेरो छ । मुलतः सडक दुर्घटना अहिले विश्वको ठूलो समस्याको विषय हो । विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको छ । निम्न आय हुने मानिस, युवा र पुरुषहरु बढी प्रभावित हुने गरेको पाइन्छ । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले दुर्घटना बढ्ने गरेको छ । सडकको दुरावस्था र पैदलयात्रीको लापरवाही पनि उत्तिकै जिम्मेवार छन् ।

नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । दुर्घटना न्यूनीकरण सबैको चाहना हो । तर, सबै पक्ष योजनावद्ध तवरमा काम गर्नेभन्दा पनि प्रतिकारात्मक तरिकाले आआफ्नै ढङ्गले काम गर्दा दुर्घटना न्यूनीकरण प्रभावकारी हुन सकेको छैन । फलस्वरुप आज दिन प्रतिदिन दुर्घटना बढिराखेका छन् । नेपालमा सडक दुर्घटना हुनु र छानविन समिति बनाउनु वा विभिन्न राजनीतिक दल, संघ–संगठनले मृतकप्रति श्रद्धाञ्जली र परिवारलाई समवेदना प्रकट गर्नु सामान्य विषय भएको छ । सडक, सवारीसाधन र सवारी चालकको अवस्था नै सडक दुर्घटनाका प्रमुख कारण मानिन्छन् । यसका साथै बाटो काट्ने बटुवा, घरपालुवा वा जङ्गली जनावरहरू र सवारीसाधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ ।

सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । सडक दुर्घटनामा एउटा पक्ष मात्र जिम्मेवार हुँदैन । बहुपक्षीय कारकबाट घटित हुन्छ दुर्घटना र प्रभाव पनि बहुपक्षीय नै हुन्छ । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । यी तीनपक्ष नै सुदृढ अवस्थामा एकताबद्ध रूपमा ठोस रणनीति र कार्ययोजनासहित लाग्न जरुरी छ । यदि सडक, सवारीसाधन र सवारी चालकको अवस्था ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीन वटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ । अन्यथा, जति नै आँसु झारे पनि, परिवारजनमा समवेदना व्यक्त गरे पनि, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन । को सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षित यात्राको ग्यारेन्टीका लागि सबैले सोच्नुपर्छ । सवारी चालक शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ भने सरकारी संयन्त्र पनि अझै बढी जिम्मेवार हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here