पार्टी विरोधी गतिविधि गरेका बिर्तामोडका वडाध्यक्ष अधिकारी निलम्बित

0
12

झापा । नेकपा माओवादी केन्द्र बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष गोपी अधिकारीलाई पार्टीले कारबाही गरेको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै अधिकारीलाई वडाध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

माओवादी केन्द्र बिर्तामोड नगर कमिटीको शनिबार बसेको बैठकले अधिकारीले गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय उल्लङ्घन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, पार्टीको निष्ठा र मर्यादामा आँच आउने काम गरेको, पार्टी कमिटीको गोपनीयता भङ्ग गरेको र पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा गतिविधि गरेको भन्दै पार्टी विधानको धारा ५७ ९१० को ट र ड अनुसार कसुर गरेको ठहर गरी धारा ५७ ९२० अनुसार अनुशासनको कारबाही गरी आजैको मितिदेखि वडा कमिटी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जनाएको छ ।

लामो समय वैचारिक विचलन हुँदै आएका अधिकारीलाई स्थानीय चुनाव र गत वैशाख–जेठमा पार्टीले सञ्चालन गरेको पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान असफल बनाउन लागेको आरोप छ । पार्टीप्रति गैर जिम्मेवार अधिकारीले गत भदौ १७ गते पार्टीमा सदस्य नै नभएका र सदस्य भएकाहरूको मन्जुरी बिना स्थानीय सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशन गराएको माओवादी केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here