सूचनाको पहुँचको प्रत्याभूति होस्

0
16

आज अंग्रेजी सम्वतको सेप्टेम्वर २८ । आजको दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । युनेस्कोको साधारण सभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक हुने ठहर गर्दै आजको दिनलाई सूचनामा पहुँचको दिवसका रुपमा मनाउन थालिएको हो । युनेस्कोको निर्णयलाई स्वीकार गर्दै संयुक्त राष्ट्रसंघीय महासभाको बैठकले पनि सन् २०१९ अक्टोवर १५ का दिन युनेस्कोको निर्णयलाई स्वीकार गरेपछि सेप्टेम्वर २८ लाई सूचनामा विश्वव्यापी पहुँचको दिवसका रुपमा मनाउन थालिएको हो । सूचना प्राप्त गर्ने प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो, तर आज पनि सूचना प्राप्त गर्ने अधिकारबाट कतिपय अवस्थामा वञ्चित हुनुपरेको छ । संविधानमै उल्लेख भएको व्यक्तिको सूचना प्राप्त गर्ने हक किन कुण्ठित भइरहेको छ, खोजी गर्ने बेला भएको छ ।

नेपालमा सूचनाको हक ऐनमा आएको डेढ दशक भइसकेको छ । उक्त ऐनले नागरिकको सार्वजनिक निकायबाट सूचना पाउने अधिकारलाई सुनिश्चित गरेको छ । सार्वजनिक चासोका सूचना र गतिविधिको विवरण मागेको खण्डमा तत्कालदेखि पन्ध्र दिनभित्रमा प्रवाह गर्नुपर्छ भन्ने ऐनले व्यवस्था गरेको छ । यो व्यवस्थाले सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायीपूर्ण, पारदर्शी र जवाफदेहीपूर्ण बनाउँछ । त्यसैले सूचनाको हकलाई प्रजातान्त्रिक मुलुकको आधारभूत मापदण्डका रुपमा लिइन्छ । यसको अभावमा समृद्ध र प्रजातान्त्रिक व्यवस्थाको कल्पना नै गर्न सकिँदैन । प्रजातन्त्रलाई सुदृढ बनाउन त्यसकारण पनि सूचनाको हकको प्रत्याभूति हुनुपर्छ ।

यस वर्षका लागि सूचनामा विश्वव्यापी पहुँचको दिवसको नारा ‘द इम्पोर्टेन्स अफ द अनलाइन स्पेस फर एसेस टु इन्फर्मेसन’ राखिएको छ । जस अनुसार मनाइने यो दिवसमा सूचना प्रवाहका माध्यमहरु आर्टिफिसियल इन्टेलिजेन्स, अनलाइन डिजिटल र त्यसको पहुँचका बारेमा छलफल र बहस गरिँदैछ । सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले समतामूलक समाज निर्माण हुन्छ । त्यसका लागि शिक्षा विकासमा जोड दिनु पर्दछ । अनलाइन तथा खुला शिक्षाको विकास गर्न सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य हुन्छ । त्यसैले त्यतातर्फ सरकारको ध्यान जानु पर्दछ । सूचना र सञ्चार प्रविधिको विकासमा बजेट विनियोजन गर्दै सूचनाको हक र पहुँचलाई प्रभावकारी बनाउनु पर्दछ । सरकारको क्रियाशीलता, पारदर्शी समाज बनाउने लक्ष्यतर्फ देखिनु पर्दछ । अनि मात्र समृद्ध समाज र समुन्नत राष्ट्रको कल्पना साकार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here