युवा वर्ष माविमा शिक्षकलाई बैंक खाता अनिवार्य

0
10

भगीरथ भण्डारी,
इलाम ।

 

तलब वितरणलाई पारदर्शी र जवाफदेही बनाउन विभिन्न सरकारी निकायहरुले आफ्ना कर्मचारीहरुको तलब सम्बन्धित कर्मचारीको बैंक खातामा सिँधै जम्मा गरिदिने व्यवस्था लागू गरेको छ ।

सञ्चितकोष व्यवस्थापन प्रणाली (सुत्र) अन्तर्गत इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर मार्फत सरकारी निकायहरुले सम्बन्धित कर्मचारीलाई सिँधै बैंक खातामा तलब हाली दिने व्यवस्था लागू गरेको छ । यो प्रणालीको कार्यान्वयन कतिपय सामुदायिक विद्यालयहरुले समेत गर्ने गरेका छन् । विद्यालयले आफ्ना शिक्षक एवम् कर्मचारीलाई उनीहरुको बैंक खातामा सिँधै रकम जम्मा गरिदिने गरेको छ ।

सूत्र कार्यान्वयन नगरेका विद्यालयहरुले समेत बैंक मार्फत सिँधै सम्बन्धित शिक्षक र कर्मचारीहरुको बैंक खातामा तलब ट्रान्सफर गरिदिने गरेका छन् । सम्बन्धित व्यक्तिलाई नगद वा चेक मार्फत तलब भुक्तानी प्रक्रिया प्रायः बन्द गरिसकेका छन् । कतिपय स्थानीय तहले सम्बन्धित शिक्षक एवम् कर्मचारीको खातामा सिँधै तलब हाली दिने व्यवस्था गरेका छन् भने कतिपयले विद्यालयको खातामा एकमुष्ठ हाली दिने गरेका छन् ।

स्थानीय तहले एकमुष्ठ विद्यालयको खातामा हाली दिएको तबल विद्यालयले सम्बन्धित शिक्षक एवम् कर्मचारीको बैंक खातामा हाली दिने गरेका छन् । विद्यालयले कुनै पनि शिक्षक र कर्मचारीलाई चेक वा नगदबाट तलब दिने गरेको छैन । तर, इलामका एक विद्यालयका प्रधानाध्यापकले तलब वितरणमा मनपरी गर्ने गरेको पाइएको छ । जिल्लाको माई नगरपालिका–१ सुन्धुवास्थित युवा वर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर लिम्बूले विद्यालयका कर्मचारी (लेखा)सँगको मिलेमतोमा मनपरी तलब वितरण गर्ने गरेको पाइएको हो ।

अन्य सबै शिक्षक र कर्मचारीलाई तलब बुझ्नका लागि बैंक खाता अनिवार्य गरिएको छ । तर, प्रधानाध्यापक लिम्बूले आफू भने आफ्नै नाममा चेक काटेर तलब बुझेका छन् । गएको असारमा तीन महिनाको तलब अन्य शिक्षक र कर्मचारीको बैंक खातामा ट्रान्सफर गरी आफूले भने आफ्नै नाममा चेक काटेर तलब बुझेका हुन् । यसको कारण, अरु केही नभएर प्रअ लिम्बूको बैंक खाता राष्ट्र बैंकले कालोसूचीमा राखेपछि त्यसो गर्ने गरेको खुलेको छ ।

लिम्बूको बैंक खाता चेक बाउन्समा परेपछि राष्ट्र बैंकले उनको खाता कालो सूचीमा राखिदिएको हो । आफ्नो खाता कालो सूचीमा परेपछि लिम्बूले बैंक खातामा ट्रान्सफर नगरी आफ्नै नाममा चेक काटेरै भए पनि तलब खाने जुक्ति निकालेका हुन् । राष्ट्र बैंकले कालो सूचीमा राखेपछि सो खातामा रकम जम्मा भए पनि खाताबाट रकम निकाल्न भने मिल्दैन । सो कुरा थाहा पाएपछि लिम्बूले आफ्नै नाममा चेक काट्न नै उपयुक्त हुने तत्कालीन जुक्ति निकालेका हुन् ।

विद्यालयका कर्मचारी महेन्द्र राई र प्रअ लिम्बूको संयुक्त दस्तखतमा विद्यालयको खाता सञ्चालनमा छ । कर्मचारी महेन्द्र राईका अनुसार प्रअ लिम्बूले शुरुमा आफूले सो त्रैमासिकको तलब नखाने भन्दै आफ्नो खातामा नहाल्न अनुरोध गरेका थिए । तर, भोलिपल्ट आफ्नै नाममा चेक काट्न दवाव दिएको राईले बताए ।

‘त्यति भनेपछि म अचम्मित भएँ, उहाँकोमा बाहेक अरुको खातामा मात्र हाली दिएँ’ –कर्मचारी राईले टेलिफोन सम्पर्कमा भने– ‘तर भोलिपल्ट हेडसरले बेरुजु आए आफैं व्यहोरुलाँ भन्दै तलब बराबरको चेक उहाँको व्यक्तिगत नाममा काट्न लगाउनुभयो । हेडसरले भनेपछि नमान्न पनि गाह्रो भयो, चेक काटिदिएँ ।’

यता प्रधानाध्यापकले आफ्नो बैंक खाता कालोसूचीमा परेर बन्द रहेको स्वीकार गरेका छन् । तर, प्रअ र कर्मचारीको कुरा भने बाझिएको छ । प्रअ लिम्बूले अघिल्लो पटक आफूलाई थाहै नभई अर्कै खातामा ट्रान्सफर गरिदिएको जिकिर गरेका छन् । ‘मेरो जापान जाने प्रक्रियाले गर्दा तलबी बैंक खाता बन्द छ । अघिल्लो पटक तलब कर्माचारी सरले मेरो अर्कै खातामा ट्रान्सफर गरिदिनुभएछ । यसपटक भने मेरो तलब नदिनु, विद्यालयकै खातामा राखिदिनु भनेको छु’ –प्रधानाध्यापक लिम्बूले भने । प्रअ लिम्बूले कुन बैंकमा ट्रान्फर गरेको भन्ने चाहिँ खुलाएनन् । यता कर्मचारी राईले अन्तिम पटकको टेलिफोन सम्पर्कमा भने फरक कुरा गरेका छन् । अघिल्लो पटक प्रअ लिम्बूलाई आफैंले चेक काटेर तलब दिएको बताएका कर्मचारी राईले पछिल्लो सम्पर्कमा चेक नदिएको जिकिर गरे ।

प्रअ लिम्बूलाई चेक नदिई अर्कै बैंक खातामा ट्रान्सफर गरिदिएको जिकिर गरेका राईले कुन बैंकमा ट्रान्फर गरेको भन्ने चाहिँ खुलाउन सकेनन् । ‘खोई कुन बैंकमा ट्रान्सफर गरियो थाहा छैन, हेर्नुपर्छ’ –कर्मचारी राईले भने– ‘अहिले काममा व्यस्त छु हेर्न भ्याउँदिन । भरे सम्पर्क गर्नु’ यति भनेर फोन काटेका राईले त्यपछिको सम्पर्कमा भने फोन उठाएनन् । प्राथमिक तह स्थायी छ जना, निमा तह राहत तीन जना, मावि तह राहत एक, संघीय अनुदान दुई र प्रदेश अनुदान एक जना, कर्मचारी दुई जना, सहयोगी कार्यकर्ता एक जना र सुरक्षा गार्ड एक जना कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here