जौबारी जाने कि !

0
15

परम्परागत चलेको कृषि कर्म क्रमशः सुस्ताउँदै गएको छ । नारामा भने कृषि प्रधान देश भन्दै हिँडिरहेका छन् नेताहरू । इलामको जौबारी भन्ने ठाउँमा छैन जौ खेतीको नामोनिसान । प्रकृतिले दिएको पर्यटन क्षेत्रको आवश्यकता अनुसार विकास गर भनिरहेका छन् जनताहरू । उता सरकारमा रहने सत्ताधारीहरू सुने नसुने झैं गरिरहेका छन् । पर्यटन क्षेत्रको प्रचार र प्रर्वद्धनमा लाग्न सके नेपाल र नेपालीकै भाग्य र भविष्य सुनिश्चित रहने पर्यटन विज्ञहरूको भनाइ छ ।

विडम्बना भन्नुपर्छ नेपालका विभिन्न पर्यटकीय गन्तव्य स्थलहरूलाई हेर्दा जो कोहीले पनि भन्ने गरेका छन् नेपाल देशले माल पाएर पनि चाल पाएन । त्यस्तै अवस्था रहेको छ भारत देश सँग सिमा जोडिएको इलाम जिल्लाको पूर्वी उत्तरी लेकाली क्षेत्र जौबारीको । जौबारी प्राकृतिक सौन्दर्यको हिसाबले देशका अन्य र भारतका धेरै उच्च पहाडी क्षेत्रको प्रकृति पर्यावरण अनुकूल क्षेत्रभन्दा कमको छैन । तर, भौतिक पूर्वाधारको कारण नेपाली पर्यटकहरू माझ ओझेलमा परेको छ –जौबारी ।

असोजदेखि बैशाखसम्म पर्यटनको चहलपहल हुने समय हो । विशेषगरी नेपालीहरू दशैं–तिहारको छेक धेरै घुमफिरमा निस्कने गर्दछन् । तर, यो बेला पनि जौबारीमा नेपाली पर्यटकहरुको उपस्थिति अत्यन्तै न्यून रहेको छ । यो हुनुको कारण प्रचार–प्रसार र सडक पूर्वाधार विकास हुन नसक्नु पनि एउटा कारण हो ।

जौबारीको प्राकृतिक छटामा ओतप्रोत हुन भारतीय पर्यटकहरूको भने जौबारीमा लर्को नै लाग्ने गरेको छ । हाल प्रतिशतको आधारमा भन्ने हो भने ९० प्रतिशत भारतीय र १० प्रतिशत नेपाली पर्यटकहरू जौबारी र आसपासका क्षेत्रहरूमा पुग्ने गरेका छन् । भारतीयहरूको उल्लेखनीय उपस्थिति रहनुको मुख्य कारण भने भारत तर्फबाट पक्की सडक हुँदै भञ्ज्याङसम्म पुग्न सकिने र तुम्लिङबाट १५ मिनेटको समयमा जौबारी पुग्न सकिने भएकाले भारतीयहरू धेरै जौबारी आउने गरेका छन् । अर्को अर्थमा जौबारी कम खर्चिलो गन्तव्य भएकाले पनि भारत पश्चिम बंगाल प्रान्तका बंगाली पर्यटकहरू जौबारी आउने गरेको स्थानीय नागरिक अगुवा सोनाम तामाङ को भनाइ छ ।

सन्दकपुर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित जौबारी पुग्ने पर्यटकहरूले जौबारीको भौगोलिक र वातावरणीय अवस्थालाई देखेर र महशुस गरेर आ–आफ्नै धारणाहरू राख्ने गरेका छन् । हामीले केही पर्यटकहरूलाई तपाईलाई जौबारी कस्तो लाग्यो भन्ने प्रश्न गर्दा पर्यटकहरूले फरक–फरक प्रतिक्रियाहरू व्यक्त गरेका थिए । पर्यटकहरूको भनाइ अनुसार जौबारीलाई नेपालकै प्रसिद्ध पर्यटकीय स्थल नगरकोट, भारत सिलोङको चेरापुञ्जी, दार्जिलिङको टाइगरहिल, कोशी प्रदेशको तीनजुरे जस्तो लागेको बताए ।

जौबारी धेरैले थाहा नपाएको र थाहा पाएर पनि जान नसकेको नेपालको लागि बाटोको कारण दुर्गम क्षेत्र हो । अन्य भौतिक अवस्थाले भने सुगम पनि छ – जौबारी । जौबारीमा पर्यटकहरूलाई खान–बस्नका लागि सात वटा होमस्टेहरू सञ्चालित रहेको छ । त्यहाँ पर्यटकहरूले दुई सय रुपैयाँमा सादा खाना र एक हजारमा बस्ने कोठा पाउने छन् । यतिबेला भने भारतीय पर्यटकहरूको बढ्दो चापका कारणले सहजैरुपमा बासका लागि कोठा पाउन मुस्किल हुने गरेको छ ।

तर, स्थानीयले आएका पाहुना पर्यटकहरूलाई सकेसम्म गाँस र बासको व्यवस्था गर्दै आएका छन् । हाल जौबारीमा दैनिक सरदर दुई सय पर्यटकहरूको आगमन हुने गरेको तेन्जिङ होमस्टे सञ्चालक निम्मामु शेर्पाले बताइन् । जौबारीमा विद्युत, दूरसञ्चार सेवाको पनि व्यवस्था छ । चैत, बैशाखमा कमी भए पनि अरु बेला पानीका धाराहरूमा निरन्तर पानी आइरहेको छ । समुन्द्री सतहबाट २९ सय मिटर उचाइमा रहेको जौबारीमा मंसीर, पुसमा हिउँ पर्ने गरेको छ । विगतका वर्षहरूमा उक्त समयमा हिउँ खेल्नको लागि सयौँ पर्यटकहरू जौबारी आएको शेर्पाको भनाइ छ ।

रेडपान्डाको बासस्थान रहेको जौबारीमा वन्यजन्तु संरक्षणमा कम गर्ने देशी तथा विदेशीहरूको बाक्लै उपस्थिति जौबारीमा हुने गरेको छ । सूर्योदयको दृष्य राम्रोसँग देखिने भएकाले सन्दकपुर पुग्नको लागि आएका पर्यटकहरू जौबारीबाटै फर्किने पनि गरेका छन् । जौबारीबाट सन्दकपुर भारतीय भूमिबाट उतैका लागि मार्फत सहज रुपमा पुग्न सकिन्छ भने नेपाल तर्फको बाटो अलि कठिन रहेको छ । जौबारीबाट सन्दकपुरको यात्रा अवधि करिब एक घण्टाको रहने छ ।

जौबारीको रमिते डाँडाबाट सूर्योदय र सूर्यास्तको दृष्य मात्र होइन, आँखै अगाडि कञ्चनजंगा हिमालको दृष्यले सबैलाई मोहित बनाउँछ । सगरमाथा भने एक चोटाई मात्र देखिन्छ । जौबारीबाट तराइ झापा र भारतका सहर तथा नदीहरू सहज रुपमा अवलोकन गर्न सकिन्छ ।

कहा“बाट पुुग्न सकिन्छ त जौबारी ?

भारत तर्फबाट दार्जिलिङ जिल्लाका विभिन्न स्थानबाट जौबारी पुग्न सकिन्छ । नेपाल तर्फबाट भने इलाम बजार, फिक्कलबाट नयाँ बजार हुँदै जौबारी पुग्न सकिन्छ । जौबारी जानको लागि मोटरसाइकल, फोरवील साना गाडीहरू पु¥याउन सकिन्छ । चालक भने अनुभवी हुन आवश्यक रहन्छ । सिकारु चालकले सवारी लाने सोच नगरे राम्रो हुन्छ ।

पर्यटन व्यवसायमा जौबारीको अवस्था

पर्यटन क्षेत्र विकासका लागि पहिलो प्राथमिकता भनेको बाटो नै हो । बाटो वर्षायाममा आवतजावत गर्न सकिने अवस्थाको छैन । हिउँद महिनामा भने जेनतेन यात्रा गर्न सकिन्छ । जौबारीमा सात वटा होमस्टे रहेका छन् तर ती होमस्टेहरू पूर्ण व्यवसायिक रुपमा सञ्चालनमा रहेका छैनन् । भारतको सिमा दशगजा नजिकै तुम्लिङमा ठूला र व्यवस्थित होटलहरू रहेका छन् । जौबारीको होमस्टेहरु प्रर्वद्धन गर्न जरुरी रहेको छ । अतिथि सत्कार र सुविधाको लागि होमस्टेको अवधारणा र कर्तव्यबारे त्यहाँका स्थानहरूलाई तालिमको आवश्यक रहेको छ । उनीहरू तालिम लिन चाहेका छन् । तर, तालिम दिने संस्था तथा निकायहरू जौबारी पुग्न सकेका छैनन् ।

जौबारीमा त्यहाँको बारेमा जानकारी जनाउने सूचना पार्टीहरू राख्न जरुरी देखिएको छ । त्यहाँको वातावरणको बारेमा पर्यटकले जानकारी पाउनसके जौबारी पुगेकोमा पर्यटक अझ प्रफुल्लित बन्न सक्ने छन् । जौबारी अवलोकनका लागि मात्र नभएर अध्ययनको लागि पनि उपयुक्त ठाउँ हो यो काम स्थानीय सरकारले गर्नुपर्ने त्यहाँ पुग्ने विद्यार्थी अवलोकनकर्ताहरूको भनाइ छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको जौबारीमा तामाङ कला संस्कृतिको प्रर्दशनी स्थल राख्न सकियो भने जौबारी समुदायको फूलबारी बन्न सक्छ ।

प्रस्तुति : विनोद पाण्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here