झापाको सदरमुकाम भद्रपुरमा प्रथम झापा लिग तथा नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्लाका पन्ध्रवटै पालिकाबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । झापा गोल्डकपको आयोजनामा शुरु भएको अन्तरपालिका लिग प्रतियोगिताको मुख्य प्रायोजक ओमसाई पाथीभरा हस्पिटल, भद्रपुर रहेको छ । प्रतियोगिताले स्थानीय क्षेत्रमा रहेका फुटबल खेलाडीहरुको पहिचान गरी अवसर प्रदान गर्दै स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गएको वर्षको फागुनमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको स्थानीय मेची रंगशालामा आयोजना हुने खेलमा पन्ध्रवटा टिमले प्रतिष्पर्धा गर्दैछन् ।

भद्रपुर सदरमुकाम भएका कारण जिल्लाको केन्द्र नै हो । त्यसमाथि जिल्लामै पहिलो व्यवस्थित र आधुनिक रंगशाला निर्माण भएर राष्ट्रिय–अन्तर्राष्ट्रि खेल र खेलाडीको सहभागिताले यो रंगशाला देशमै स्थापित र चर्चित छ । रंगशाला बन्नुअघि नै गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेर भारतका प्रशिद्ध क्लवहरुलाई सहभागी गराइसकेको भद्रपुरको छुट्टै पहिचान छ । खेल स्वास्थ्यका लागि उत्तम व्यायाम हो । यसले अनुशासनमा रहन, अवसरको सदुपयोग गर्न र व्यक्तित्वको विकासमा समेत सहयोग पु¥याउँछ । त्यसअर्थमा पनि सर्वाधिक मानिसले रुचाएको फुटबल खेलमा आममानिसको रुचि र चासो बढी नै हुन्छ ।
प्रत्येक हिउँदमा देशका विभिन्न जिल्ला र क्षेत्रमा फुटबल प्रतियोगिताहरुको आयोजना गर्ने गरिएको छ । खेलहरु मध्येको लोकप्रिय मानिने फुटबल खेलमा दर्शकहरुको उपस्थितिले आयोजकसँगै खेलाडी पनि उत्साहित हुन्छन् । अवसर दिन सकिए ग्रामीण क्षेत्रमा रहेका र पहुँचमा नभएका खेलाडीहरुले पनि यसैमा व्यवसायिकता पाउन सक्छन् । जुन देशकै लागि पनि सुखद् र सम्मानको कारण बन्न सक्छ । त्यसका लागि वातावरण तयार गर्ने दायित्व स्थानीय सरकारको हुनुपर्छ । खेलको आयोजना, खेलाडीलाई अवसर, प्रोत्साहन र प्रशिक्षण दिएर खेलाडी उत्पादन, संरक्षण र सम्बद्र्धनमा स्थानीय सरकारको भूमिका देखिनुपर्छ । यसले स्थानीय तथा राष्ट्रिय गौरवको उन्नयनमा समेत योगदान दिन्छ । यसतर्फ जिम्मेवार निकाय र सरकार सचेत हुनुपर्छ ।




























