दुबईमा ८ नेपालीको बिचल्ली, उद्धारका लागि हारगुहार

0
12

पार्थ मण्डल,
झापा।

भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अकबर अन्सारी पारिवारिक समस्याका कारण ऋणमा चुर्लुम्मै डुबे । टाउकोमा ऋणको बोझ थपिएपछि उनले वैदेशिक रोजगारीका लागि श्रीमतीसहित खाडी मुलुक जाने निधो गरे ।

त्यसपछि अन्सारीले श्रीमती अफ्रुज खातुनसहित आफ्नो राहदानी (पासपोर्ट) बनाए । अनि दुवै जना फर्निचरको काममा विदेश जाने भन्दै मेनवापर एजेन्टहरूसँग सम्पर्क गर्न थाले । त्यस अवधिभित्र उनीहरूले सञ्चालन गर्दै आएको फर्निचर पसल पूर्ण रुपमा बन्द गरिसकेका थिए ।

अन्ततः भद्रपुर–८स्थित फूलबारी टोल निवासी अन्सारीको दुबई जाने भिसा लाग्यो, श्रीमतीको चाहिँ भएन । अन्सारीलाई काठमाडौँ धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालि मेनपावरले गत असोज २८ गते दुबई जेबेलअली उडाए । सागर मेनपावरले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिए ।

मेनपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङमा फिनिसिङ कार्पेन्टर (फर्निचरको काम) ११२० दिराम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने शर्त राखेर पठाएको थियो । अन्सारीसँगै अन्य आठ नेपालीलाई पनि सागर मेनपावरले त्यही कम्पनीमा त्यही काममा दुबई पठाएको छ ।

तर, दुबई जेबेलअली पुगेपछि उनीहरूको काम फरक प¥यो । फिनिसिङ कार्पेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो । लेबरको काम गर्न लगाएर उनीहरूलाई त्यहाँ बिचल्ली पारियो । काम फरक परेको भन्दै उनीहरूले सागर मेनपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए । तर, मेनपावरका प्रतिनिधिहरूले खासै चासो देखाएनन् ।

मेनपावरले फर्निचरको कामका लागि पठाएको श्रीमानलाई त्यहाँ बेल्चा हान्न लगाउँदा उनी बिचल्लीमा परेको उनकी श्रीमती अफ्रुज खातुनले गुनासो पोखिन् । दुबई गएको ९ दिनमै श्रीमान् ओछ्यानमा थला परेको बताउँदै खातुनले भनिन्– ‘परिवारमा ऋण लागेर श्रीमान् कमाउन विदेश गएका हुन्, उनलाई फर्निचर सम्बन्धी काम आउँछ, ८ दिन बेल्चा हान्दा उनी सिकिस्त बिरामी भए ।

‘एक लाख ७५ हजार ऋण काढेर उहाँलाई दुबई पठाएऔं, काम भनेजस्तो नहुँदा ऋणको बोझले उहाँको मानसिक सन्तुलन झन् बिग्रिँदै गएको छ’– उनले भनिन्– ‘करिब १५ दिन ओच्छ्यानमा थला पर्दा उनी मृत्युसँग लडिरहेका थिए, धन्नसँगै गएका साथीहरूले हेरचाहसँगै उपचार गराउँदा श्रीमान् हालसम्म सकुशल छन् ।’

श्रीमानलाई नेपाल झिकाउन उनी सबैतिर भौंतारिरहेकी छन् । तर, उनको सुनवाइ भएको छैन । ‘श्रीमानले पनि रुँदै घरमा फोन गर्नुहुन्छ, मलाई यहाँबाट नेपाल फर्काइदिनु भन्दै’– उनले भनिन् । मेनपावरलाई फर्काइदिन भन्दा उल्टै २५०० दिराम मागिरहेको उनले बताइन् । अन्सारी जस्तै झापाका राजकुमार ताजपुरिया, झापाकै महेश राजवंशी, मोरङका राहुल शर्मा, रुपन्देहीका अमितकुमार लोहार, नवलपरासीका ईश्वर गुप्ता, नुवाकोटका हिमाल लामा र नुवाकोटकै राजकुमार तामाङ पनि सागर मेनपावरको बदमासीले बिचल्लीमा परेका छन् ।

मेनपावरले हामीसँग भनेजस्तो पैसा लिएर दुबई पठायो, फिनिसिङ कार्पेन्टरमा सम्झौता गरेर पठाए पनि भवन निर्माण सम्बन्धी काममा लगायो । ‘मेनपावरले हामीलाई ढाँट्दा दुबईको एउटा कोठामा बन्दीसरह बसिरहेका छौँ’– झापा शिवसताक्षी–५का राजकुमार ताजपुरियाले भने । ‘मेनपावरले सम्झौता अनुसार काममा लगाइदिनु प¥यो कि हामीलाई सकुशल नेपाल फिर्ता पठाइदिनु प¥यो’– उनले भने ।

मेनपावरले ६० जनालाई एकै पटक फिनिसिङ कार्पेन्टरमा भनी दुबई पठाएको नुवाकोटाका हिमाल लामाले बताए । दुबई आउनुभन्दा अघि हामी सबै नेपालमै फर्निचर बनाउने काम गरिरहेका थियांै । त्यही कामको इन्टरभ्यू लिएर मेनपावरले हामीलाई यहाँ पठाएको हो । साथीहरूले ६० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम बुझाएर दुबई आएको बताउँदै उनले भने– ‘यहाँ आइपुग्दा काठ अर्थात् फर्निचर सम्बन्धी कुनै काम कम्पनीसँग छैन, भवन निर्माण सम्बन्धी मात्र काम रहेछ, हामीलाई त्यही काममा लगायो ।’

बेल्चा हान्दा अलिकति पनि काम बिग्रियो भने कम्पनीले पैसा काट्ने, गाली गर्ने जस्ता गतिविधि गर्न थालेपछि हामीले काम गर्न मानेनौँ– उनले भने । तत्काल उद्धार गरी नेपाल फर्काइदिन सबैले हारगुहार गरिरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here