ठगीका घटना नियन्त्रण गर

0
11

वैदेशिक रोजगारीका नाममा ढगीका घटना दिनहुँ बढिरहेका छन् । कतिपय विदेश पुगेका कामदारहरु करार सम्झौता अनुसारको काम, तलब र सुविधा नपाएर ठगिएका छन् । त्यसैगरी कतिपय नेपाली युवा विदेश जाने लोभमा व्यक्ति, कन्सलटेन्सी तथा म्यानपावर कम्पनीबाट ढगिएका छन् । यसरी ठगिएका नेपाली नागरिकलाई न्याय दिलाउन सरकारले सचेतना लगायत कानूनी उपचारको व्यवस्था गरेको पनि छ, तर ठगिनेहरुको संख्या प्रत्येक दिन, प्रत्येक वर्ष वृद्धि भइरहेको छ । एकातर्फ वैदेशिक रोजगारीका लागि लाखौं युवा विदेशिएका छन् । जसका कारण देशमा आवश्यक जनशक्तिको अभाव भएको छ भने अर्कातर्फ देशमा विद्यमान आधारभूत स्रोत र साधनको समेत परिचालन गर्न नसकिने अवस्था सृजना भएको छ ।

वैदेशिक रोजगारी वर्तमानमा हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको छ । तर, रोजगारीबाट प्राप्त विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विप्रेषणबाट प्राप्त रकम विलाशिताका वस्तु खरिदमा खर्च भइरहेको छ, जग्गा किन्न, घर बनाउन उपयोग भइरहेको छ । यसले एकातिर जनशक्तिको अभावमा उर्वर भूमि बाझिँदै गएको छ भने अर्कोतिर शहर बजारका उत्पादनशील क्षेत्र घडेरीमा रुपान्तरण भइरहेको छ । वैदेशिक रोजगारीले पारिवारिक विखण्डन तथा सामाजिक अपराध पनि बढाइरहेको छ । रोजगारीबाट प्राप्त आम्दानी स्वदेशमा रहेका श्रीमान वा श्रीमतीले भोगविलासमा खर्च गरेर दुरुपयोग गरिरहेका कैयौं उदाहरण छन् । पारिवारिक विखण्डनदेखि आपराधिक घटनाहरुको कारण समेत बनिएको वैदेशिक रोजगारीले हाम्रो मौलिक संस्कृति, व्यवहार र सामाजिक परम्परामा नकारात्मक असर परिरहेको छ ।

वैदेशिक रोजगार एकातिर अर्थतन्त्रको आधार बनिएको छ भने अर्कातिर त्यसका नाममा ठगीका घटनाहरु पनि बढिरहेका छन् । सचेतनाको अभावमा कति देशभित्रै ठगिएका छन् भने कतिपय विदेशी भूमिमा दुःख पाएर बाँच्न विवश छन् । विदेश पठाउने आश्वासन दिएर सर्वसाधारणको लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन हुनेहरु पक्राउ परेको समाचार प्रत्येक दिन सार्वजनिक हुन्छन् । तर, उनीहरु कानून अनुसार दण्डित नहुँदा ठगीका घटनाको पुनरावृत्ति भइरहेको छ । यस्तोमा सरकार जनउत्तरदायी हो भने पहिलो त युवा, दक्ष तथा सक्षम जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर दिनु पर्दछ । होइन भने रोजगारीमा जानेहरुलाई आवश्यक सिप, दक्षता र प्रशिक्षण दिलाउनु पर्दछ । श्रमिकका रुपमा पढाउने नेपाली युवालाई सुरक्षित गर्न श्रम सम्झौता गर्दैै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउँदै प्राप्त हुने विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने वातावरण दिनु पर्दछ । साथै यसका नाममा हुने ठगीको अन्त्य गर्न प्रभावकारी कानून निर्माण गरी दोषीलाई कठोर सजाय दिलाउनु पर्दछ । होइन भने ठगीको यो सिलसिला रोकिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here