अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिकोत्सव एवम् आम उपभोक्ता भेला बुधबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष झरीन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समूहका अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन, पर्यटन उपाध्यक्ष शुक्रराज दुलाल “दीपक”ले समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटन केन्द्रको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक शंकर घिमिरेल आन्तरिक लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु आर्थिक वर्ष ०८०÷०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा तीन करोड ६० लाख ६८ हजार नौ सय ६८ रुपैयाँ २२ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षमा अनुमानित तीन करोड ६५ लाख १६ हजार तीन सय ७८ रुपैयाँ १० पैसा बराबरको बजेट कार्यक्रममा पेश गरेको थियो ।
जसअनुसार अन्य खर्चतर्फ ९७ लाख १८ हजार पाँच सय एक रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ ८८ लाख ८० हजार रुपैयाँ, वन विकासतर्फ ६१ लाख ८० हजार पाँच सय रुपैयाँ, प्रशासनिकतर्फ ३८ लाख ५३ हजार पाँच सय रुपैयाँ, कैदले पर्यापर्यटन साझेदारी कार्यक्रमतर्फ ३१ लाख रुपैयाँ, वन पैदावार संकलन एवम् भुक्तानीतर्फ २४ लाख ६३ हजार एक सय ७७ रुपैयाँ १० पैसा, फर्निचर निर्माणतर्फ २० लाख ६० हजार सात सय रुपैयाँ, सामुदायिक विकासतर्फ दुई लाख रुपैयाँ, ट्रयाक्टर सञ्चालनतर्फ ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी कार्यक्रममा समूहका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदी, पूर्व सहसचिव सुरेन्द्र कार्की, पूर्व कोषाध्यक्ष निर्मला घिमिरे, संस्थापक सदस्य वृखबहादुर कन्दङवा र पूर्व सदस्य दुर्गा पोखरेललाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा समूह अन्र्तगत पाँच वटा क्षेत्रका अति विपन्न पाँच परिवारलाई निःशुल्क एक–एक थान खाट र विपन्न पाँच परिवारलाई एक–एक थान टी–टेबल वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा समूह अन्र्तगतका ३१ वटा टोलमध्ये उत्कृष्ट टोल संयोजकबाट पूष्पा तिम्सिनालाई एक थान टी–टेबलसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा ३१ वटा टोलबाट छनौट गरिएका ३१ विपन्न परिवारलाई निःशुल्क कम्बल वितरण गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराई, निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी “जीवन”, कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख नथुनी गहिवार यादवलगायतको आतिथ्यता रहेको थियो । समूहका पर्यटन उपाध्यक्ष दुलालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नर्वदा दियालीले गरेकी थिइन् ।































