पितृहरुको उद्धार होस्

0
6

नेपालमा मनाइने चाडपर्वहरु मध्ये मंसीर महिनाको कृष्ण चतुर्दशीका दिन मनाइने एउटा महŒवपूर्ण चाड हो बालाचतुर्दशी । यो दिनलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यस दिनमा सय थरीका बीजहरु रोपण गरेर पितृहरुको उद्धार गर्ने नेपाली परम्परा छ । अघिल्लो दिन बेलुका श्रद्धालुहरु विभिन्न मन्दिर तथा शिवालयमा गएर दीप प्रज्ज्वलन गर्दै रातभर भजन–कीर्तनसहित जाग्राम बस्छन् । सामान्य बोलीचालीमा सतबीज छर्ने भनिने यो पर्वमा काठमाण्डूको पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न भागमा रहेका शिवालयहरुमा पितृ उद्धारको कामनासहित धान, मकै, तिल, चना, कागुनु, जौ लगायतका बीऊ छर्ने गरिन्छ ।

भगवान शिवको लीलासँग सम्बन्धित यस पर्वका बरोमा हाम्रा धर्मग्रन्थहरुमा वर्णन गरिएको छ । भगवान शिव जहाँ–जहाँ बिचरण गर्नुभयो ती–ती ठाउँमा आजका दिन एक गेडा अन्नको बीऊ छर्दा पनि त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य प्राप्त हुने र पितृआत्माले मुक्ति पाउने जनविश्वास छ । बागमती किनारको मृगस्थलीमा भगवान शिव मृगरुप धारण गरी रहनु भएको थाह पाएपछि देवी पार्वतीले उक्त स्थानमा विभिन्न थरीका बीऊ छरेको र उम्रिएपछि मृगहरु चर्न आउँदा पार्वतीले शिवजीलाई चिनेको किम्वदन्ती पनि छ । त्यहीकारण मृगस्थली भनिएको उक्त स्थल सतबीज छरिने तीर्थ मध्येको सबैभन्दा पवित्र स्थलका रुपमा लिइन्छ ।

आफ्ना दिवंगत मातापिता एवम् परिवारका सदस्यहरुको आशौच बार्न नसकिएको वा त्रुटि भएको अवस्थामा उनीहरुको आत्माले मुक्ति पाउँदैन भन्ने मान्यता छ । त्यहीकारण पनि पशुपति मृगस्थली एवम् अन्य शिवालयहरुमा आजका दिनमा भक्तजनहरुको भीडभाड हुन्छ । वैदिक सनातन धर्मावलम्वीसँगै बौद्धमार्गीहरुले समेत श्रद्धा–भक्तिपूर्वक मनाउने यो पर्वमा कतिपय स्थानीय तहले सार्वजनिक विदा नै दिएका छन् । सतबीज छरिने झापाका शिवसताक्षी धाम, कन्काईस्थित कोटीहोम, बिर्तामोडस्थित विवेकाश्रम, विराटपोखर, अर्जुनधारास्थित जलेश्वरधाम लगायतका धार्मिक तथा पौराणिक स्थलहरुमा दर्शनार्थी एवम् श्रद्धालुहरुको भीड हुन्छ । दिवंगत पितृहरुप्रति श्रद्धा प्रकट गर्ने वातावरणीय महŒव समेत भएको यो पर्वले समस्त पितृहरुको आत्मालाई शान्ति प्रदान गरोस् र दिवंगत पितृहरुको उद्धार होस्, कामना गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here