हेनरी अल्फ्रेड किसिन्जर एक सफल अमेरिकी राजनीतिज्ञ, प्रशासक, कूटनीतिज्ञ, लेखक, प्राध्यापक, वार्ताकार, प्रभावशाली वक्ता र मध्यस्थकर्ता थिए । उनले राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फÞोर्ड दुबैको कार्यकालमा सचिव (विदेश मन्त्री) र राष्ट्रिय सुरक्षा सलाहकारको रूपमा अत्यन्तै कुशलतापूर्वक काम गरेका थिए । दुबै राष्ट्रपतिलाई सफल बनाउन उनकै महŒवपूर्ण भूमिका रहेकोमा दुईमत छैन । उनी वास्तवमा एक कुशाग्र बुद्धि भएका, दृढ निश्चयी, दूरदर्शी र गहिरो विश्लेषण क्षमता भएका कूटनीतिज्ञ थिए ।
किसिन्जरको पूरा नाम हेन्ज अल्फ्रेड किसिन्जर हो । उनलाई विशेषतः हेनरी किसिन्जर भनी विश्वले चिन्छ । उनको जन्म २७ मे, १९२३ मा जर्मनीको फ्युर्थमा भएको थियो र उनी युरोपेली यहुदीहरूलाई निर्मूल पार्न एडोल्फ हिटलर नेतृत्वको नाजी अभियान अघि बढाइएपछि सन् १९३८ मा आफ्नो परिवारसँग यहुदी शरणार्थीको रूपमा संयुक्त राज्य अमेरिकामा सरेका थिए । सन् १९४३ मा हेनरी एक अङ्गीकृत अमेरिकी नागरिक बने, दोस्रो विश्वयुद्धमा युरोपमा सेनामा सेवा गरे, र हार्वर्ड विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गरे, जहाँ उनले १९५४ मा विद्यावारिधि उपाधि प्राप्त गरे ।
उनी १७ वर्षसम्म उक्त विश्वविद्यालयमा आबद्ध रहे, जहाँ उनले आणविक हतियार र विदेश नीतिमा विशेषज्ञको रूपमा अन्तर्राष्ट्रिय ख्याति कमाए । उनको एक सय वर्षको उमेरमा केही दिनअघि अर्थात् सन् २०२३ नोभेम्बर २९ मा निधन भयो । उनको अमेरिकाको कनेक्टिकटको केन्टस्थित निवासमा निधन भएको थियो । उनको निधनको खबरले विश्व तरङ्गित भयो । उनले आफ्नो जीवनकालमा विश्व राजनीतिक रङ्गमञ्चमा खेलेको भूमिकाका लागि आज राजनीतिक, बौद्धिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रबाट प्रशंसा, तिक्तता र स्मृतिका शब्द व्यक्त भइरहेका छन् । प्राज्ञिक क्षेत्रबाट कूटनीतिक र राजनीतिक क्षेत्रमा प्रवेश गर्ने चर्चित व्यक्तिहरू मध्ये हेनरी किसिन्जर एक मानिन्छन् ।
उनी आज पनि बुद्धिमान र व्यावहारिक राजनीतिज्ञको रूपमा विश्वमा परिचित छन् । सन् १९७० को दशकमा वासिङ्टन र बेइजिङबीचको सम्बन्धलाई सामान्य बनाउन किसिन्जरले महत्वपूर्ण कूटनीतिक भूमिका खेलेका थिए । सन् १९७० को दशकमा शीतयुद्धको मध्यमा किसिन्जर आफ्नो शक्ति र प्रभावको उचाइमा थिए जब उनले रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनको नेतृत्वमा राष्ट्रिय सुरक्षा सल्लाहकार र सेक्रेटरी अफ स्टेट अर्थात् राज्य सचिवको रूपमा काम गरे । किसिन्जरको सल्लाह बमोजिम जब रिचर्ड निक्सनले भियतनाम युद्ध अन्त्य गर्ने वाचाले उनलाई १९६८ को राष्ट्रपति चुनाव जित्न मद्दत ग¥यो, उनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा ल्याए ।
किसिन्जरले १९७२ मा भियतनाममा ‘शान्ति हाम्रै हातमा छ’ भनी घोषणा गरे, तर जनवरी १९७३ मा हस्ताक्षर गरिएको पेरिस शान्ति सम्झौता भएको दुई वर्षपछि दक्षिण भियतनामको अन्तिम कम्युनिष्ट अधिग्रहण व्यहोर्नुप¥यो । अन्ततः भियतनामबाट अमेरिका फिर्ता भयो । त्यसैगरी, तीव्र हुँदै गएको अरब–इजरायली द्वन्द्वले किसिन्जरलाई आफ्नो पहिलो शटल मिशन शुरू गर्न प्रेरित ग¥यो । जेरुसेलम र दमास्कसबीचको बत्तीस दिनको शटलले किसिन्जरलाई इजरायलले कब्जा गरेको गोलान हाइट्समा इजरायल र सिरियाबीच लामो समयसम्म चल्ने विच्छेदन सम्झौता बनाउन मद्दत ग¥यो ।
उनी आफ्नो मुलुकप्रति धेरै समर्पित थिए । सोभियत प्रभावलाई कम गर्ने प्रयासमा, किसिन्जरले आफ्नो प्रमुख कम्युनिष्ट प्रतिद्वन्द्वी चीनमा पुगे, जसमा प्रधानमन्त्री चाउ एनलाइसँग भेट्ने गोप्य यात्रा पनि थियो । नतिजा निक्सनको ऐतिहासिक सन् १९७२ मा बेइजिङमा अध्यक्ष माओत्सेतुङसँगको शिखर वार्ता र दुई देशबीचको सम्बन्धको अन्ततः औपचारिकता थियो । चीनका लागि पूर्व अमेरिकी राजदूत विन्स्टन लर्ड, जसले किसिन्जरको विशेष सहायकको रूपमा सेवा गरेका थिए, उनले शान्तिको लागि अथक अभियन्ता र राष्ट्रिय हितका लागि ठूलो च्याम्पियन भएको भनी किसिन्जरको प्रशंसा गरेका छन् । वाटरगेट भ्रष्टाचार काण्डका कारण सन् १९७४ मा रिचर्ड निक्सनको राजीनामा पछि उनी निक्सनको उत्तराधिकारी राष्ट्रपति जेराल्ड फोर्डको अधीनमा राज्य सचिव (विदेश मन्त्री)को रूपमा कूटनीतिक तागत बने ।
किसिन्जर सो समयका अमेरिकाले विभिन्न देशसँग गरेका सम्झौताका वास्तुकार थिए । विश्लेषण क्षमता र योजना निर्माणमा खप्पिस किसिन्जर शक्तिकेन्द्रहरूलाई सन्तुलनमा राख्न पारङ्गत थिए । किसिन्जरले भियतनाम युद्धमा अमेरिकी संलग्नताको अन्त्यको लागि १९७३ को नोबेल शान्ति पुरस्कार जितेका थिए । भियतनाम युद्व अन्त्य गर्न पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेबापत उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए । उनको निधनमा शोक मन्तव्य दिँदै विश्वका धेरै राजनीतिकर्मी, कूटनीतिज्ञ र राजनीतिक विश्लेषकले किसिन्जरलाई बुद्धिमान र दूरदर्शी राजनेता भनेर प्रशंसा गरे ।
हेनरी किसिञ्जर एक प्रतिष्ठित कूटनीतिज्ञ थिए । वर्तमान अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले ‘किसिन्जर इतिहासलाई आकार दिन धेरै कम मानिसहरूमा पर्छन्’ भनी प्रशंसा गरेका छन् । उनको अध्ययनको विशालता, गहिराइ र व्यापकता हेर्दा उनी आफ्नो समयका दुर्लभ विद्वान मानिन्थे भने उच्च कोटीका रणनीतिकारको दर्जामा पर्थे । किसिन्जर भूराजनीतिक परामर्शदाता थिए । उनले अमेरिकासँगको मात्र होइन, धेरै देशसँगका शान्ति सम्झौताका लागि वार्ता गरे । जस्तासुकै विवादास्पद परिस्थितिमा पनि उनले बुद्धिमतापूर्वक काम गरेका थिए । एक असल राजनेता अध्ययनशील र चिन्तनशील हुन्छ । नेपालमा पनि बीपी कोइराला, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, प्रदीप गिरी अध्ययनशील र चिन्तनशील थिए । उनले कूटनीतिक इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धमा एक दर्जनभन्दा बढी पुस्तकहरू लेखेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै पढिने लेखक मध्ये एक हुन् हेनरी किसिन्जर । कूटनीतिमा उनको उदयमा पनि प्राज्ञिक कर्मको ठूलो योगदान छ । न्युयोर्कको जर्ज वासिङ्टन हाइस्कूल र सिटी कलेज अफ न्युयोर्कमा अध्ययन गरेका उनको हार्वर्डमा १९५४ मा विद्यावारिधिको शोधको शीर्षक ‘पीस, लेजिटिमसी एण्ड दी इक्युलिब्रिअम्’ थियो भने उपशीर्षक थियो– ‘अ स्टडी इन द स्टेटम्यानसिप अफ क्यासलरे एन्ड म्याटरनिच’ थियो । उनको कूटनीतिक जीवनको आधारशिला पनि यही पुस्तक थियो । हार्वर्डमा प्राध्यापक भएपछि उनले १९५७ मा ‘न्युक्लियर विपन्स् एन्ड फरेन पोलिसी’ पुस्तक लेखे । जसले उनको व्यक्तित्वलाई उचाइ दियो । उनको सबैभन्दा चर्चित पुस्तक हो ‘डिप्लोमेसी’ । यो विश्वमा कूटनीतिक कला र अभ्यासका विस्तृत रूपमा लेखिएको इतिहास हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै पढ्न सिफारिस गरिने पुस्तकमध्ये एक हो यो । उनका तीन संस्मरणात्मक पुस्तक पनि निकै चर्चित छन् । १९७९ मा प्रकाशित ‘द ह्वाइट हाउस इयर्स’, ‘इयर्स अफ अपहिभेल’ (१९८२) र ‘इयर्स अफ रिन्युअल’ (१९९९)मा उनले आफू पदमा रहँदा भएगरेका घटनाक्रमको विस्तृत व्याख्या गरेका छन् । किसिन्जरले आफ्नो पुस्तक ‘वल्र्ड अर्डर ः रिफ्लेक्शन अन क्यारेक्टर अफ नेशन्स एण्ड द कोर्ष अफ हिस्ट्री’ (२०१४)मा नेपालको कूटनीतिक परम्पराको प्रशंसा गरेका छन् । यो पुस्तकले पनि निकै चर्चा पायो । त्यस्तै, किसिन्जरको अर्को चर्चित पुस्तक हो– ‘अन चाइना’ (२०११) हो ।
चीन बुझ्न यो पुस्तक महŒवपूर्ण रहेको समीक्षकहरूको भनाइ छ । जीवनको उत्तराद्र्धमा उनले एरिक स्मिट र डेनियल हटनलोचरसँग मिलेर लेखेको पुस्तक हो, ‘द एज अफ एआई ः एण्ड आवर ह्युमन फ्युचर (२०२१) । किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा ‘लिडरसिप ः सिक्स स्टडिज इन वल्र्ड स्ट्राटेजी’ पुस्तक समेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए । उनको लेखनी र जीवनलाई हेर्दा किसिन्जरले बदलिँदो समयसँग सान्दर्भिक रहन अन्तिमसम्म प्रयास गरेको देखिन्छ ।
धेरै विद्वानहरूले किसिन्जरको विरासत अमेरिकी राजनीतिमा धु्रवीकरण गर्ने विषय हो भनेका छन् । जे गरे पनि उनी सदैव अमेरिकी स्वार्थका लागि मात्र गर्थे । उनलाई अमेरिकी हितमा विदेश नीतिलाई सफलतापूर्वक पुनः आकार दिने, आणविक प्रसारलाई रोक्नका साथै संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको द्वन्द्वलाई सफलतापूर्वक पुनर्संरचना गरेका थिए भनेर मान्छन् । पटकपटक चीन भ्रमण गरेर अमेरिका र चीनबीच सम्बन्ध सुधारमा प्रमुख भूमिका खेलका हुनाले उनलाई कतिपयले ‘चीनका असल मित्र’ समेत भन्थे । उनले नै एक्लिँदै गरेको चीनलाई विश्वको मूल प्रवाहमा आउन सघाएका थिए । पदमा हुँदा र पछि समेत गरेर उनी एक सयभन्दा बढी पटक चीनको औपचारिक र अनौपचारिक भ्रमण गरेका थिए । शीतयुद्धका बेला अमेरिकी विदेश नीति र कूटनीतिक क्षेत्रमा उनको भूमिका निकै महŒवपूर्ण मानिन्छ । साम्यवादी चीनसँग अमेरिकाको सम्बन्ध स्थापना गर्न पनि किसिन्जरको भूमिका महत्वपूर्ण मानिन्छ ।
किसिन्जरका कामहरू विश्वजगतका लागि राम्रा मात्र छैनन्, तिनीहरू विवादास्पद, अहितकारी र अमानवीय पनि छन् भने उनको कडा आलोचना पनि भइरहेको छ । व्यावहारिक राजनेताको छवि बनाएका किसिन्जरका कतिपय निर्णय र गतिविधि विश्वजगत्बाट आलोचित पनि भएका छन् । चीनसँगको सम्बन्ध सुधारलाई प्रशंसा गरिए पनि भियतनाम, कम्बोडिया र बङ्गलादेश सम्बन्धी उनको भूमिका माथि धेरै प्रश्नचिन्ह उठाइएका छन् । कतिपय मानवाधिकारका उल्लङ्घनका घटनामा उनले माफी माग्नुपर्ने थियो, तर माफी नमागी यस धर्तीबाट बिदा भए भनेर भन्ने पनि छन् ।
कतिपय सबालमा उनी कट्टर कम्युनिस्ट विरोधी पनि देखिए भने चीनसँगको सम्बन्धमा उनी एक व्यावहारिक कूटनीतिज्ञको रूपमा स्थापित भए । निष्कर्षमा भन्ने हो भने अमेरिकी स्वार्थलाई शीर्षस्थानमा राखेर काम गर्दा धेरै मुलुकमा अन्याय, दमन र अत्याचारको वातावरण निर्माण गर्न उनका नीतिहरूले सघाउ पु¥याएको उनका आलोचकले बताएका छन् । जसका कारण हजारौं मानिसको जीवनलीला समाप्त हुनपुग्यो । जे भए पनि उनी सदैव विश्वजगत्का समस्या अमेरिकी स्वार्थलाई केन्द्रमा राखेर हल गर्न प्रयत्नशील बने र धेरैमा सफलता पनि पाए । उनकै कारण लाखौं मानिसले ज्यान गुमाउनु परेको थियो भनेर आलोचना भएको छ भने उनकै कारणले लाखौं जनताको जीवन जोगिएको पनि छ भनेर उनको सर्वत्र प्रशंसा पनि भइरहेको छ ।