अर्जुनधारामा प्याब्सनको वृहत सांस्कृतिक महोत्सव हुने

0
7

अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा यहि मंसीर २८ र २९ गते नगरस्तरिय प्रतिस्पर्धात्मक वृहत सांस्कृतिक महोत्सव हुने भएको छ ।

नगरपालिकाको केन्द्र एवम् झापा जिल्लाकै ऐतिहासिक बजार अर्जुनधारा–८स्थित शनिश्चरे बजारको खाली क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रमको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्ने मंगलबार सम्पन्न पत्रकार सम्मेलनमा बताइएको छ ।

विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले यस अघि नगरका विभिन्न विद्यालयहरुमा सञ्चालन हुँदै आएको यो प्रतियोगितालाई सबैको आकर्षणका लागि महोत्सवको रुपमा मनाउन पहिलोपटक विद्यालयको क्षेत्र भन्दा बाहिर आयोजना गर्न लागिएको अध्यक्ष रुद्र सिटौलाले जानकारी दिए ।

प्रतियोगिता अन्र्तगत पहिलो दिन कक्षा–१ देखि कक्षा–५ सम्मको सामूहिक नृत्य (आधुनिक), कक्षा–९ देखि कक्षा–१२ सम्मको सामूहिक नृत्य(सांस्कृतिक) र दोस्रो दिन कक्षा–६ देखि कक्षा–८ सम्मको सामूहिक नृत्य(राष्ट्रिय), १२ वर्ष मुनी, १२ वर्ष माथि र कक्षा–११ र कक्षा–१२ सम्मको गायन प्रतियोगिता हुने प्याब्सन अर्जुनधाराका सचिव राजेशकुमार आचार्यले बताए । उक्त प्रतियोगितामा ३१ वटा विद्यालयका नौ सय जना बढी विद्यार्थीको सहभागिता रहने छ ।

प्रतियोगिता अन्र्तगत सबै विधामा प्रथम हुने विद्यार्थीहरुले आगामी पुस १ र २ गते हुने जिल्लास्तरिय प्रतियोगितामा सहभागी हुन पाउने छन् । सोही कार्यक्रममा लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने अर्जुनधारा–९ निवासी लालबहादुर सुब्बा ‘सुब्बा डाक्टर’लाई सम्मानित गरिने बताइएको छ ।

त्यसैगरी उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अर्जुनधारा–८ नं.वडा कार्यालयले संयोजनको भूमिका निर्वाह गर्ने बताइएको छ । अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा–५का वडाध्यक्ष गीताराज खड्का “हरि”, प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतम, सदस्य दीपेन्द्र सुब्बालगायतले कार्यक्रम बारे जानकारी गराएका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेका थिए ।

यता उक्त कार्यक्रमका कारण मंसीर २८ र २९ गते प्याब्सन अन्र्तगतका विद्यालयहरुको पठनपाठन बन्द रहने प्याब्सनका उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here