चम्पापुर माविको ६० औं वार्षिकोत्सव

0
12

सुरुङ्गा ।

कनकाई—६ स्थित चम्पापुर माविको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेत (सीता) को सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नगर प्रमुख नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूले अभिभावकको मन जित्न सफल भएको बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले पछिल्लो सात वर्षको अवधिमा नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षासँगै अभिभावकहरुको मन जित्न सफल भएको बताए । नगरलाई शिक्षाको हब बनाउने सपनालाई साकार बनाउन सबैको सहयोग अनिवार्य रहेको मेयर पोखरेलको भनाइ थियो ।

प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले भावी योजनासहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यस्तै विद्यालयले नर्सरीदेखि पाँच कक्षासम्म यसै शैक्षिक सत्रबाट सञ्चालनमा ल्याएको अङ्ग्रेजी माध्यमको पठनपाठनका बारेमा सहायक प्रधानाध्यापक रुद्रबहादुर थापाले कार्यक्रममा जानकारी गराएका थिए ।

हाल ३ सय ३३ विद्यार्थी रहेको यस विद्यालयको भौतिक र शैक्षिक वातावरणलाई सुरक्षित एवं बालमैत्री बनाउने योजना बनाइएको र विद्यालयमा यसै शैक्षिक सत्रदेखि सुरु गरिएको नर्सरीदेखि कक्षा ५ सम्मको पूर्ण अङ्ग्रेजी माध्यमको कक्षालाई आगामी वर्षमा विस्तार गर्ने बताइएको छ ।

विद्यालयमा स्थापना भएका अक्षयकोषहरुमा क्रमशः पं. भीमप्रसाद तिम्सिना स्मृति अक्षयकोष, स्व.अमरराज+सावित्रा खतिवडा स्मृति अक्षयकोष, कपिल—चन्द्रा—कृष्ण ओली स्मृति अक्षयकोष, वेदकला अक्षय कोष, वेनुप्रसाद उप्रेती स्मृति अक्षयकोष, भीमादेवी उप्रेती स्मृति अक्षयकोष, गोपीलाल + पवित्रा उप्रेती अक्षय कोष, दीपेन्द्र शिवाकोटी स्मृति अक्षयकोष, कोमलराज घिमिरे स्मृति अक्षय कोष, डिल्लीराम खनाल स्मृति अक्षयकोष, तारानाथ®सीतादेवी पोखरेल अक्षयकोषबाट विद्यार्थीहरु पुरस्कृत भएका थिए ।

कार्यक्रममा साविक घैलाडुब्बा गाविसका पूर्व अध्यक्ष बृहस्पति उप्रेती, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष शेरवहादुर थापाले समेत विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् । कार्यक्रममा सेवानिवृत्त शिक्षक लक्ष्मीप्रसाद नेपाल, सुलोचना घिमिरे, रोजन खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापा, वडा नं. ७ का वडाअध्यक्ष भीष्मभूषण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मोहन काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here