देवी माविको वार्षिकोत्सव

0
8

बिर्तामोड ।

देवी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१औँ वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको विद्यालयले विहीवार छात्रवृत्ति, विज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, जग्गादाताको शालिक अनावरण, सांस्कृतिक लगायतका कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयका अवकाश प्राप्त शिक्षक धनबहादुर पोखरेल र दीर्घसेवी शिक्षक बिमला लुइँटेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रमकाबीच जग्गादाता स्वर्गीय खनुपरुदे रामबाबु प्रसाईंको अर्धकदको शालिक अनावरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रम अन्तर्गत गायन तथा नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ४देखि ११ सम्मका ७ जना, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११का २ जना, हाकिमलाल धिमाल स्मृति, लक्ष्मी निरौला स्मृति, पर्शुराम ढकाल स्मृति, ज्ञानुराम प्रसाईं स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ र १२ का एक÷एक जना गरेर आठजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

त्यसैगरी, २०८० सालको कक्षा १२मा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो भने २०७९ सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तीनजनालाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रमको अवसर पारेर दुई दिनअघि सम्पन्न मिनि म्याराथनका बिजेता खेलाडीहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष वनको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रधानाध्यापक अम्बिका श्रेष्ठले प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

कार्यक्रममा जग्गादाता तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष टोरुप प्रसाईं, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईंलगायत नगरका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here