विविधतामै अस्तित्व छ

0
8

नेपाल विविधताको समष्टि रुप हो । जाति, भाषा, संस्कार, संस्कृति र धर्मले जोडेको नेपालीको एकता हाम्रो गौरव पनि हो । त्यहीकारण भनिन्छ ‘एकतामा अनेकता र अनेकतामा एकता नेपालको विशेषता’ हो । भूगोलको विविधताले नेपालको प्रकृतिमा पनि त्यत्तिकै विविधता देखाएको छ । त्यही भूगोलले भिन्न–भिन्न जातिलाई समेटेको छ, जसको भाषामात्र होइन जीवन पद्धतिमा भिन्नता छ । हिमाल, पहाड, तराई र उपत्यकामा विभक्त हाम्रो भूगोलभित्र त्यत्ति नै धेरै जातिको बसोबास छ र ती सबैले नेपाल र नेपालीकै प्रतिनिधित्व गर्छन् ।

राष्ट्रनिर्माता वडामहाराज धिराज पृथ्वीनारायण शाहको दिव्य सन्देशमा पनि त्यही अनेकताभित्रको एकता झल्किन्छ । त्यहीकारण भनिएको हो नेपाल विभिन्न प्रजाति, रंग र विशेषता भएका फूलहरुको संगमथलो हो । नेपालको दक्षिणी–पूर्वी भागमा अवस्थित झापा र मोरङ त्यस्तै सुन्दर संस्कृतियुक्त नेपालीको थलो हो । यहाँ बस्ने मुख्यबासीहरुमा राजवंशी, धिमाल जाति छन् । बेग्लै भाषा पहिरन, संस्कार र संस्कृतिका धनी उनीहरुले आजको दिनलाई भाक्का दिवसका रुपमा मनाउने गरेका छन् । आदिवासी समुदायको जातीय परिकारका रुपमा घर–घरमा विशेषगरी जाडोको समयमा बनाइने र खाने यो परिकार अहिले नेपालकै पहिचान बन्दै गएको छ ।

उत्सवका रुपमा मनाउन थालिएको भाक्का दिवस झापाको भद्रपुर र बिर्तामोडमा भव्य रुपले मनाउने तयारी भएको छ । राजवंशी समाज विकास समिति झापाले आयोजना गर्ने दिवसमा मौलिक परिकारको पहिचान स्थापित र प्रवद्र्धन गर्ने उद्देश्य लिइएको आयोजकको भनाइ छ । स्वास्थ्यका दृष्टिले समेत सुरक्षित र स्वादका हिसाबले मीठो यो परिकारले अहिले राष्ट्रव्यापी पहिचान बनाएको छ । यस्ता थुपै्र पर्व, संस्कार र संस्कृतिको अद्वितीय थलो नेपाल र हामी नेपालीको यस्ता विशेषताहरुको प्रवद्र्धनमा राज्यले नै पहल गर्नुपर्छ । ती सबै विविधता र विशिष्टताको अस्तित्व रक्षा र विस्तार हुन सके देश र नेपाली जातिको गौरव अझै उच्च बनाउन सकिन्छ । भाक्का दिवस भव्य र सफलतापूर्वक सम्पन्न होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here