महारानीगञ्जमा अन्तर मावि नकआउट फुटबल प्रतियोगिता शुरु

0
12

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयमा मंगलबारदेखि प्रथम कृष्णप्रसाद डाँगी स्मृति अन्तर माध्यमिक विद्यालय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

विद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा विद्यालय अन्र्तगत रहेको बाल क्लबको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी थिइन् ।

हाल अमेरिकामा रहेका स्थानीय अरुणकुमार डाँगी प्रायोजक रहेको प्रतियोगितामा महारानीगञ्ज मा.वि.सहित लक्ष्मी मा.वि., शनिश्चरे मा.वि., सिंहदेवी मा.वि., भानु मा.वि., अर्जुनधारा मा.वि., जनता मा.वि. र कालिस्थान मा.वि.को सहभागिता रहने प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । यहि माघ १५ गते फाइनल खेल हुने प्रतियोगिताका विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश २० हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी प्रतियोगिताको लागि अर्जुनधारा–११का वडाध्यक्ष खगेन्द्रप्रसाद इङनामबाट ५० कार्टुन पानी र झापा जिल्ला फुटबल संघबाट दुई थान फुटबल विद्यालयलाई प्राप्त भएको बताइएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मगरले विद्यालयलाई ४० थान टिसर्ट प्रदान गरेकी थिइन् ।

कार्यक्रममा वडाध्यक्ष इङनाम, निवर्तमान वडाध्यक्ष भैरवबहादुर खड्का, विद्यालयका निवर्तमान अध्यक्ष रोहितमान ढकाल, प्रायोजक परिवारका सदस्य खगेन्द्रप्रसाद डाँगीलगायतले मन्तव्य राखेका थिए । शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक मणिलाल खड्काले गरेका थिए ।

यसैबिच सोही दिन सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा महारानीगञ्ज मा.वि.लाई ०–४ गोल अन्तरले पराजित गर्दै लक्ष्मी मा.वि. विजयी भएको छ । लक्ष्मी मा.वि.को जितका लागि खेलको १९औं मिनेटमा प्रकाश रसाइली, २५औं मिनेटमा पवन कुलुङ राई, ३७औं मिनेटमा सन्तोष मुसहर र ५८औं मिनेटमा मञ्जित राईले गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी घोषित पवन कुलुङ राईलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”ले नगद पुरस्कार एक हजारबाट पुरस्कृत गरेका थिए । भोलि (बुधबार)को खेल शनिश्चरे मा.वि. र सिंहदेवी मा.वि.बिच हुने शिक्षक प्रदीप बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here