शिक्षकलाई दलीय राजनीतिबाट टाढा राख

0
7

सरकारको नीतिका कारण पछिल्लो देशभरका सात सय २९ वटा विद्यालय बन्द भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पछिल्लो तीन वर्षमा देशभरका १२ सयभन्दा बढी विद्यालय समायोजन भएको जनाएको छ । अभिभावकहरू छोराछोरी पढाउन कै लागि राम्रा स्कूलको खोजीमा शहरतिर सर्ने क्रम बढेकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जान थालेपछि सरकारले समायोजनको नीति ल्याएको हो । यसो गर्दा सात सयभन्दा बढी विद्यालयको भौतिक संरचना रित्ता भएका छन् । अहिले देशभरमा २७ हजारको हाराहारी सामुदायिक विद्यालय छन् । शहरमा बढ्दा रोजगारको अवसर पनि पाइने र छोराछोरीलाई गुणस्तरीय शिक्षा पनि दिन पाइने लोभले धेरै विद्यालयहरूमा विद्यार्थी अभाव भएर समायोजनमा जानु परेको शिक्षा मन्त्रालयको भनाइ छ ।

त्यसो त सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा कमजोर व्यवस्थापन, शिक्षकहरू राजनीतिमा लाग्ने, कक्षा नलिने जस्ता कारण पनि विद्यालय समायोजनमा जिम्मेवार छन् । शिक्षाविद् विद्यानाथ कोइरालाको विश्लेषण अनुसार शिक्षक वेइमान भएकै कारण विद्यार्थी गुणस्तर खस्किँद हो । शिक्षक स्कूल र विद्यार्थीको नभएर दलको भए । नपढाए पनि तलब सुबिधा पाउने भएपछि नियमित कक्षा लिन छाडे । जसका कारण पढाइ कमजोर भयो र अभिभावकको सामुदायिक विद्यालयप्रतिको विश्वास गुम्दै गएकाले यस्तो अवस्था आएको उनको ठम्याइ छ । देशको जनसंख्या प्रत्येक वर्ष बढ्दै गएको छ, विद्यालयको पहुँचबाट बाहिर रहने बालबालिकाको संख्या पनि घट्दै गएको छ । यस्तो अवस्थामा विद्यार्थीको चाप पनि बढ्नुपर्ने हो । तर, ठीक उल्टो अवस्था देखिएकोले सम्बद्ध पक्षले गहिरो समीक्षा गरेर निदान खोज्नुपर्छ ।

सामुदायिक विद्यालयको स्तर खस्किनुमा शिक्षासँग सम्बद्ध पक्ष, शिक्षक, व्यवस्थापन समिति, अभिभावक र शिक्षा कर्मचारी सबैले आ–आफ्नो कमजोरी छ भन्ने स्वीकार्नुपर्छ । सरकारले पनि असल नियत राखेर गुणस्तरीय शिक्षाको वातावरण बनाउनुपर्छ । शिक्षालाई व्यापार ठान्ने मानसिकताबाट अलग राख्नुपर्छ । शिक्षामा गरिने खर्च लगानी होइन त्यो भविष्यको सञ्चिति हो । त्यसैले समायोजनका नाममा विद्यालय बन्द गरेर निकाश खोज्नुभन्दा विद्यार्थी टिकाउने कार्यक्रम ल्याउनु पर्छ । नियमित अनुगमन गरेर शिक्षक, व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षणको दायरामा ल्याउनुपर्छ । अभिभावकमा अंग्रेजी शिक्षाप्रति बढ्दै गएको मोह सामुदायिक विद्यालयबाट पनि पूरा गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । अनि मात्र शहर केन्द्रित मानसिकतामा परिवर्तन ल्याउन सकिन्छ । जसका लागि विद्यालय क्षेत्र र शिक्षकलाई दलीय राजनीतिबाट अछुतो बनाउनुपर्छ । अन्यथा गुणस्तरीय र सबैका लागि शिक्षा नारामै सीमित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here