आवश्यक रकम अभावमा ज्याङ्छुप छ्योङलिङ गुम्बा निर्माणाधीन अवस्थामा

0
10

अमित खम्बू,
अर्जुनधारा।

गुम्बा निर्माणमा आवश्यक रकम अभाव भएपछि झापाको अर्जुनधारा–१ मदनपुरस्थित ज्याङ्छुप छ्योइलिङ गुम्बा हाल निर्माणाधीन अवस्थामा रहेको छ ।

बौद्धमार्गीहरुलाई जन्मदेखि मृत्यु संस्कार सम्म आवश्यक लामा गुरु सहजरुपमा उपलब्ध गराउन तथा स्थानीयस्तरमा लामा उत्पादन गर्ने उद्देश्यले २०७५ सालदेखि निर्माण कार्य शुरु भएको उक्त गुम्बा निर्माणाधीन अवस्थामा रहेको हो ।
२०७४ साल चैत १९ गते गुम्बा व्यवस्थापन समिति दर्ता भएपछि गुम्बा निर्माण गर्न स्थानीय जग्गादाताहरु सलबहादुर गोले तामाङ, सन्तबहादुर गोले तामाङ, सरस्वती सिटौला गोले तामाङ र खड्गबहादुर गोले तामाङको परिवारबाट चार कठ्ठा जमिन समितिलाई निःशुल्क प्राप्त भएको थियो ।

तत्कालिन् नगर प्रमुख हरिकुमार रानाको कार्यकालमा दुई पटक गरि छ लाख रुपैयाँ, प्रदेश सभा सदस्य वृख प्रधानबाट पाँच लाख रुपैयाँ र स्थानीयस्तरमा संकलन गरिएको दुई लाख ५० हजार रुपैयाँ गरि जम्मा १३ लाख ५० हजार रुपैयाँ निर्माणाधीन गुम्बामा खर्च भएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर गोले तामाङले जानकारी दिए ।

हाल दुई तलाको भवन मात्र निर्माण भएको उक्त गुम्बाको पूर्णरुपमा निर्माण कार्य सम्पन्न गर्न अनुमानित ५० लाख रुपैयाँ लाग्ने नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराका अध्यक्ष वृखबहादुर गोले तामाङले बताए । उनका अनुसार आवश्यक रकमबाट भवनको फिनिसिङ, झ्यालढोका जडान, रंगरोगन, गजुर, दुई वटा मृग, बुद्ध चक्र, बुद्ध लोगो, तीन फिट लामो तीन वटा बुद्धको मूर्ती स्थापना आदि कार्य सम्पन्न गर्नुपर्ने बताइएको छ ।

अर्जुनधारा नगरपालिकाको चौथो सार्वजनिक गुम्बाको पहिचान बनाउन सफल उक्त गुम्बा पूर्णरुपमा सञ्चालनमा आएपछि अर्जुनधारा–१सँगै छिमेकी वडामा बसोबास गर्ने दुई सय घरधुरी भन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

आगामी दिनमा गुम्बाको गुरुयोजना निर्माण गरि गुम्बा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको लक्ष्य रहेको छ ।

यसैबीच हाल निर्माणाधीन अवस्थामा रहेको गुम्बा निर्माण सहयोगार्थ यहि माघ २० गते शनिबार वृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।

सोनाम ल्होछार २८६०लाई लक्षित गरि नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा र गुम्बा व्यवस्थापन समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिने मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

वृहत सांगीतिक कार्यक्रममा राष्ट्रिय कलाकारद्वय रचना रिमाल र आसमान लोप्चनसँगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम मूल आयोजक समारोह समितिका सहसंयोजक चक्र तामाङले जानकारी दिए । प्रवेश शुल्क निःशुल्क गरिएको कार्यक्रमबाट अनुमानित १२ लाख रुपैयाँ संकलन गर्ने र तीन लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको दावी छ ।

त्यसैगरी माघ १९ गते शुक्रबार स्थानीय मदनपुर खेलमैदानमा भेट्रान्स फुटबल प्रतियोगिता र गुम्बा क्षेत्रमा लामा गुरुहरुबाट विशेष पूजाअर्चनासहित साँझ धार्मिक प्रवचन हुने बताइएको छ । नेपाल तामाङ घेदुङ संघ अर्जुनधाराका अध्यक्ष वृखबहादुर गोले तामाङको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सहसचिव धनबहादुर तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here