अरुका आँखाबाट होइन, लेनिनलाई लेनिनबाटै बुझौं

0
11

रुसको ठूलो नदी भोल्गाको किनारमा रहेको सिम्बिस्र्क शहरमा सन् १८७० अप्रिल २२ मा जन्मिएका भ्लादिमिर इल्यीच उल्यानोभ नै विश्व सर्वहारा वर्गका महान् नेता लेनिन हुन् । उनलाई सबैभन्दा मन पर्ने रुसको लेना नदीको नामबाट उनले आफ्नो नाम लेनिन राखे र त्यही नामबाट उनी विश्वप्रसिद्ध भए । उनले रुसमा कम्युनिस्ट पार्टीको गठन गरेर रुसलाई सोभियत रुसमा बदल्ने समाजवादी क्रान्तिको शुरुवात गरे, त्यसको नेतृत्व गरे, विजय प्राप्त गरेर सोभियत संघ निर्माण गरे र उनी सोभियत रुसका राष्ट्रपिता बनेका थिए ।

२१ जनवरी १९२४ मा लेनिनको निधन भएको थियो । लेनिनले गरिखाने वर्गको आन्दोलन र सङ्गठनका लागि क्रान्तिकारी सिद्धान्त प्रतिपादन गरे, जसले क्रान्तिकारी सिद्धान्तमा आधारित नयाँ ढङ्गको पार्टी निर्माणको नेतृत्व गरे र विशिष्ट ऐतिहासिक परिस्थितिमा सोही अनुरूपका नीति अङ्गीकार गरी समाजवादी क्रान्तिको अगुवाइ गरे । संसारभरिका सर्वहारा–श्रमजीवी वर्गले लेनिनलाई भौतिक रूपमा बिदाइ गरेको आज ठीक सय वर्ष पुगेको छ । यो वर्ष लेनिनको निधन भएको शताब्दी वर्ष हो । लेनिनको नेतृत्वमा स्थापित समाजवादी व्यवस्थाले सबै किसिमका आर्थिक, राजनीतिक र सांस्कृतिक असमानताको अन्त्य गर्ने उन्नत थिति बसाएको थियो । सबैलाई रोजगारी दिने परिपाटी बनाएको थियो । राष्ट्रियताको मुद्दा र जातीय विभेदको हल गरेको थियो । महिला र पुरुषबीचको असमानता अन्त्य गर्ने कदम चालेको थियो । शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाएको थियो । र, गरिखाने वर्गलाई सस्तो दरमा अत्यावश्यक वस्तु उपलब्ध गराएको थियो ।

सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रान्तिकारीहरूले गरेको अक्टोबर क्रान्ति, समाजवादी सोभियत सङ्घको स्थापना, समाजवादी कार्यक्रमहरूको सफलता र अकल्पनीय कीर्तिमानहरूले संसारभरिका श्रमजीवी वर्ग तथा उत्पीडित समुदायमा सर्वहारावर्गीय राज्य र समाजवादप्रति व्यापक आकर्षण पैदा गरेको थियो । लेनिनको सन्देश सर्वहारा वर्गको नेतृत्वमा किसान र मजदुरको साथमा बलियो शक्ति निर्माण गर्न सकिन्छ । राज्यसत्ता वर्गीय हुन्छ । सत्ताले विरोधी वर्गलाई दमन गर्छ भने नै हो । लेनिन विख्यात राजनीतिज्ञ र सच्चा माक्र्सवादी थिए । लेनिनले उग्र वामपन्थी विचारलाई ‘कम्युनिष्ट आन्दोलनको बालरोग’ भनेर भनेका थिए ।

यही क्रममा उनले माक्र्सवादको विकास गर्दै लेनिनवादको प्रतिपादन गरे । माक्र्सवादका तीन सङ्घटक अङ्ग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा उनले योगदान गरे । साथै सर्वहारा वर्गको ऐतिहासिक भूमिका, किसानहरू र अन्य श्रमिक वर्गका जनतासँग सर्वहारा वर्गको सम्बन्ध, सर्वहारा अधिनायकवाद र यसका रूपहरू, सर्वहारा राज्यको प्रजातान्त्रिक सारतत्व, भूमि समस्या र जातीय मुक्तिको प्रश्न आदि विषयमा माक्र्सवादलाई नयाँ र विकसित सिद्धान्तको रूपमा समृद्ध गरे उनले । लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको, पुँजीवादको पतन, औपनिवेशिक व्यवस्थाको उन्मूलन तथा राष्ट्रिय मुक्ति आन्दोलनको विजयको युगको नयाँ दर्शनको रूपमा विकसित भयो ।

रुसमा उनको समयमा खुलारूपमा राजनीतिक प्रतिष्पर्धा गर्न त्यहाँका माक्र्सवादीहरुलाई पूरै रोकटोक थियो किनभने त्यहाँ जारशाहीतन्त्र थियो । त्यहाँ माक्र्सवादी लगायत अन्य उदारवादी पार्टीहरुलाई खुला रूपमा काम गर्ने अवस्था थिएन । सन् १९०५ को असफल क्रान्तिपश्चात् गठन गरिएको प्रतिनिधि सभा ‘दुमा’मा उपस्थितिको लागि राखिएका शर्तहरूले लोकतान्त्रिक प्रतिनिधित्वको ढोकामार्फत प्रवेश गर्न पार्टीहरूलाई त्यति सजिलो थिएन र त्यहाँ ट्रेड युनियनहरू माथि पनि बन्देज लगाइएको थियो । जारशाही सेन्सर तथा जासुस पुलिसहरूलाई छलेर केवल भूमिगत रूपमा मात्र राजनीतिक गतिविधि सञ्चालन गर्ने अवस्था थियो । त्यही अवस्थामा लेनिनले सर्वहारावर्गको भ्यानगार्ड, पेशेवर क्रान्तिकारीहरूको नेतृत्वमा आधारित पार्टी ढाँचा तथा रुसी सामाजिक जनवादी मजदुर पार्टीभत्र बोल्सेभिक र मेन्सेभिकहरूका गुटगत विभाजनबारे आफ्ना मत राखे ।

लेनिनको अवधारणाले उग्र केन्द्रीयता र अधिनायकवादी नेतृत्वको जन्म दिने आधार तयार पार्छ भनेर पनि आलोचना गरिएको छ र क्रान्तिकारी शुद्धताको नाममा त्यसले कम्युनिष्ट पार्टीलाई जनताबाट कटिएको एउटा सानो गुटमा परिणत गर्छ भनेर उनको विचारको प्रतिवाद गरिएको छ । अवसरवादबिरुद्धको सङ्घर्षलाई पार्टीभित्रै बौद्धिक सङ्घर्षको रूपमा सञ्चालन गर्ने कि सङ्गठनात्मक स्तरमा त्यसको समाधान खोजिने ? यो विषयमा आज पनि वादविवाद कायम छ । लेनिनको विचारमा अवसरवाद एउटा आम प्रवृत्ति थियो जसले मजदुर आन्दोलन पथभ्रष्ट बनाउँदै क्रान्तिमा नै अवरोध सृजना गर्ने काम गर्दछ र त्यसैकारण सङ्गठनात्मक रूपमा नै यस अवसरवादी प्रवृत्तिबिरुद्ध सङ्घर्ष चलाउनुपर्छ, चाहे त्यो पार्टी फुटको माध्यममार्फत नै किन नहोस् । निर्णायक शक्ति आम सर्वहारावर्ग र तिनको चेतनशील सामुहिक सङ्घर्षलाई मान्ने उनको विचारलाई अपव्याख्या गर्दै सानो षड्यन्त्रकारी झुण्ड बनाएर त्यसको नेतृत्व गोप्यता, अतिकेन्द्रीकरण र तानाशाहीमा सञ्चालन गर्ने उनको इरादा थियो भनी आलोचना भएको हो ।

लेनिनको प्रमुख जोड सर्वहारा वर्गको पार्टी अन्य बुर्जुवा पार्टीभन्दा पूर्णतः फरक हुन्छ भन्नेमा थियो । उनले पूर्ण राजनीतिक स्वतन्त्रता कायम गर्न पार्टी भित्रकै विभिन्न अवसरवादी, सुधारवादी तथा उग्रवामपन्थी भड्कावहरूका बिरुद्ध निरन्तर सङ्घर्ष चलाउनु आवश्यक हुन्छ भन्ने विचार राखेका थिए । उनले बोल्सेभिक पार्टीको स्थापना गरे । बोल्सेभिक पार्टीको निर्माणपछि यसले जमिन्दार र पुँजीपतिहरूको सत्ता कब्जा गर्न एवम् समाजवादको निर्माण गर्न रूसी मजदूर वर्ग र सम्पूर्ण श्रमजीवीहरूलाई जगाइरहेको थियो । लेनिन र उनका साथीहरूद्वारा गठन गरिएको बोल्सेभिक पार्टी विश्वका सम्पूर्ण कम्युनिस्ट तथा श्रमिक पार्टीहरूका लागि एउटा नमूना बन्न पुग्यो । मजदुरहरूको मुक्तिको लागि प्रयास गरिरहेका रूसी माक्र्सवादीहरू पनि उनको साथमा थिए, जो जारशाहीको अत्याचारका कारण देश बाहिर बसेका थिए ।

माक्र्सवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ विधि र प्रक्रिया तयार पारेर लेनिन अगाडि बढेका थिए । उनले माक्र्सवादको कार्बनकपी अर्थात् अन्धानुकरण गरेनन्, माक्र्सवादी सिद्धान्त र त्यसले बोकेको मर्मबमोजिम त्यसको विकास र समृद्धीकरणमा आफूलाई होमे । ‘राज्य र क्रान्ति’, ‘के गर्ने ?’, ‘साम्राज्यवाद पुँजीवादको उच्च अवस्था’ जस्ता पुस्तक लेनिनका कालजयी रचना हुन् । उनले आफ्नो जीवन नै क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए । क्रान्ति गर्ने वा खोज्ने कामका लागि सबैलाई लेनिनको औचित्य सदैव रहिरहन्छ । उनको विचारमा जनताबाट अलगथलग हुने दल टिक्दैन ।

नेपालको संविधान २०७२ मा मुलुकलाई समाजवादी चरणमा लैजाने प्रतिबद्धता व्यक्त भए अनुरूप नेपालका दलहरू क्रियाशील छन् । नेपाली काङ्गे्रस आफूलाई माक्र्सवादी मान्छ, तर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी आफूलाई माक्र्सवादी र लेनिनवादी दुवै मान्छन् । तसर्थ, विश्व समाजवादी आन्दोलनका प्रभावशाली सिद्धान्तकार लेनिनको सान्दर्भिकता नेपालमा अझ बढेर गएको छ यतिबेला । मुलुकमा दिगो र स्थायी शान्ति स्थापना गर्न राष्ट्रियता, जनतन्त्र र जनजीवीकासँग सम्बन्धित समस्यालाई हल गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा लाग्नुपर्छ । अरुले भनेको वा लेखेको आधारमा लेनिनको मूल्याङ्कन गर्ने होइन, लेनिनकै कृति र उनका जीवनका गतिविधिहरूको अध्ययन गरेर लेनिनलाई बुझौं ।

रुसमा माक्र्सवादलाई लागू गर्ने र त्यसलाई समृद्ध गर्ने काममा लेनिनले जीवनको अत्यन्त ठूलो ऊर्जा खर्चिएका थिए । उनले माक्र्सवादलाई समृद्ध गर्ने क्रममा लेनिनवादको समेत प्रतिपादन गर्न पुगे । नेपाली नेताहरु र विशेष गरी कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने नेताहरु खुट्टा अनुसारको जुत्ता बनाउनेभन्दा पनि जुत्ता अनुसारको खुट्टा काट्न कोशिस गर्छन् । ठोस परिस्थितिको ठोस विश्लेषण गरी क्रान्तिको कार्यक्रम निर्माण गर्नु र सो कार्यक्रमलाई व्यवहारमा लागू गर्नु आवश्यक हुन्छ । नेपाली हावापानी र परिवेश अनुसारको क्रान्तिको कार्यक्रम निर्माण गर्ने कुरामा नेपाली नेताको कम अध्ययन छ र यस बारेमा त्यति धेरै बहस भएको पनि छैन ।

नेपाली इतिहास, अर्थव्यवस्था, भूमिव्यवस्था, शिक्षा प्रणाली, कानूनी व्यवस्था आदिको यथार्थ अध्ययन गरी त्यसको आधारमा क्रान्तिका कार्यभार प्रष्ट गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रमिक योजना निर्माण गर्दा सबै प्रकारका अन्धता र जडताबाट मुक्त हुन सजिलो हुने र छोटो अवधिमै मुलुकको मुहार फेरिने थियो । तर, यो कुरालाई हाम्रा नेताहरुले बुझ्ने कहिले ? लेनिनको अध्ययनशीलता, सादगीपन, सदैव जनताको भलो चिताउने, व्यक्तिगत स्वार्थलाई कहिल्यै ध्यान नदिने जस्ता अनुशरणीय गुणहरू थिए । लेनिनप्रतिको बुझाइलाई पुनर्परिभाषित गर्न जरुरी छ । माक्र्स र लेनिनका सबै कुरा हुबहु नेपालमा लागु हुन सक्दैनन् । मुलुकलाई बदल्न नेपालका लागि सिक्न आवश्यक कुरा सन्दर्भका रूपमा ग्रहण गर्न आवश्यक छ । पाखण्ड होइन, यथार्थलाई बुझौँ, जडता होइन, सृजनशीलतालाई रोजौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here