प्रविधिमैत्री शिक्षामा जोड दिने उद्देश्यले एसएस निकेतनमा इ-ल्याब

0
8

भद्रपुर ।

भद्रपुर-८ स्थित एसएस निकेतन अंग्रेजी विद्यालयले इ ल्याब सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षामा जोड दिने उद्देश्यले विद्यालयमा सञ्चालनमा ल्याएको इ ल्याबको उद्घाटन शुक्रबार एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गरेका हुन् ।

विद्यार्थीलाई सजिलो र सरल प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ३० लाख लागतमा इ ल्याब सञ्चालनमा ल्याएको विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले जानकारी दिए । ल्याबमा ३५ वटा ल्यापटप राखिएको छ । कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुने प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

अहिलेको डिजिटल युगमा विद्यार्थीहरूलाई सोही अनुसारको शिक्षण सिकाई आवश्यक रहेको बताउँदै प्रिन्सिपल श्रेष्ठले भने, इ ल्याबसँगै स्मार्ट बोर्डको अवधारणामा पनि विद्यालय अघि बढिसकेको छ । निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नु पर्नेमा यस विद्यालयले १८ प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आइरहेको उनको भनाई छ ।

मासिक शुल्कका कारण अहिलेसम्म यहाँ अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनबाट वञ्चित गरिएको छैन, त्यही कारणले कुनै विद्यार्थी विद्यालय छाडेर पनि नगएको उनले प्रस्टाए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले यो प्रविधिको युगमा यस विद्यालयको इ ल्याबले दक्ष जनशक्ति उत्पादन हुनेमा विश्वास लिएको बताए ।

एसएस जस्तै अरू विद्यालयले पनि प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने उनको भनाई छ । नगर क्षेत्रका सामुदायिक र निजी विद्यालयसँग नगरपालिका हातेमालो गरेर दक्ष विद्यार्थी उत्पादन गर्ने अभियानमै लागि परेको उनले बताए । सामुदायिक र निजी भन्दै नगरपालिकाले विभेद नगरेको उनले प्रस्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here