विवेकको मत प्रयोग गरौं

0
9

बिर्तामोड पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । यसको इतिहास निर्माण प्रारम्भ भएको पाँच दशक मात्रै भएको छ । तर, छोटो समयमै बिर्तामोडले आर्थिक कारोबारका दृष्टिले झापाको प्रमुख केन्द्र बन्ने अवसर प्राप्त गरेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको रेखाङ्कनसँगै शुरु भएको आवादी बढ्दै जाँदा बिर्तामोड अहिले उच्च जनघनत्व भएको शहर भएको छ । उत्तर–दक्षिण मेची राजमार्गले पूर्वी सीमान्त पहाडी जिल्ला ताप्लेजुङलाई जोडेपछि त्यहाँका कृषि उत्पादनले बजारीकरणको सुविधा पाउँदा बिर्तामोडको समेत चहलपहल बढ्दै गयो । बिस्तारै व्यापारीहरुको आगमन हुन थाल्यो र अहिले वाणिज्य संघबाट प्रारम्भ भएको व्यावसायीक संगठन उद्योग वाणिज्य संघमा रुपान्तरण हुन पुगेको छ ।

वर्गीय हित र सुरक्षाका लागि स्थापित वाणिज्य संघले तदर्थ समिति हुँदै अहिले वैधानिक तथा संगठीत संस्थाको प्रतिष्ठा आर्जन गरेको छ । प्रत्येक तीन वर्षमा यसको नेतृत्व परिवर्तन हुन्छ र नेतृत्व पेशागत हित, पेशाकर्मीको सुरक्षा, स्थानीय सेवासुविधा विस्तार हुँदै राष्ट्रिय समृद्धिमा योगदान दिन्छ, दिनुपर्छ र कमबेस दिएको पनि छ । भर्खरै विकास भएको संघले स्थानीय आवश्यकताको परिपूर्तिका निमित अतिथि सदन निर्माण गरेर पहिलो जिम्मेवार सामाजिक संस्थाको परिचय बनाएकै हो । बिर्तामोडको भौतिक विकासमा आफ्नो तर्फबाट उल्लेख्य भूमिका र योगदान दिएको संघले आज नयाँ नेतृत्वको चयन गर्दैछ । पाँच हजारभन्दा बढी मतदाताहरुले आफ्नो मत प्रकट गरेका मध्ये सर्वाधिक मत प्राप्त गर्ने निर्वाचित हुने नै छन् । मतदाताको सचेतताले मात्रै सक्षम, सबल र क्षमतावान नेतृत्व चयन हुने हुँदा यसखेर मतदाता नै बढी गम्भीर हुनुपर्छ ।

विकास निरन्तरको प्रक्रिया हो । त्यही प्रक्रियामा संघले पनि भौतिक प्रगति गरेको छ । तर, यो व्यावसायीक हुनुको साटो विचारको संगठन हुन थालेको आरोप लाग्ने गरेको छ । स्थानीय तथा सामाजिक आवश्यकतामा समेत जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गरेको यो संस्थाका अघि सार्वजनिक शौचालय निर्माणको चुनौती यथावत छ । कोभिडले थिलथिलो भएको आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने दायित्व पनि उसकै हो । उद्योगी तथा व्यवसायीको हितको रक्षा गर्दै उनीहरुलाई आर्थिक मन्दीको चपेटाबाट जोगाउन स्थानीय सरकारसँग सहकार्य गरी अघि बढ्ने चुनौती पनि कायम छ । आर्थिक मन्दी कै चपेटामा परेर कतिपय उद्योगहरु बन्द भएका छन् भने कति पलायन भइसकेका छन् । त्यसैले अबको नेतृत्व विचारभन्दा निष्ठा, प्रभावकारिता, अग्रसरता र निष्पक्षताबाट सञ्चालित हुन सक्नु पर्दछ ।

निर्वाचन प्रजातन्त्रको आधार स्तम्भ हो । त्यसैले यसको उपयोग गर्न मतदाताले चुक्नु हुँदैन । मतदानलाई ‘महादान’ भनिन्छ, जसका माध्यमबाट प्रतिनिधि चयन गरिन्छ । त्यसैले इच्छा राख्ने उम्मेदवार भएकामध्ये व्यवसायीको हितमा विगतदेखि नै योगदान दिएका, आफ्ना गाह्रा–अप्ठ्याराहरुमा साथ दिएका, मतदाताहरुका व्यक्त–अव्यक्त पीडाहरुमा साथ र सहयोग गर्न सक्ने व्यक्तिलाई मतदान गर्न विवेकको प्रयोग गर्नुपर्छ । अनि मात्र संस्थाले निर्दिष्ट लक्ष्य प्राप्त गर्न सक्छ र विद्यमान समस्या र चुनौतीको निकास सम्भव हुन्छ । बिर्तामोडका समस्त उद्योगी व्यवसायीलाई त्यस्तो विवेक प्राप्त होस्, शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here