झापामा सहिदका परिवारलाई सम्मान

0
6
बनियानी (झापा),
झापामा सहिद तथा बेपत्ता भएकाहरुका परिवारलाई सहिद स्मृति दिवसका अवसरमा सम्मान गरिएको छ । सहिद स्मृति प्रतिष्ठान नेपाल, झापाले आज बिर्तामोडस्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको सभा हलमा सहिद स्मृति कार्यक्रमको आयोजना गरी सहिद तथा बेपत्ता भएका ८४ जनाका परिवारलाई सम्मान गरिएको हो ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले सहिद तथा बेपत्ता भएकाहरुका परिवारका सदस्यलाई सम्मान गर्नुभयो । कार्यक्रममा उहाँले सहिद परिवारका सदस्यलाई राहत र सहयोगका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । “सहिद तथा बेपत्ता भएकाहरुका परिवारलाई प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरेको छ”, मन्त्री कार्कीले भन्नुभयो ।
सहिद तथा बेपत्ता परिवारलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सहिद र बेपत्ताको योगदानले मुलुकमा परिवर्तन सम्भव भएको बताउँदै उहाँले भन्नुभयो, “उनीहरुको योगदानलाई गौरव र सम्मान गर्नुपर्छ, सहिदले देखेको सपनाबाट कोही पनि विचलित हुनु हुँदैन ।”
कार्यक्रममा सहिद भएकाहरुका परिवारका सदस्य रत्न घिमिरे र लालसुन्दर राईले सरकारले सहिदका परिवारलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले सहिदको बलिदानीले व्यवस्था परिवर्तन भए पनि अवस्था नफेरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here