महाशिवरात्रीका दिन भद्रपुरमा महाआरती

0
7

भद्रपुर।

महाशिवरात्रिका दिन भद्रपुरमा पहिलो पटक महाआरती हुने भएको छ । भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपञ्चायन मन्दिर समावेशी धाममा फागुन २५ गते साँझ ६ बजे महाआरती गर्न लागिएको हो ।

धाम निर्माण तथा व्यवस्थापनको आयोजना तथा जमदारचोक युवा परिवारको सहआयोजनामा महाशिवरात्री सांगीतिक भजन साँझ तथा महाआरती गर्न लागेको बारेमा सोमबार पत्रकार सम्मेलन गरी जनाइएको छ । पशुपतिनाथ मन्दिरमा हुने जस्तै महाआरती गर्न लागिएको र त्यसका लागि चाहिने सामग्री भारतको बनारसबाट मगाइएको समितिका अध्यक्ष सरोज निरौलाले जानकारी दिए ।

हाम्रो प्रतिबद्धता : धार्मिक समावेशिता, सामाजिक सहष्णुता भन्ने नाराका साथ भद्रपुरमै पहिलो पटक हुन लागेको यस्तो धार्मिक कार्यक्रम सफल बनाउन धार्मिक व्यक्तित्वहरुबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष निरौलाले बताए । महाआरतीपश्चात धार्मिक वक्ताबाट शिव महिना वाचन हुनेछ भने सांगीतिक साँझ अन्तर्गत पुष्पन प्रधान र कृपा पौडेलले संगीतमय भजन गाउने उनले बताए ।

‘अहिले हामीसँग कार्यक्रम गर्ने पैसा छैन’ –अध्यक्ष निरौलाले भने– ‘सबैको सहयोगले कार्यक्रम सभ्य र भव्य हुने विश्वास लिएका छौं ।’ कार्यक्रमका लागि स्टेज निर्माण, रंगरोगन लगायतका काम तीव्रगतिमा भइरहेको छ । कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ अनुमानित खर्च हुने जनाइएको छ । जमदारचोक युवा परिवारका अध्यक्ष पदम अधिकारीले खर्च व्यवस्थापनका लागि देश–विदेशमा रहेका विभिन्न दाताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिरहेको बताए ।

धामको प्रचार–प्रसार र चौतर्फी विकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाइ छ । २०६० सालमा महाशिवरात्रीकै दिन स्थापना गरिएको मन्दिरले प्रत्येक बर्ष यसै दिन विविध धार्मिक कार्यक्रम गर्दै आइरहेको छ । करिब छ कठ्ठा क्षेत्रफलमा रहेको मन्दिरलाई धामको रुपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको व्यवस्थापन समिति उपाध्यक्ष गोपालकृष्ण भट्टराईले बताए ।

मन्दिर परिसरमा बहुउपयोगी सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । सरकारको सहयोगमा भवनको आधार (बेस) र पिलर उठाइएको छ । भवनलाई पूर्णता दिन संघ, प्रदेश र स्थानीय सरकार समक्ष पहल भइरहेको छ भने स्थानीय मनकारी दाताहरुको साथ समेत खोजिँदैछ ।

गुरुकूल सञ्चालनको लक्ष्य लिएको धाममा हाल छ वर्षदेखि १५ वर्षसम्मका ४० जना बालबालिकाले नैतिक र आध्यात्मिक शिक्षा समेत लिइरहेका छन् । पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका कोषाध्यक्ष अम्बरबहादुर अधिकारी, युवा परिवारका सूर्यबहादुर अधिकारी, किशोर खत्री, छवि घिमिरे, गंगा थापा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here