नैतिक शिक्षाको खाँचो

0
4

व्यक्ति हत्याका घटनाहरु हिजोआज दिनहुँ भइरहेका छन् । सूचनाको पहुँच विस्तार भएसँगै यस्ता अपराधका घटनाहरुका समाचार सार्वजनिक भइरहेका हुन् । सशस्त्र हिंसा शुरु हुनुअघि एउटा पनि हत्याको घटनाले आश्चर्य मान्ने नेपाली समाज यतिबेला दिनहुँ भइरहेका विभत्स हत्याका घटनालाई पनि सामान्य मान्ने मानसिकतामा रहेको छ । अहिले नेपालमा सरदर दिनहुँ दुई जनाको हत्या हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ । अपराधका यस्ता घटनाको अनुसन्धान गर्ने र दोषीलाई दण्डित गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीले घटनाको विश्लेषणबाट सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको देखाएको छ । त्यसबाहेक अवैध यौन सम्बन्ध, लेनदेन, झगडा, तनावका कारण उत्पन्न हुने आवेगले र कतिपय साँधसीमाना, कुलोपैनी जस्तो सामान्य विवादमा पनि हत्या हुने गरेको छ ।

कतिपय हत्याका घटना आर्थिक अभाव र उच्च महत्वाकांक्षा लगायतका कारणले मानिस क्रुर हुँदै गएको प्रहरीको विश्लेषण छ । हत्या मानवताबिरोधी कार्य हो भन्ने भावना अहिले हराउँदै गएको छ । नैतिक शिक्षाको अभावमा मानिस क्रुर बन्दै गएको छ । हाम्रो पारिवारिक ढाँचा पनि एकल बन्दै गएका कारण अभिभावकहरुले आफ्नो सन्तानलाई सामाजिक, नैतिक, आदर्शवान बन्न र मर्यादाको महत्वको शिक्षा दिन नसक्ने अवस्था आएको छ । विद्यालयको पाठ्यक्रमबाट नैतिक शिक्षा खारेज गरिएको छ । यस्तो अवस्थाले बालबालिकामा नकारात्मकता ग्रहण गर्ने मानसिकता बढ्छ, रिस नियन्त्रण हुँदैन र आवेगले क्रुर हिंसाको भावना बढाउँछ ।

मोरङको पथरीशनिश्चरे–७ मा स्थानीय पञ्चायत माविको कक्षा ७ मा अध्ययनरत् १५ बर्षीया किशोरी ज्ञानमती थुलुङ राईको निर्मम हत्या भएको घटनामा प्रहरीले ३८ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । आरोपीले आफूले किशोरीको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । यो विभत्स हत्याको एउटा उदाहरण मात्र हो । प्रहरीको तथ्यांक अनुसार आव ०७९–०८० मा मात्रै पाँच सय एक जनाको हत्या भएको थियो भने त्यसअघि एक वर्षको अवधिमा पाँच सय ९० वटा व्यक्ति हत्याका घटना भएका थिए । यस्तोमा व्यक्ति हत्याका घटना निरुत्साहित गर्न जनचेतना बढाउनुपर्ने विज्ञहरुको भनाइ छ । रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनुपर्छ । समाजमा अपराधका घटना कम गर्न नैतिक शिक्षाको विकल्प छैन । युवाहरुलाई अवसर र रोजगारी सुनिश्चित गर्नुपर्छ । उच्च महत्वाकांक्षाले मानिसलाई जिद्दी बनाउँछ र आवेगलाई नियन्त्रण गर्न नसक्दा हत्या जस्तो जघन्य अपराध हुने गरेको छ । त्यसैले यस्ता अपराधहरु नियन्त्रण गर्न नैतिक शिक्षा र संयुक्त पारिवारिक ढाँचामा समाजलाई रुपान्तरण गर्ने कार्यक्रम ल्याउनुपर्छ । दोषीलाई कठोर दण्डको व्यवस्था गरेर अपराध न्यूनीकरण गर्दै लानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here