अनुभवले सिकाओस्

0
6

बिर्तामोडमा जारी झापा गोल्डकप समापन उन्मुख भएको छ । गत फागुन १९ गतेदेखि बिर्ता बजारस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालित फुटबलको महाकुम्भको समापन यही २८ गते हुँदैछ । विश्वमै सर्वाधिक लोकप्रिय मानिएको फुटबल खेल भाषाको सरलताका कारण बालबालिकादेखि वृद्धवृद्धासम्मको रुचीभित्र पर्दछ । फुटबलको उर्वर जिल्ला भनिने झापाले विगतमा पनि राष्ट्रियस्तरका थुप्रै खेलाडीहरु जन्माएको थियो । अहिले सञ्चालन भइरहेको फुटबलबाट पनि फुटबलका नव प्रतिभाहरुलाई यसका नयाँ पद्धति, सिप र तरिका हस्तान्तरण हुने अपेक्षा गर्न सकिन्छ । यसै पनि खेलले मानिसलाई अनुशासित र गतिशील बनाउँछ अनि तत्क्षण निर्णय गर्न सक्ने क्षमता प्रदान गर्छ । त्यसबाहेक मानिसको सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य रक्षाको आधार पनि तयार गर्छ ।

फुटबल सामुहिकताको भावनाबाट खेलिने खेल हो । समाजमा रहँदा मानिसले एकअर्काका बीच कसरी तालमेल गर्ने, कसरी गाह्रो–अप्ठ्यारोमा सहजता खोज्ने भन्ने शिक्षा दिन पनि खेलकुद आवश्यक छ । बिर्तामोडमा सञ्चालित मोफसलकै सर्वाधिक नगद राशिको गोल्डकपको व्यवस्थापनमा ठूलो परिश्रम गर्नु पर्छ । दाताहरुको आर्थिक, भौतिक, प्राविधिक तथा स्वयम् सेवाको सहयोग बिना आयोजना सम्भव हुँदैन । सबै सहयोग प्राप्त गर्न नेतृत्वसँगै सिङ्गै आयोजक समितिको निःस्वार्थ र हार्दिक एकता आवश्यक हुन्छ । सँगसँगै कार्यक्रमको भव्य र सफल सम्पन्नतामा आर्थिक स्रोत त्यत्ति नै जरुरी हुन्छ । त्यसकै लागि सशुल्क प्रवेशको व्यवस्था गरिएको हुन्छ, जो यो महाकुम्भमा पनि प्रयोग गरिँदैछ ।

विगतमा पाँच वटा महाकुम्भ सम्पन्न गरिसकेको बिर्तामोडले यसपटक देशका राष्ट्रियस्तरका दश वटा क्लवको सहभागितामा फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । नकआउटका आधारमा खेलाइएका खेलहरुको टिकट बिक्रीबाट प्राप्त हुने रकम प्रतियोगिता सञ्चालन गर्ने मुख्य आधार हो । आयोजकले त्यसैलाई ठीक ढंगबाट व्यवस्थापन गर्न नसक्दा, विभिन्न नाममा निःशुल्क पास वितरण गर्दा आर्थिक बोझका कारण असफलता व्यहोर्नुपर्छ । त्यही त्रुटि यसपटक पनि भएको हुन सक्छ । तर, यसले आगामी दिनमा निरन्तरता पाउनु हुँदैन । अनुभवबाट सिकेर आगामी आयोजनालाई सफल बनाउन नेतृत्वले गम्भीर हुनुपर्छ । जे होस् झापा गोल्डकप बिर्तामोडले छेटौं गोल्डकपको आयोजना यसपटक सफलतापूर्वक सम्पन्न गर्ने अवस्थामा पुगेको छ । नयाँ शैली, सोच र अग्रजहरुको सम्मान गर्ने परम्परा बसालेको आयोजकको प्रयोग उदाहरणीय पनि छ । मैदान व्यवस्थापनदेखि खेल प्राविधिकहरुको समन्वयात्मक हातेमालो प्रशंसनीय छ । प्रतियोगिताको भव्य सम्पन्नताका लागि शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here