आगलागीबाट बच्न होशियारी

0
6

हाम्रो ग्रामीणदेखि शहरी क्षेत्रसम्म यो समय आगलागीको उच्च जोखिममा रहेको छ । फागुन, चैतको समय सुख्खा र हावाहुरी चल्ने समय भएकाले सम्भावित आगलागीबाट बच्न सतर्कता अपनाउनुको विकल्प छैन । आगलागी लगायतका विपद्हरुको प्रतिरक्षाका लागि सरकारले संयन्त्र नै बनाएको छ । त्यस्तै प्रदेश तथा स्थानीय सरकारले पनि जोखिम न्यूनीकरणका लागि पूर्वाधारहरु निर्माण गरेको छ । खासगरी आगलागीबाट बच्न दमकलको व्यवस्थापनसँगै सचेतना कार्यक्रमहरु पनि सञ्चालन गरेका छन् । तर, पनि दैवी विपत्ति भनिने आगलागीका घटना हृदय विदारक बन्न छाडेका छैनन् ।

शनिबार राति मात्रै भोजपुर जिल्लाको हतुवागढी–७ मा भएको आगलागीमा परी तीन जना बालबालिकाले ज्यान गुमाए । मध्यरातमा भएको आगलागीमा एक जना बालिका र दुई बालकको हृदय विदारक मृत्यु भएको प्रहरीले जनाएको छ । यता मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा शनिबार राति नै आगलागी भयो । जसमा परी चिउरा कुट्न जम्मा गरेको धान जलेर नष्ट भयो भने आगोले त्यहाँको मेसिन समेत काम नलाग्ने हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै मोरङको रंगेलीमा शनिबार दिउँसो नै आगलागी भयो । फुसको छानो भएको दुई दर्जन कच्ची घरहरु जलेर नष्ट हुँदा एउटा बस्ती नै रित्तिएको छ ।

गर्मी र पानी नपर्ने सुख्खा मौसममा पहाडी क्षेत्रमा पनि आगलागीको कारण जनधनको ठूलो क्षति हुने गरेको छ । एउटा तथ्यांकले नेपालमा प्रतिवर्ष पैंतीस जनाले आगलागीका कारण ज्यान गुमाउने गरेका छन् । त्यस्तै आगलागीबाट बर्सेनि अर्बौं रुपैयाँको क्षति भइरहेको छ । जनधनको क्षतिबाट हुने मानसिक आघात र पीडा अझै भयानक छ । आगलागी मानवीय कारणबाट हुने गर्छ । फुसको कच्ची घरहरु आगलागीका जोखिममा बढी हुन्छन् । त्यसैले यसलाई रोक्न सचेतना बढाउन आवश्यक छ । बालबालिकालाई आगो खेलाउन नदिने, वनभोजपछि आगो निभाउने, बिजुलीको प्रयोगमा होशियारी अपनाउने गर्दा आगोको जोखिमबाट बच्न सकिन्छ । त्यसैगरी जोखिम पूर्व तयारी सम्बन्धी सचेतना र प्रशिक्षणले पनि आगलागीको जोखिम कम गर्न सघाउँछ । यसबाट जोगिन होशियारी नै मुख्य उपाय भएकाले त्यसतर्फ बढी सचेत भए यसले दिने पीडालाई कम गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here