लागूऔषध भयावह बन्दै

0
6

झापामा दिन प्रतिदिन लागूऔषध ओसारपसार र प्रयोगकर्ताहरु बढ्दै गएका छन् । झापाको बिर्तामोडमा मंगलबार भएको कार्यक्रममा दिइएको जानकारी अनुसार चालू आर्थिक वर्षको आठ महिनामा पच्चीस जना महिला र दुई सय उनन्चालीस जना पुरुष लागूऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत झापाका पन्ध्र वटै पालिकाका प्रमुखसहितका जनप्रतिनिधिहरुसँग गरेको कार्यक्रममा लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारले पनि सहकार्य गर्ने निर्णय गरियो ।

लागूऔषधको बढ्दो ओसारपसारले प्रयोगकर्तामा भविष्यमा हुनसक्ने क्षतिका बारेमा जिम्मेवार संस्थाले बेलैमा सचेत र सजग हुन जरुरी छ । यसको कारोबार र प्रयोगमा खासगरी किशोर र युवाहरुको संलग्नता बढिरहेका कारण परिवार, समाज हुँदै राष्ट्रकै जीवन प्रभावित हुने स्पष्ट छ । यसले आर्थिक, शारीरिक तथा मानसिक स्वास्थ्यमा हुने क्षतिलाई रोक्न बेलैमा विशेष योजना, रणनीति कार्यक्रम र कार्यान्वनयमा नलाग्ने हो भने देशले ठूलो क्षति व्यहोर्नुपर्नेछ । त्यसकै लागि भए पनि एकाइ नै गठन गरेर लागूऔषध नियन्त्रणमा लागेको प्रहरीको एकल प्रयासमा स्थानीय सरकारले पनि सहकार्य गर्न जरुरी छ ।

सरकारी तथ्यांकले नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या एक लाख तीस हजारको हाराहारीमा रहेको देखाएको छ । प्रति वर्ष ११.३६ प्रतिशतले दुव्र्यसनीको संख्या बढ्दैछ । काठमाडौं, सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चिनवन र बाँकेमा लागूपदार्थ सेवनकर्ताहरुको संख्या उच्च छ । त्यसमा पनि विद्यार्थीहरुको संख्या बढी छ । यस्तोमा प्रहरीको नयाँ रणनीति अनुसार स्थानीय सरकारले सहकार्य गरेर लागूऔषधिको प्रयोगबाट हुने क्षतिको भयावहता रोक्न लाग्नु पर्दछ । अन्यथा नेपालको भविष्य नै असुरक्षित हुने जोखिम अझै बढेर जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here