व्यवसायीको पक्षमा काम गर्छु– न्यौपाने

0
8

विक्रम सम्वत् २०५० सालबाट झापाको बिर्तामोडमा व्यवसाय शुरु गरेका राजु न्यौपाने बिर्तामोड उद्योग वाणिज्य संघमा भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयदेखि व्यवसाय गर्दै आएका उनी व्यवसायिक क्षेत्रका सफल व्यक्तिका रुपमा परिचित छन् । विभिन्न क्षेत्रमा उनले शुरु गरेको व्यवसायलाई प्रबद्र्धन गर्दै बिर्तामोडलाई नै कार्य क्षेत्र बनाएर व्यापार व्यवसाय गर्ने गरेको उनी बताउँछन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले वाणिज्य संघको विकास तथा व्यवसायीको हितमा काम गर्ने आफ्नो योजना रहेको बताएका छन् । उनीसँग गरिएको कुराकानीको प्रस्तुत छ सम्पादित अंश :

भर्खरै उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । अब तपाईको योजना के छ ?

– सर्वप्रथम म सम्पूर्ण बिर्तामोडका व्यवसायी मतदाता, सहयोगी, शुभचिन्तक, राजनीतिक दल, विभिन्न संघ–संस्था, सुरक्षा निकाय तथा सबै महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मलाई अध्यक्षमा निर्वाचित गराएर ठूलो जिम्मेवारी सुम्पिनु भएको छ । मैले बिर्तामोड उद्योग वाणिज्य संघको २०६७ सालबाट सदस्य हुँदै उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफल रुपमा बहन गरिसकेको छु । मलाई लामो अनुभव भएका कारण पनि अध्यक्षको जिम्मेवारी सम्हाल्न सहज हुने अपेक्षा गरेको छु । यो संस्था व्यवसायीको संस्था हो । यहाँ व्यवसायीका पक्षमा हामी उभिने छौं । बिर्तामोड उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र बिर्तामोडका व्यवसायीको हितमा स्थानीय सरकार, राजनीतिक दल, विभिन्न संघ–संस्था, सुरक्षा निकाय लगायत सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने छौं । बिर्तामोडमा देखिएका समस्यालाई समाधान गर्न योजनाबद्धरुपमा काम गर्नेछौं ।

हाल व्यवसाय क्षेत्रमा देखिएका समस्यालाई स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने विषयमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा बिर्तामोड क्षेत्रका वडाध्यक्षसँग मैले विभिन्न चरणमा छलफल र सल्लाह गरिसकेको छु । पद हस्तान्तरण लगत्तै यी विषयलाई प्राथमिकतामा राखेर कामहरु अगाडि बढाउँछु । बैंक तथा वित्तीय संस्थासँग छलफल, भन्सारसँग गर्नुपर्ने सहकार्य, व्यवसायको प्रबद्र्धन गर्नका लागि व्यवसायीसँग समस्याको पहिचान गर्दै अगाडि बढ्ने योजना बनाएको छु ।

चुनावमा दलगत रुपमा व्यवसायी विभाजित भए अब उनीहरुलाई कसरी समेट्नु हुन्छ ?

– निर्वाचन एउटा लोकतन्त्रको सुन्दर प्रक्रिया हो । निर्वाचनका समयमा मत बाडिए होला तर बिर्तामोडका व्यवसायीको मन बाडिएको छैन । त्यसैले राजनीतिक आस्था र विचार जहाँ भए पनि अब मैले व्यवसायीको प्रतिनिधित्व गर्ने हो । त्यसैले हिजोको दिनमा कसले भोट हाल्यो वा कसले भोट दिएन भन्ने विषय अब रहँदैन । मलाई लाग्छ बिर्तामोडका सबै व्यवसायीले मलाई मत दिएका कारण म अध्यक्षमा निर्वाचित भएको हुँ । उपविजेता साथीका हरेक एजेण्डालाई अब मैले नै पूरा गर्नुपर्नेछ । त्यसैले हिजो दुई प्यानल भएर निर्वाचनमा भाग लिए पनि अब एकै प्यानल भएर व्यवसायीका मुद्दामा अगाडि बढ्ने छौं ।

उपविजेता साथीको हरेक एजेण्डालाई अगाडि बढाउने व्यवसायीका पक्षमा काम गर्ने अठोटका साथ व्यवसायीहरुले मलाई नेतृत्व गर्ने अवसर दिनुभएको छ । म सबैको भावनालाई समेटेर अगाडि बढ्छु । वाणिज्य संघमा व्यवसायीका समस्या समाधान गर्न दृढ भएर अघि बढ्ने छु । वाणिज्य संघ व्यवसायीको मन्दिर हो । त्यसैले यहाँ जो आएर पनि पूजा गर्न सक्छ । त्यसैले यहाँ दलगत रुपमा भन्दा पनि व्यवसायीको हितमा काम गर्न हामी आएका हौं । र, हामी व्यवसायीका मुद्दालाई हरेक क्षेत्रमा दृढ भएर राख्नेछौं । व्यवसायीको हितमा काम गर्नेछौं ।

बिर्तामोडमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि कस्ता योजना बनाउनुभएको छ ?

– बिर्तामोड पूर्व क्षेत्रकै सबैभन्दा तीव्रगतिमा विकास र बिस्तार भएको शहर हो । यहाँ रात्रिकालीन बजार सञ्चालन गर्नका लागि आवाज नउठेको होइन । विगतमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा विभिन्न बहस र छलफल भए । मैले पनि बिर्तामोडमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा सोचेको छु । सोही अनुरुप यहाँको शान्तिसुरक्षा, सिसि क्यामेराको प्रभावकारिता, विद्युत लगायत आधारभूत आवश्यकताका विषयमा छलफललाई अगाडि बढाएको छु । मैले बिर्तामोड नगरपालिका–३, ४ र ५ का वडाध्यक्षका साथै नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुखसँग छलफल गरिसकेको छु ।

त्यो भन्दा अगाडि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासँग पनि यस विषयमा कुरा गरिसकेको छु । उहाँहरु सबै बिर्तामोडमा पनि रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा सकारात्मक हुनु भएको छ । अझ भनौं मेयरसाव बिर्तामोडमा रात्रिकालीन बजार सञ्चालन गर्ने विषयमा धेरै उत्सुक हुनुहुन्छ । स्थानीय सरकारसँग सहकार्य गर्दै रात्रिकालीन बजार सञ्चालन गर्नका लागि कुनै निश्चित क्षेत्र छुट्याएर अघि बढ्ने विषयमा आगामी दिनमा छलफललाई निरन्तरता दिनेछु । विराटनगरमा समेत रात्रिकालीन बजार शुरु भइसकेको छ भने दमकमा पनि निश्चित एरिया छुट्याएर रात्रिकालीन बजारको तयारी तथा शुरुवात भएको जानकारी पाएको छु । बिर्तामोडमा पनि निश्चित क्षेत्र छुट्याएर रात्रिकालीन बजार सञ्चालन गर्न नगरपालिका तथा विभिन्न संघ–संस्थासँग छलफल अगाडि बढेकाले छिट्टै यसले सार्थकता पाउनेमा आशावादी छु ।

आर्थिक मन्दीका कारण धेरै व्यवसायी पलायन हुने क्रममा छन् । उनीहरुको संरक्षणका लागि वाणिज्य संघको भूमिका कस्तो हुनेछ ?

– अत्यन्त समय सान्दर्भिक प्रश्न गर्नुभएकोमा यहाँलाई धन्यवाद । आर्थिक मन्दिका कारण सबै क्षेत्र प्रताडित छन् । यसको मुख्य कारक भनेको कोभिड–१९ बन्यो । कोरोनाका कारण लामो समय लकडाउनको अवस्था हुँदा व्यवसायीहरुको व्यवसाय ठप्प बन्न पुग्यो भने त्यसभन्दा अगाडि आर्जन गरेका मुनाफाले घर भाडा विभिन्न चरणमा तिर्नुपर्ने कर, बैंकको कर, स्कूलको शुल्क लगायतका कारण खर्चनुप¥यो । कतिपय व्यवसायीले त बैंकबाट लिएको रकम कर, किस्ता तथा घरभाडामा खर्चनुपर्दा अहिले समस्या विकराल बनेको हो । व्यवसाय ठप्प भएको समयमा पनि तिर्नुपर्ने रकम निरन्तर तिर्नुपरेको तथा यस विषयमा बैंक तथा वित्तीय संस्थाले समेत कुनै उदारता नदेखाउँदा व्यवसायीहरु व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था सिर्जना भएको हो । यसलाई मध्यनजर गर्दै बिर्तामोडको व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ र अहिले खाली हुँदै गएका सटरहरुमा कसरी पुनः व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवाला निकायसँग छलफल गरेर निकासमा पुग्ने योजना बनाएको छु ।

यस्तो संकटको अवस्थामा बैंक तथा वित्तीय क्षेत्रले पनि जिम्मेवार ढंगबाट सोच्न जरुरी छ । व्यवसायीले रहरले नभएर बाध्यताले यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आउनु दुःखद् हो । यसका निमित्त स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार गम्भीर र जिम्मेवार हुन जरुरी छ । सरकारपछि निजी क्षेत्रलाई दोस्रो खम्बाका रुपमा हेर्ने गरिए पनि संकटको समयमा भने सरकारी तवरबाट व्यवसायीले कुनै सहयोग र साथ नपाउँदा अहिले व्यवसायीहरु धरासायी बन्दै गएका छन् । यसलाई रोक्न मैले स्थानीय सरकारसँग कर समायोजनका विषयमा कुरा गरेको छु । मेयरसाब यो विषयमा सकारात्मक हुनुहुन्छ । त्यस्तै विद्युत महशुलको विषयमा प्राधिकरणका प्रमुखसँग छलफल गरेको छु । उहाँ पनि यो विषयमा सकारात्मक देखिएको भएको छ । हामीले गर्ने सानो सहयोगका कारण कसैको व्यवसाय जोगिन्छ भने उक्त विषयमा हामी लाग्नेछौं ।

विगतमा स्थानीय तहसग वाणिज्य संघको टसल देखिएको थियो । अब कसरी सम्बन्ध सुधार गर्नुहुन्छ ?

– विगतमा के भयो वा के गरियो भन्ने विषय महत्वपूर्ण हुँदैन । भर्खरै म अध्यक्षमा निर्वाचित भएको छु । मैले स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षज्यूहरुसँग छलफल अघि बढाइसकेको छु । विगतमा जे भए ती सबैलाई भुलेर बिर्तामोडको विकास र यसको प्रबद्र्धनका लागि एकजुट हुनुपर्छ भन्ने विषयमा हामी सबै एकमत रहेका छौं । विगतमा एकअर्काबीच कुरा बुझाबुझ हुन नसक्दा केही समस्या देखिएको सत्य हो । तर, अहिले सम्बन्धमा सुधार भइसकेको छ । वाणिज्य संघसँग मिलेर जाने सम्बन्धमा मेयरसाव सकारात्मक हुनुहुन्छ ।

उहाँले म आफैलाई बधाई दिँदै साथ, सहयोग गर्ने बचत दिनुभएको छ । त्यस्तै उपमेयर तथा वडाध्यक्षज्यूहरुले समेत बिर्तामोडको व्यवसाय प्रबद्र्धनका विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने छलफल गर्दै अगाडि बढ्ने बचन दिनुभएको छ । हामी जहाँ भए पनि सबै मिलेर बिर्तामोडको विकास तथा बिर्तामोडका व्यवसायीको हितमा लाग्नेछौं । व्यवसायीसँगै उपभोक्ताको पनि हितमा काम गर्ने विषयमा स्थानीय तह, कर्मचारी तथा वाणिज्य संघका सबै पदाधिकारी एकमत रहेका छौं । विगतका तितामिठा कुरालाई बिर्सिएर अब हामी अगाडि बढ्ने छौं ।

सानादेखि ठूला व्यवसायीलाई प्रबद्र्धन गर्नका लागि के गर्न सकिन्छ ?

– बिर्तामोड उद्योग वाणिज्य संघले सबै क्षेत्रका व्यवसायीको हितमा काम गरेको छ । साना, ठूला सबै व्यवसायीका समस्याका विषयमा बोल्नेछ । विशेषगरी हामीले साना व्यवसायीलाई प्रवद्र्धन गर्न जरुरी ठानेका छौं भने ठूला व्यवसायीको संरक्षण गर्नुपर्छ भन्नेमा पनि हामी उत्तिकै जिम्मेवार रहेका छौं । म आफू पनि व्यवसायी भएका कारण व्यवसायीका समस्या राम्रोसँग बुझेको छु । यो आर्थिक मन्दीको अवस्थामा कसरी बिर्तामोड क्षेत्रको व्यवसाय प्रबद्र्धन गर्ने भन्नेमा सबै सरोकारावाला निकायसँग छलफल गरेर अघि बढ्नेछु । विभिन्न क्षेत्रबाट आएर बिर्तामोड क्षेत्रमा स्टल राख्ने गरेको कारण साना व्यवसायी त्यसको प्रत्यक्ष मारमा परेका छन् । अब हामीले बाहिरबाट आएर यहाँ केही दिन स्टल राख्नेहरुलाई रोक्नुपर्छ भन्ने विषयमा मैले नगरपालिकासँग पनि कुरा गरिसकेको छु । त्यस्तै होलसेलर र साना व्यवसायीलाई मिलाएर सबैले टिक्ने वातावरण बनाउनका लागि काम गर्नेछु ।

साथै ठूला बिक्रेता र साना व्यवसायीबीच छलफल गर्दै उनीहरुका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा मैले जिम्मेवारी पाए लगत्तै अगाडि बढ्ने योजना बनाएको छु । बिर्तामोड उद्योग वाणिज्य संघका सबै पदाधिकारी तथा सदस्यसँगको छलफललाई अगाडि बढाउँदै व्यवसायीको हितमा काम गर्नेछु । कुनै क्षेत्रको हामी व्यवसायी हौं भने कुनै क्षेत्रको उपभोक्ता पनि हौं त्यसैले सबै मिलेर अगाडि बढे मात्रै व्यवसायलाई प्रबद्र्धन गर्न सकिन्छ । करमा छुट, सहकारी तथा लघुवित्तहरुले व्यवसायीहरुलाई दिइने ऋणमा प्राथमिकता लगायतका विषयमा छलफल गरेर अगाडि बढ्ने छु । पछिल्लो समय ठूला उद्योगहरु संकटमा परेका छन् । केही सिमेन्ट कारखाना बन्द भएका छन् भने कतिपय निष्क्रिय जस्तै बनेका छन् । पाइप फ्याक्ट्री लगायतका ठूलो उद्योग धरासायी बन्दै गएका छन् । यस सम्बन्धमा पनि के गर्न सकिन्छ भनेर काम अगाडि बढाउने छु ।

आन्तरिक राजश्व कार्यालयले अनावश्यक रुपमा व्यवसायीलाई त्रसित बनाउने कामलाई बन्द गर्नेछु । साथै व्यवसाय गर्दा कानूनले पालना गरेका परिधिमा रहेर गर्न सबै व्यवसायीलाई आग्रह गर्दछु । बिलबिजकमा देखिएका समस्या समाधान गर्न म निरन्तररुपमा लाग्नेछु । साथै छापामारशैलीमा राजश्व कार्यालय तथा प्रहरीहरुलाई छापा नहान्न आग्रह गर्दछु । कुनै व्यवसायीमाथि शंका लागेमा बिर्तामोड उद्योग वाणिज्य संघको प्रतिनिधिलाई जानकारी गराएर मात्र उनीहरुको छानविन अगाडि बढाउन म आग्रह गर्दछु । सबै मिलेमात्र व्यवसाय प्रवद्र्धन हुनेमा म विश्वस्त रहेको छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

– अन्त्यमा म सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई यस क्षेत्रको नेतृत्व गर्ने मौका प्रदान गर्नुभएको छ । म सबै क्षेत्रसँग मिलेर अगाडि बढ्ने छु । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, पत्रकार, राजनीतिक दल, सबै संघ–संस्था लगायतसँग सहकार्य गर्दै व्यवसायीको हितमा के गर्न सकिन्छ भनेर अगाडि बढ्ने छु । बिर्तामोडको विकासका लागि हामी सबै एकजुट हुन आवश्यक छ । सबैको सल्लाह र सहयोगले मात्रै हामी सफल हुनेछौं । बिर्तामोडमा देखिएका समस्या वाणिज्य संघको मात्रै नभएर हामी सबैको साझा समस्या हो । त्यसैले यस्ता समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्छ । बिर्तामोडमा अहिले शौचालयको अभाव छ ।

पिउने पानीको पनि अभाव छ । यसतर्फ हामी सबै लाग्न जरुरी छ । साथै आफ्नो क्षेत्रबाट उत्पादन भएका फोहोरलाई कसरी व्यवस्थित गर्नेतर्फ सोच्न जरुरी ठानेको छु । त्यस्तै बिर्तामोड क्षेत्रमा रहेका व्यवसायी तथा उपभोक्तालाई सुरक्षित छु भन्ने महशुस गराउनका लागि यस क्षेत्रमा रहेका सिसि क्यामेराको मर्मत तथा यसको संरक्षण गर्न पनि हामी सबै लाग्न जरुरी ठानेको छु । मैले अन्त्यमा भन्नुपर्दा सबै निकायसँग छलफल गर्दै देखिएका तड्कारो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्ने योजना बनाएको छु ।

बिर्तामोड नगरपालिकाले पनि वाणिज्य संघको योजनाहरुका विषयमा छलफल गर्दै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएकाले म ढुक्क छु । अब हामी सबै मिलेर बिर्तामोडका व्यवसायी, उद्योगी, उभोक्ता तथा आमनागरिकको हितमा काम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here