वैवाहिक बलात्कार: क्षयोन्मुख सदाचार

0
5

विवाहपछि महिलामाथि हुने घरेलु तथा यौन हिंसालाई वैवाहिक बलात्कार भनिएको छ । वैवाहिक जीवन शुरु भएपछि श्रीमान्ले श्रीमती माथि यौन हिंसा गरेको अवस्थामा महिला अधिकारको कुरा पश्चिमा मुलुकहरुले पैसठ्ठी वर्षअघि उठाउन थालेका थिए । त्यसकै आधारमा विश्वका कतिपय देशहरुमा वैवाहिक बलात्कारका बारेमा कानून नै निर्माण गरिए । त्यसलगत्तै अर्ध विकसित देशहरुमा पनि यस विषयले प्रवेश पायो । त्यसकै परिणाम हो कि नेपालमा पनि २०६३ सालमा पहिलोपटक ‘वैवाहिक बलात्कार’ले कानूनी मान्यता पायो । त्यही कानूनी व्यवस्था अनुसार वैवाहिक बलात्कार सम्बन्धी मुद्दा दर्ता हुन थाल्यो ।

मुलुकी ऐनमा संशोधन गरेर वैवाहिक बलात्कारलाई समेटिएपछि दर्ता हुन थालेको यो मुद्दा मानवीय संवेदना र पीडासँग जोडिएको छ । सत्र वर्षअघि कानून आकर्षित हुने गरी व्यवस्था गरिएको वैवाहिक बलात्कारको मुद्दा क्रमशः थपिँदै गएका छन् । चालू आर्थिक वर्षको शुरुको छ महिनामा मात्रै वैवाहिक बलात्कारका तीस वटा मुद्दा दर्ता भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मुलुकी ऐन २०२० को जबरजस्ती करणीको महलको दफा ३ अनुसार श्रीमानले श्रीमतीलाई उसको राजीखुशी वा इच्छा विपरीत शारीरिक सम्पर्क गरेमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै मुलुकी अपराध सहिता ०७४ को दफा ११९ (४) मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाई करणी गरे पाँच वर्षसम्म कैद हुने उल्लेख छ । त्यही कानूनी व्यवस्थाको दुरुपयोग गरी ‘बार्गेनिङ’ गर्ने हतियार बनाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको भनाइ छ ।

समाजमा वैवाहिक बलात्कारका घटना भएका होलान् । तर, वास्तविक पीडित सार्वजनिक नभइरहेका हुन सक्छन् । पीडितहरु आफ्ना अभिभावक, सामाजिक प्रतिष्ठा, मान्यता र इज्जतका लागि खुलेर बाहिर आउन सक्दैनन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार निहित स्वार्थका पछि लाग्ने महिलाहरुले कानूनी प्रावधानलाई हतियार बनाएर स्वार्थ पूरा गर्न लागीपरेका पनि छन् । विवाह यौनसम्पर्कलाई वैधानिक मान्यता दिने संस्कार हो । तर, सहमति बिना गरिने सम्पर्क बलात्कार नै हो । खासगरी शिक्षित परिवारमा बढी देखिन थालेको यो समस्याले उनीहरुका निरपराध सन्तानको भविष्य जोखिममा पर्ने देखिएको छ । पछिल्लो समय प्रविधिको उपलब्धता, प्रयोग र पहुँचले नेपाली समाज यस्ता अपराधजन्य मार्गमा उन्मुख भइरहेको सन्दर्भ नेपाली पारिवारिक तथा सामाजिक संरचनाका लागि सुखद् हुँदै होइन । त्यसैले आवेश, आवेग र आक्रोशलाई मत्थर पार्दै संयम, सदाचार र संस्कारयुक्त जीवन पद्धतिको अनुशरण गरेर मात्र यसको समाधान खोज्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here