किन उत्साहित भएनन् मतदाता ?

0
5

इलाम र बझाङमा शनिबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह देखिएन । प्रतिनिधिसभा सदस्य सुवासचन्द नेम्वाङको निधनबाट रिक्त भएको इलामको निर्वाचन क्षेत्र नम्बर २ मा भएको निर्वाचनमा उम्मेदवारहरुको ताँती रहेको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, स्वतन्त्र पार्टी र पहिचान पक्षधर उम्मेदवारका बीच नै तीब्र प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । कूल उन्नाइस जना उम्मेदवार रहेको इलाम–२ मा मतदातामा भने उत्साह नदेखिएको मतदानको प्रतिशतले पुष्टि गरेको छ । अघिल्लो आवधिक निर्वाचनमा जस्तो यसपटकको उपनिर्वाचनमा मतदाता किन उत्साही भएनन् त्यो खोजीको विषय हुनसक्छ ।

इलाम मात्र होइन बझाङमा भएको प्रदेशसभाको निर्वाचनमा पनि मतदाताको उत्साह कम भएको तथ्यांकले देखाएको छ । मतदाताको संख्या घट्नुमा मतदाता अन्य जिल्लामा पेशा–व्यवसायीका लागि रहनु मुख्य कारण हुनसक्छ । उनीहरुलाई दलहरुले मतदानप्रति आकर्षित गर्न नसकेको पनि होला । निर्वाचन आयोगले पनि विगतमा जस्तै सार्वजनिक विदा नदिएका कारण कर्मचारी र बेजिल्लामा रहेका मतदाता मतदानमा सहभागी नभएका हुन सक्छन् । हुनसक्छ मतदाता नामावली अद्यावधिक नभएका कारण मृत्यु भएका, बसाइँसरी गएकाहरुको यथार्थ विरण नभएकाले मतदाता संख्या बढी भएको हुनसक्छ ।

प्रत्येक निर्वाचनमा मतदाताको उत्साह कम हुँदै जानुको मूल कारण दलहरुप्रति जनताको अनास्था हुनसक्छ । सत्ता केन्द्रित दलहरुको व्यवहारले आमनागरिक वाक्क भइसकेका छन् । मतदातासामु उनीहरुले प्रकट गरेको प्रतिबद्धता निर्वाचन जित्नैका लागि मात्रै सावित भएको छ । जसका कराण राजनीतिक दलहरु प्रतिको भरोसा कम हुँदै गएको यो निर्वाचनमा खसेको मतले देखाएको छ । त्यसैले दलहरुले बोली र व्यवहारमा आफूलाई सच्याउन सकेनन् भने भोलिका निर्वाचनमा मतदाताको उत्साह झनै घट्ने छ । त्यस्तो अवस्था देश र जनताको समृद्धिका लागि उपयुक्त हुँदैन । त्यसैले ठूलो र पुरानो भन्ने दलहरुले आफूलाई सधार्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here