शुभसाइत सहकारीका उपाध्यक्ष जेल चलान

0
8

भद्रपुर ।

भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका उपाध्यक्ष तथा व्यवस्थापक सञ्जोग भन्ने सञ्जोक गिरी जेल चलान भएका छन् ।

२०८० साल फागुन १३ गते ५४ जनाले, २०८० चैत २३ गते एक सय ४५ जनाले, २०८० चैत २७ गते ४९ जनाले र २०८० चैत २९ गते २४ जनाले गरी दुई सय ७२ जना सहकारीका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेका थिए । सुनसरीको इनरुवामा दर्ता भएर विगत तीन वर्षदेखि भद्रपुरमा गैरकानूनी रुपमा सञ्चालन गर्दै आएको सहकारी संस्थाका सञ्चालकहरूलाई जिल्ला प्रहरी कार्यालयले फागुन ३० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

चैत १३ गते प्रहरीले उपाध्यक्ष गिरीलाई पक्राउ गरेको थियो । गैरकानूनी रुपमा सञ्चालन गरी सहकारीको रकम व्यक्तिगत खातामा जम्मा गर्दै बचतकर्ताको रकम हिनामिना गरेपछि सहकारीका पीडित शेयरधनी तथा बचतकर्ताहरूको सङ्घर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीमा सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए ।
रजिस्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार जिल्ला प्रहरी कार्यालय झापाले सहकारीका शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुँजी र बचत रकम सञ्चालक समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवम् अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको थियो । मुद्दा दर्तासँगै जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सातै जना सञ्चालकको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारीका अध्यक्ष मदन श्रेष्ठ, सञ्चालक सदस्य हेमसागर बन र साइरस अधिकारी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जनाएका छन् । बैशाख १२ गते जिल्ला न्यायाधीश रामप्रसाद पौडेलको एकल इजलासले सहकारी ठगी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्ने आदेश भएसँगै उपाध्यक्ष गिरीलाई कारागार चलान गरिएको हो । आदेशमा भनिएको छ –प्रतिवादीहरूले अभियोग दाबी अनुसारको रकम आफूले हिनामिना गरेको कसुरमा आफू इन्कार रही बचतकर्ताहरूको बचत रकम हिनामिना र बचतकर्ताहरूको रकम फिर्ता गरिदिनु पर्ने कुरा स्वीकार गरी मौका तथा अदालतमा गरेको बयान, प्रतिवादीहरू उपरको किटानी जाहेरी दरखास्त, मौकामा बुझिएका कुमारी तामाङ, सीता भट्टराई, प्रभात खड्का, श्रीप्रसाद निरौलासमेतले गरेको कागज, संस्थागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भूमिका हेर्दा यी प्रतिवादीमध्येका सञ्जोग भन्ने सञ्जोक गिरी संस्थाको व्यवस्थापक तथा उपाध्यक्ष रहेको अवस्थासमेतबाट यी प्रतिवादी सञ्जोक गिरी तत्काल प्राप्त प्रमाणबाट उल्लेखित कसूरमा दोषी होइनन् भन्ने नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई प्रतिवादी गिरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्नू ।

त्यसैगरी सहकारीका निवर्तमान अध्यक्ष तथा वर्तमान सञ्चालक समिति सदस्य दीपक खवासलाई एक लाख एवम् सचिव कञ्चन आचार्य र कोषाध्यक्ष ज्योति वर्मनलाई जनही ५०÷५० हजार धरौटी जमानतमा तारेखमा छाडिएको छ । आदेशमा भनिएको छ– प्रतिवादीमध्ये दीपक खवास, कञ्चन आचार्य र ज्योति बर्मनलाई हाल निर्दोष रहेछन् भनी मान्न सकिने अवस्था नहुँदा र थुनामा नै राख्नु पर्ने अवस्थासमेत नभई संस्थामा रहेको भूमिका समेतलाई हेर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ को आधारमा सोही संहिताको दफा ६८ (१) बमोजिम प्रतिवादी दीपक खवासबाट एक लाख रुपैंया प्रतिवादीहरू कञ्चन आचार्य र ज्योति बर्मनबाट जनही पचास हजार रुपैंया नगद वा सो बराबरको जेथा जमानत वा बैङ्क जमानत दिए लिई सोही संहिताको दफा ७४ बमोजिम कागज गराई तारेखमा राख्नू । प्रतिवादीहरूले उक्त धरौटी रकम नदिए सोही संहिताको दफा ६८ (२) बमोजिम थुनामा राख्न स्थानीय काराकार कार्यालय भद्रपुर झापामा पठाइदिनु भनी सोही संहिताको दफा ७९ नं. बमोजिम यो आदेश पर्चा गरिएको छ ।

नेपाल सरकारकोतर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता लवराज घिमिरेले २०८१ बैशाख ९ गते भद्रपुर ८ का ३३ वर्षीय सञ्जोक गिरी, भद्रपुर –७ का ३२ वर्षीय दीपक खवास, हल्दीबारी –३ की ३५ वर्षीय कञ्चन आचार्य, हल्दीबारी –३ की २७ वर्षीय ज्योति बर्मन, भद्रपुर –६ का ४८ वर्षीय राजु भन्ने मदन श्रेष्ठ, हल्दीबारी –३ का मन्दीप भन्ने हेमसागर बनलाई प्रतिवादी बनाई सहकारी रकम हिनामिना गरी ठगी गरेको मुद्दा दर्ता गरेका थिए ।
न्यायाधीवक्ता घिमिरेले वादी नेपाल सरकारकोतर्फबाट शुभसाइत बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुरमा बचत गर्ने बचतकर्ताहरूको बचत रकम १,०३,९३,८७९ः८४–एक करोड तीन लाख त्रियानब्बे हजार आठ सय उनासी रुपैंया चौरासी पैसा) रकम हिनामिना गरी ठगी गरेकोले प्रतिवादीहरूलाई सहकारी ऐन,२०७४ को दफा १२२ को देहाय (घ), (ङ) र (च) बमोजिम कसुरमा सोही ऐनको दफा १२४ (१) (घ) (४) बमोजिम सजाय गरी पीडितहरूको बिगो भराई क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने समेत बेहोराको माग दाबी गरेका थिए ।

अभियोग पत्र सहित उपस्थित गराइएका प्रतिवादीहरू सञ्जोक गिरी, दीपक खवास, कञ्चन आचार्य र ज्योति बर्मनको बयान लिए पश्चात् वादी नेपाल सरकारकोतर्फबाट सहायक जिल्ला न्यायाधीवक्ता लवराज घिमिरे र प्रमिला सुनुवारले बहस गरेका थिए । प्रतिवादी गिरीकोतर्फबाट वरिष्ठ अधिवक्ता दामोदर सापकोटा, पदम डाँगीले बहस गरेका थिए । प्रतिवादी खवासकोतर्फबाट अधिवक्ता भीमप्रसाद बराल र अधिवक्ता परशुराम बानियाँले बहस गरेका थिए । प्रतिवादी आचार्यकोतर्फबाट अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता ओमप्रकाश तिम्सिना र अधिवक्ता चेतनाथ आचार्यले बहस गरेका थिए भने प्रतिवादी बर्मनको तर्फबाट अधिवक्ता सुरज खत्री र अधिवक्ता शान्ता पाठकले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here