परिणाम पनि देखियोस्

0
6

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार भएको सम्मेलनले सञ्चार नीति, श्रमजीवी पत्रकारिता ऐनको पूर्ण कार्यान्वयन लगायत दश बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो । झापा शाखाले विगतमा पनि स्वतन्त्र प्रेस र पत्रकारिता एवम् जिम्मेवार पत्रकारिताका निमित्त कार्यक्रम गर्दै आएको छ । यस बाहेक व्यावसायिक, सिपयुक्त र प्रविधिपूर्ण पत्रकारिताका लागि आवश्यक क्षमता हासिल गर्न प्रशिक्षण, कार्यशाला आदि गर्दै आएको छ । मिडिया सम्मेलन नाम दिइएको कार्यक्रम झापा कन्काई नगरपालिकास्थित पर्यटकीय क्षेत्र जामुनबाडी सिमसारमा आयोजना गरिएको थियो ।

संघीयतामा सञ्चार नीति–अवस्था र चुनौति विषयक सम्मेलनमा पत्रकारिता क्षेत्रलाई संस्थागत गर्नका लागि राज्यपक्षबाट सञ्चार नीतिलाई कार्यान्वयन गर्न माग गरिएको छ । तीन सत्रमा विभाजित सम्मेलनको पहिलो खण्डको सहजीकरण महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले गरेका थिए भने दोस्रो सत्रको सहजीकरण प्रविधि विज्ञ अरुण कार्कीले गरे । पहिलो सत्रमा कोशी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी, सूचना तथा प्रशारण विभागका निर्देशक भरत गौतम, महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट र कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलेले छलफलमा भाग लिएका थिए ।

झापाली पत्रकारहरुको क्षमता अभिवृद्धि गराउन तथा तीन वटै तहका सरकारलाई सचेत गराउँदै घोषित नीति अनुसार लैङ्गिक, भाषिक, भौगोलिक र जातीय प्रतिनिधित्व हुने गरी स्थानीय तहसम्मै कार्यान्वयन गर्न सम्मेलनले माग ग¥यो । लोककल्याणकारी विज्ञापनलाई पुनः परिभाषित गरी यसलाई बहुपयोगी बनाउन, नयाँ पुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्ने कार्यक्रम ल्याउन पनि सम्मेलनले माग गरेको छ । कोशी प्रदेशका चौधवटै जिल्ला शाखा अध्यक्ष लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको सम्मेलन स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारका जिम्मेवार व्यक्ति ध्यानाकर्षण गराउन सफल हुन सक्यो भने यसले सञ्चार क्षेत्रलाई पनि उत्तरदायी बनाउने छ । झापा शाखाले आगामी दिनमा पनि यस्तै सकारात्मक र परिणाममुखी कार्यक्रमलाई निरन्तरता दिओस्– शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here