जैविक विविधता जोगाऔं

0
5

पृथ्वीमा भएका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई जैविक भनिन्छ । पृथ्वीमा भूगोल, हावापानी र प्रकृतिका आधारमा प्राणी र वनस्पतिमा भिन्नता छ, जसलाई जैविक विविधता भनिएको छ । पृथ्वीमा अलग–अलग क्षेत्रहरु तथा जल, स्थल, समुद्र र सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिमा भएको भिन्नतामा एकअर्काको अस्तित्व जोडिएका कारणले ती मध्येको सचेत र जिम्मेवार प्राणी मानिसले जैविक विविधताको संरक्षण गर्दै पृथ्वीको रक्षा गर्नुपर्छ । प्राणी तथा वनस्पति एकअर्कामा निर्भर छन् र तिनको संयोजन प्राणी र वनस्पतिबीचको अन्तरसम्बन्ध हो । त्यही अन्तरसम्बन्धले दुबैको अस्तित्वको रक्षा हुन्छ र प्रकृतिको पनि निरन्तरता कायम रहन्छ ।

सम्पूर्ण प्राणी र वनस्पतिका बीचको यही अन्योन्याश्रित सम्बन्धलाई जोगाइ राख्न संयुक्त राष्ट्रसंघको आह्वानमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउन थालिएको छ । पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास लगायतका मुद्दामा जनचेतना जगाउने उद्देश्यका साथ मनाउन थालिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइन्छ । यो विश्वमा पारिस्थितिक प्रणाली, प्रजाति र वंशानुगत विविधता छ । त्यसै अनुसार कुनै देश वा क्षेत्रमा पाइने प्राणी, जीवजन्तु र बोटबिरुवा अर्को देश वा क्षेत्रमा पाइँदैन । यस हिसाबले नेपाल भूगोलले सानो भए पनि जैविक विविधताका दृष्टिले विश्वकै समृद्ध देशका रुपमा प्रतिष्ठित छ ।

पछिल्लो समय विज्ञान, प्रविधि र आधुनिकताले जीव तथा वनस्पतिको अस्तित्वमा संकट पर्दै गएको छ । जसका कारण जलवायुको चक्रलाई क्षति गराइरहेको छ । यसो हुनुका पछि विश्वको बढ्दो जनसंख्या पनि हो र जसका कारण वातावरणको विनाश, वातावरणमा प्रदुषण बढ्दै गएको छ । आधुनिक मेसिन, उपकरण तथा उद्योगहरुको स्थापना र सञ्चालनले कार्बनडाइअक्साइड, मिथेन ग्यास, नाइट्रस अक्साइड, क्लोरोफ्लोरा कार्बन जस्ता ग्यासहरुको उत्सर्जन बढेको छ । जसले पृथ्वीको तापक्रम बढाउँदैछ । पृथ्वीमा उत्पन्न हुने ती ग्यास वायुमण्डलमा थुप्रिन थाल्छ र भूमण्डलीय तापक्रम बढ्छ । यस्तोमा कलकारखाना र सवारीसाधनबाट निस्कने कार्बन मोनोअक्साइड जस्ता हानीकारक ग्यासले जलवायु परिवर्तन गराइरहेको छ । त्यसो त यी ग्यास उत्पादन गर्नेमा विकसित देश नै हुन्, तर त्यसको असरबाट कोही पनि मुक्त हुन सक्दैन । त्यसैले यो दिवसले आममानिसमा चेतना जागृत गराउँदै पृथ्वीको संरक्षणमा लाग्न सन्देश दिनुपर्छ । स्वच्छ, हराभरा वातावरणमा मात्र पृथ्वीसँगै सम्पूर्ण जीवको अस्तित्व रक्षाको उद्देश्यले आज मे २२ मा जैविक विविधता दिवस मनाउने गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here