ट्राफिक व्यवस्थापनमा सहयोग गरौं

0
24

झापामा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गर्दा झण्डै साढे तीन करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को एघार महिनाको अवधिमा ५१ हजार सात सय ८२ जना नियम उल्लंघन गर्ने चालकहरु कारवाहीमा परेका हुन् । सामान्यतः मादकपदार्थ सेवन गरेर सवारी चलाउने, बढी यात्रु बोक्ने, ट्राफिक सङ्केतको पालना नगर्नेहरु कारवाहीमा पर्छन् । त्यस बाहेक चालक अनुमति पत्र नभएका, नियम विपरीत सवारी चलाउने, तीब्र गतिमा चलाउने, सवारीको स्वरुप परिवर्तन गरेर चलाउने लगायत पनि कारवाहीमा पर्ने गरेका छन् । त्यस्तो कार्यलाई दुरुत्साहित गरी सवारी दुर्घटना नियन्त्रण गर्न कै लागि ट्राफिक प्रहरीको व्यवस्था गरिएको हुन्छ । त्यसैले उनीहरुले इमान्दारीपूर्वक कर्तव्य निर्वाह गरेको खण्डमा दण्डसजायबाट जोगिन्छ र दुर्घटनाबाट हुने ठूलो क्षतिबाट पनि बचिन्छ ।

ट्राफिक कारवाही प्रष्ट रुपमा भन्दा सबै चालकलाई सजग गराउने कडी हो । कहिले गल्ती गर्छ र जरिवाना गरौंला भनेर पर्खिरहने हो भने दुर्घटना अरु बढेर जानेछ । आर्थिक जरिवानाले राज्यलाई राजश्व सङ्कलनमा योगदान त होला तर ट्राफिक व्यवस्थापनको औचित्य पुष्टि हँुदैन । राजश्व सङ्कलनलाई लक्ष्य बनाइँदा दुर्घटना न्यूनीकरण हुन सक्दैन र त्यसले हुन सक्ने मानवीय तथा अािर्थक क्षति झनै भयावह बन्नेछ । नेपालीको अहिले मानसिकता नै बद्लिएको छ, जुनसुकै अवस्थामा पनि मादक पदार्थ सेवन गर्नैैपर्ने परम्परा जस्तै बन्न थालेको छ । यसले दुर्घटनाको जोखिम बढाएको छ र अकल्पनीय क्षति व्यहोर्नु परिरहेको छ ।

झापा ट्राफिकले एघार महिनाको तथ्यांक प्रस्तुत गर्दै यस अवधिमा ७९ जनाले जीवन गुमाउनु परेको जनाएको छ । ती मध्ये आठ जना महिला र पाँच बालबालिका रहेका छन् । त्यस्तै चार सय ९० सवारीसाधन दुर्घटना परेका मध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । सो अवधिमा मोटरसाइकल मात्रै चार सय ५१ दुर्घटनामा परेका थिए । यसले दुई पाङ्ग्रे सवारी दुर्घटनाको उच्च जोखिममा रहेको प्रमाणित हुन्छ । यतिबेला त्यही सवारी चलाउनेहरु स्कूले, बालबालिका बढी देखिन थालेका छन् । उमेर नै नपुगेका, अनुमतिपत्र नभएका त्यस्ता चालक स्कुटीमा चार जना सवार भएको दृष्य त सामान्य जस्तै भइसकेको छ । त्यसैले यस्तो बेला ट्राफिक प्रहरीले सचेतनासँगै सहायक तथा सम्पर्क सडकहरुमा छड्के जाँच गर्न आवश्यक छ । देशभरी सवारी चाप बढिरहेको सन्दर्भमा जनशक्तिको अभावमा काम गर्दै रहेका ट्राफिकलाई समाज र स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ । उनीहरुलाई साधन, जनशक्तिले सम्पन्न बनाउन र ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न समाजको पनि त्यत्तिकै भूमिका रहनुपर्छ । अनि मात्र यो समस्याको न्यूनीकरण हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here