वर्षाको वितण्डता: देशभर ३६ सडक अवरुद्ध, जोखिम परिवारलाई सुरक्षित स्थानामा गर्न निर्देशन

0
23

झापा ।

अविरल वर्षाका कारण झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशका सङ्खुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोसी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जनाएको छ । साथै यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ ।

उता कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक, सिन्धुलीको सुनकोसी गाउँपालिका २ मा गएको पहिरोका कारण बिपी राजमार्ग र काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

मनाङको चामेमा बाढीका कारण चामे–वेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ
लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने तनहुँको आँबुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ । पानी पर्ने क्रम जाारी रहेकाले देशका अधिकांश ग्रामिणा सडकहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण तरााई डुबानमा परेको छ । झापाका दक्षिणी क्षेत्रहरु जलमग्न भएको प्रहरीले जनााएकाो छ । यसैबीच सप्तकोसी नदीमा पानीको बहाव उच्च मापन गरिएको छ । शनिबार कोसी ब्यारेज कन्ट्रोल रुमले दुई लाख ७२ हजार ४८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।

ब्यारेजको ३४ वटा ढोका खोलिएको छ । शनिबार बिहान ४ बजेको मापन अनुसार १ लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए । यादवका अनुसार शनिबार कोसीमा पानीको उच्च बहाव मापन गरिएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको छ । कोसीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । पानी भने तटबन्धको नजिक आएको छ ।

उता दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् । रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएका थिए ।

त्यस्तै काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको जानकारी दिए ।

पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ ।

हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उता निरन्तर वर्षासँगै आएको पहिरोका कारण बागलुङमा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।

सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए । उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

पहिरोले वडा नं ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार पनि विस्थापित भएका वडाध्यक्ष कँडेलले जानकारी दिए । यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उहाँले बताउनुभयो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताए । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ ।

यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे । “हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन ।

क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ”, गृहमन्त्री लामिछानेले भने, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।” उहाँले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए ।

बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायत उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here