भानु जयन्ती विशेष : भानुगृह पुनःनिर्माणको पर्खाइमा

0
8
दमौली (तनहुँ), 
मेरा इनार, न त सत्तल पाटी केही छन् 
जे चिज र धनहरू छन् घरभित्र नै छन् 
त्यस घाँसीले कसरी आज दियेछ अर्ति 
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य )
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो ।
भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताउनुभयो । भानुगृहको इष्टमेट तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल ग¥याँै, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।”
भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ ।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने समितिका कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो ।
विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको रानाभाटको भनाइ छ ।
यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ”, रानाभाट बताउनुहुन्छ ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ ।
मोतिराम भट्टले उहाँलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको बताइन्छ । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।
भानु जयन्तीमा आज विशेष कार्यक्रम
दुई सय एघारौँ भानु जयन्तीको अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
सोही अवसरमा रामायण वाचन, कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here