गुरुकुलस्तरीय रामायण श्लोक वाचन प्रतियोगितामा सप्तऋषी गुरुकुल प्रथम

0
15

अर्जुनधारा । 

आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको सन्दर्भमा झापाको अर्जुनधारामा शनिबार सम्पन्न भएको झापा जिल्ला अन्तर गुरुकुलस्तरीय भानुभक्तीय रामायण श्लोक वाचन प्रतियोगितामा सप्तऋषी गुरुकुल अर्जुनधाराका कुशल घिमिरे प्रथम भएका छन् ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा संस्कृत वेद विद्यापीठ र अर्जुनधारा–१ साधुटारस्थित शंकराचार्यपीठ पूर्व विद्यार्थी मञ्चद्वारा संयुक्तरुपमा अर्जुनधारा जलेश्वर धामको श्रवणहलमा आयोजित प्रतियोगितामा गौरीशंकर गुरुकुल हल्दीबारीका साहित रिजाल द्वितीय, महेश्वर सुरेश्वर गुरुकुल मेचीनगरका देवराज भण्डारी तृतीय र माधव संस्कृत गुरुकुल मेचीनगरका ईश्वर भट्टराई सान्तवना भएका छन् ।

जिल्लामा रहेका २७ वटा मध्ये १६ वटा गुरुकुलको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने बटुकहरुलाई प्रमाण पत्रसहित नगद पुरस्कार वितरण गरिएको आयोजक विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरी प्रतियोगितामा सहभागी अन्य गुरुकुलका बटुकहरुलाई पनि सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगिताको निर्णायकद्वयमा मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक डा.गोपीकृष्ण खतिवडा र अर्जुनधारा–१स्थित सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजाल रहेका थिए ।

सोही कार्यक्रममा विश्व विराट ज्ञान आश्रमको “एक करोड गीता दान महाअभियान” अन्र्तगत आश्रम झापाका प्रतिनिधि टंकनाथ कुँइकेलले कार्यक्रमका सहभागीहरुलाई गीताको पुस्तक र व्यवसायी सुरेन्द्र शाहले प्रसाद वितरण गरेका थिए ।

विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षता र कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारी, साहित्य चौतारी झापाका संस्थापक देवीभक्त श्रेष्ठ, अर्जुनधारा संस्कृत वेद विद्यापीठका प्राचार्य आचार्य हेमन्त भण्डारी, शंकराचार्यपीठ पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गायत्री दाहाललगायतले आदिकवि भानुभक्त आचार्यको जीवनी बारे चर्चा गरेका थिए ।

विद्यापीठका ध्यान शिक्षक चिरञ्जिवी ढुंगानाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here